Comments Add Comment

कृषकको समस्या बुझ्नेलाई भोट

१३ मंसिर,  इलाम । कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएको यहाँका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको गुनासो गरेका छन् । अदुवा, अलैँची, आलु, अकबरे, चिया, अम्लिसो, जडीबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक अर्बाैं भित्रिने यहाँ उम्मेदवारले कृषिका ठोस योजना नल्याएकोमा कृषि व्यवसायमा लागेका मतदाताले यस्तो गुनासो गरेका हुन् ।

किसानले दिनरात परिश्रम गरेर उत्पादन गरेको अलैँची, अदुवाको भनेजस्तो मूल्य पनि पाउन सकेका छैनन् । ‘‘धेरै उम्मेदवार विकास निर्माण गर्छाैं भन्दै मत माग्दै आए तर अलैँची, अदुवा, दूधको भाउ बढाउने, भारतीय पक्षसँग छलफल गरेर निकासी खुलाएर भाउ बढाउनेतर्फ कसैले भने’’, फाकफोकथुम गाउँपालिका–३ आमचोकका इन्द्र अधिकारीले दुःखेसो पोख्दै भने “चुनावको बेला विकास निर्माण भन्छन्, जितेर गएपछि कृषकको हितमा कसैले काम गर्दैनन् जस्ले कृषकको समस्या बुझ्छ त्यस्ता उम्मेदवारलाई मत दिन्छौँ ।”

यो वर्ष नेपाली अदुवाले पटकपटक भारतीय अवरोध खेप्नुपर्यो । गाउँमा मुस्किलले मात्र रु ५०० अदुवा किनबेच भइरहेको छ । प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य घटेर अहिले २५ हजार प्रतिमन पुगेको छ । यहाँका मतदाता भन्छन् “नेताहरु कृषि क्षेत्रको विकासका लागि प्रतिबद्ध छु भन्छन् तर बजार व्यवस्थापनतिर कसैको ध्यान गएको छैन ।”

चुनावका बेला उम्मेदवारले कृषि विकासमा धेरै आश्वासन दिने गरे पनि यस क्षेत्रको लागि ठोस पहल नगरेको कृषक बताउँछन् । चिया क्षेत्रमा पनि उत्तिकै समस्या छ । कृषक र मजदुरको हितमा केही काम नगरेको सूर्याेदय नगरपालिका–५ समालबुङका सञ्जय खडकाले गुनासो गरे । “चियामा देखिएका समस्या पहल गर्छाैं भन्ने अहिलेसम्म कोही उम्मेदवार आएनन्, चिया क्षेत्रमा सरकारी लगानी भित्र्याउनेलाई हामी मत दिन्छौँ ।”

कृषिलाई सोचे जति सरकारी साथ नहुँदा अधिकतम लाभ लिन नसकिएको कृषकको भनाइ छ । विकास र समृद्धिका नाराले मात्र नहुने तर्क कृषकको छ । प्राविधिक ज्ञानबिनै गरिएको कृषिले कृषकलाई दिगो आम्दानी नदिएको बताउँदै उनले सिँचाइ, आर्थिक सहयोग र बजार व्यवस्थापनमा उम्मेदवारले ठोस पहल सुझाव दिए।

अन्तर्राष्ट्रिय मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै गएको जैविक चियाको विदेशी बजारमा सम्भावना रहे पनि सरकारी पहल बिना कृषकले उचित मूल्य पाइरहेका छैनन् । सरकारले चिया कृषकदेखि करोडौँ लगानी गर्ने व्यवसायीसम्मलाई संरक्षण नदिएको कृषक बताउँछन् ।

कृषकका समस्या र यहाँका कृषि उत्पादनका बारेमा विशेष पहल गरेर कृषकका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालको भनाइ छ । ठूला कारखाना र भारतीय व्यापारीका कारण नेपाली कृषक मारमा परेको उनको भनाइ छ ।

जौबारीमा रहेको आलु विकास केन्द्रलाई अध्ययन र अनुसन्धान केन्द्र बनाउने, पूर्वी पशुपतिनगरमा क्वारेन्टाइन चेकपोष्ट स्थापनामा सरकारीस्तरबाट पहल गर्ने खनालले बताए । “क्वारेन्टाइन चेकपोष्ट स्थापना भयो भने यहाँको उत्पादन झापा लगिरहनुपर्दैन्, यहाँबाट सोझै भारत निकासी गर्न सकिन्छ, यसले पनि कृषकलाई फाइदा पुग्छ” भने ।

काँग्रेस इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वराज्यमन्त्री केशव थापाले कृषकले राखेका गुनासालाई आफूले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए । कृषि उत्पादन अदुवा, अलैँची, आलु, दूध, चियाको निकासी र कृषकले उचित मूल्य पाउनका लागि सरकारसँग पहल गर्ने बताए।

राजनीतिक दलका घोषणापत्रमा कृषकलाई फाइदा पुग्ने धेरै योजना छन् । तर ठोस योजना नहुँदा मतदाता अन्यौलमा परेका हुन् । जुनसुकै राजनीतिक दलले विजयी गरे पनि घोषणापत्रमा उल्लेख भएबमोजिम कृषि क्षेत्रका समस्या समाधान हुने मतदाताको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment