+
+

सार्वजनिक यातायातमा किशोरी असुरक्षित

गौरव पोखरेल गौरव पोखरेल
२०७५ चैत ४ गते १०:५८

४ चैत, काठमाडौं । ललितपुरको बालकुमारीबाट कुमारी (१८) सार्वजनिक बसमा चढिन् । कोटेश्वर जानलाई उनी बा ३ ख ४०४६ नम्बरको बसमा चढेकी थिइन् । गाडी खचाखच थियो, जसको फाइदा उठाएर सहचालकले किशोरीको हात छुन खोजे । उनलाई असजिलो महसुस हुने गरी धक्का दिए ।

घटना गत ६ फागुनको हो । ‘सुरुमा म आफैं पर गरेर जोगिने कोशिश गरेँ’, पीडित किशोरी भन्छिन्, ‘तर, उसको भद्दा हर्कत नरोकिएपछि प्रहरी कन्ट्रोलमा फोन लगाएँ ।’ उनले गाडीमा हुने यौनहिंसाबारे सञ्चारमाध्यममा सुनेकी रैछिन् र तत्काल १०० मा फोन गर्ने सोचिन् ।

प्रहरी कन्ट्रोलबाट पाएको आदेशअनुसार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा कार्यरत् ‘सेफ्टी पिन’ अभियानका प्रहरी अधिकारी तुरुन्त गाडी भएतिर पुगे । र, सहचालक काभ्रे घर भई हाल दक्षिणढोका बस्दै आएका २७ वर्षीय कृष्णप्रसाद श्रेष्ठलाई पक्राउ गरे ।

हाल बानेश्वर प्रहरी वृत्तले श्रेष्ठमाथि मुलुकी ऐन अन्तरगत रहेको अभद्र व्यवहारको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

यसअघि ४ माघमा थानकोटाबाट कालिमाटीतर्फ आउँदै गर्दा एक जना १६ वर्षीया किशोरीले नसोचेको घटना सामना गर्नुपर्‍यो । मिनी बसभित्र रहेका चन्द्रागिरीका २९ वर्षीय किशोर श्रेष्ठ अस्वभाविक रुपमा उनीसँग टास्सिँए । उनलाई अफ्ठ्यारो महसुस भइरहेको थियो यद्यपि, भिडमा भुलवस भएको हुनसक्ने ठानेर प्रतिवाद गरेकी थिइनन् ।

तर, श्रेष्ठको हर्कत रोकिने छाँटकाँट देखिएन । झन् एककदम अघि बढेर उनले किशोरीको संवेदनशील अंगमा हात पुर्‍याउन खोजे । बल्ल किशोरी अत्तालिन् ।

संयोग भनौं या प्रहरीको सक्रियता त्यही गाडीमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीबाट सेफ्टी पिन अभियान अन्तरगत खटिएका सादा पोशाकका प्रहरी पनि थिए । उनीहरुले त्यो दृश्य देखिरहेका थिए । र, श्रेष्ठलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, कालिमाटीलाई बुझाए ।

हालै घटेका यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय सार्वजनिक यातायातमा यौन हिंसाबाट पीडित हुने किशोरीको संख्या बढ्दो छ ।

६ महिनामा ११८ पक्राउ

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको रेकर्ड अनुसार यो वर्षको साउन महिनादेखि हालसम्मको अवधिमा सार्वजनिक यातायातमा किशोरी तथा महिलामाथि दुर्व्यवहार गर्ने १ सय १८ जना पक्राउ परेका छन् ।

कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीका अनुसार यो अवधिमा महानगरीय प्रहरी कार्यालयबाट खटिएको टोलीले शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने १६ जनालाई पक्राउ गरेको थियो भने प्रहरी परिसर, काठमाडौंले अश्लील हर्कत गर्ने १६ जना, यौन दुव्र्यवहार गर्ने १५ जना र अश्लिल गालीगलौज गर्ने ५ जनालाई पक्राउ गरेको थियो ।

ललितपुर प्रहरी परिसर, जावलाखेलले यो अवधिमा जम्मा ३२ जनालाई पक्राउ गरेको छ । त्यसमा यौनजन्य दुर्व्यवहार गर्ने एक जना छन् भने अपशब्द बोल्ने एकजना छन् । पाकेटमारीमा पनि पक्राउ पर्ने गरेका २० जना पटके पनि ललितपुर प्रहरीको हिरासतमा पुगेका थिए, जसमध्ये अधिकांशले यातायातमा सवार किशोरीलाई दुर्व्यवहार गरेका थिए ।

उपत्यकाका तीन जिल्लाको तुलनामा भक्तपुरमा भने सार्वजनिक यातायातमा हुने हिंसा कम रहेको देखियो । प्रहरीको रेकर्ड अनुसार ३ महिनाको अवधिमा त्यहाँ ९ जना मात्रै पक्राउ परेका छन् । सेफ्टी पिन अभियानमा खटिएका एक कनिष्ठ प्रहरी अधिकारीका अनुसार सार्वजनिक यातायात यौनजन्य हिंसाबाट पीडित हुनेमा १५ देखि २० वर्ष उमेर समूहको किशोरी/युवतीको संख्या बढी देखिन्छ ।

सार्वजनिक यातायातमा हुने दुर्व्यवहार पनि अन्य यौनजन्य दुर्व्यवहारभन्दा कम होइन भन्ने चेतनाको कमी देखिएको छ

ती अधिकारीका अनुसार पीडक पनि १६ देखि २५ वर्ष उमेर समूहकै बढी छन् । ०७४ सालमा यो अभियान सुरु भएदेखिको मुद्दा दर्ताको विवरण केलाउँदा १६ देखि २५ वर्ष उमेर समूहको २ सय १८ वटा घटना देखिन्छ भने २६ देखि ६५ वर्ष उमेर समूहको १ सय २८ वटा घटना देखिएको छ ।

प्रहरीको एउटा रोचक विवरण त के छ भने १ वर्षदेखि १५ वर्षसम्मको समूह अन्तरगत पनि ५ जना पीडक देखिएका छन् । अध्ययनका हिसाबमा प्रवेशिक परीक्षादेखि स्नातक तहसम्म उत्तीर्ण गरेका ७४ जना पीडकविरुद्ध प्रहरीले कारबाही गरेको छ भने सामान्य लेखपढ गर्न सक्ने ३ सय ७४ जनाविरुद्ध प्रहरीले अनुसन्धान गरेको छ । सार्वजनिक यातायातमा हुने हिंसामा ४ जना अनपढ पनि संलग्न रहेको भेटिएको छ ।

अधिकांश पीडक अविवाहित देखिएका छन् भने दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्मको समयमा बढी दुर्व्यवहार हुने गरेको तथ्यांकले देखाउँछ । बारको आधारमा प्रहरीले छुट्टाएको रेकर्ड अनुसार सबैभन्दा बढी मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सार्वजनिक यातायातमा यौन हिंसाका घटना हुने गरेका छन् ।

अधिकांश घटनामा मिलापत्र

सेफ्टी पिन अभियानमा कार्यरत् एक अधिकारीका अनुसार सार्वजनिक यातायातमा हुने हिंसाका अधिकांश घटना मिलापत्रमा टुंगिने गरेका छन् । कतिपयमा पीडित प्रहरीको सम्पर्कमै आउन मान्दैनन् । आए पनि किटानी जोहरी दिन अन्कनाउँछन् ।

‘अभियानमा खटिएको सादा पोशाकको प्रहरीले पीडकलाई पक्रेर त ल्याउँछ । तर, अधिकांश घटनामा पीडितबाट जाहेरी आउँदैन’, महानगरीय प्रहरी कार्यालयबाट भर्खरै सरुवा भएकी एसएसपी पुजा सिंह भन्छिन्, ‘एक दिन थुनेपछि भइ गयो अब यसो गर्दै भनेर उनीहरु आफैं छाड्न लगाउँछन् ।’

उनका अनुसार कतिपय अवस्थामा त्यसरी जाहेरी नपरेका पीडकलाई अन्य मुद्दा लगाएर भए पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । ‘कतिपय केशमा पाकेटमारीमा पहिले पक्राउ परेका पटकेहरु दुर्व्यवहार गर्दैगर्दा भेटिएका हुन्छन्’, सिंहले भनिन्, ‘त्यस्तालाई फेरि पाकेटमारीको मुद्दा दायर गरेर भए पनि कानुनी कठघरामा उभ्याइएको छ ।’

‘सार्वजनिक यातायातमा हुने दुर्व्यवहार पनि अन्य यौनजन्य दुर्व्यवहारभन्दा कम होइन भन्ने चेतनाको कमी देखिएको छ’, सिंहले अनलाइनखबरसँग भनिन्, ‘समाजले पनि उमेर पुगेकालाई जिस्कायो भन्दिने चलन छ । तर, यो अपराध हो ।’

किशोरीलाई सुसेली हान्ने, चिमोट्ने, इसारा गर्ने, अश्लिल शब्दले सम्बोधन गर्ने काम कानुन विपरीत भएको उनले बताइन् । यस विरुद्ध आवाज उठाउनु आवश्यक रहेको उनको भनाइ छ ।

मनोविद् भन्छन् – ‘रिक्याक्ट’ नगर्दा समस्या

मनोविद् शिशिर सुब्बाको विचारमा यौन आनन्द प्राप्तिको एउटा माध्यमको रुपमा पीडकले किशोरी÷युवतीहरुको संवेदनशील अंग, हात वा शरीर छुन खोज्छन् । ‘सबैमा होइन, कतिपयमा एक प्रकारको मनोवैज्ञानिक रोग पनि हुनसक्छ’, सुब्बाले अनलाइनखबरसँग भने, ‘कतिपयको संवेदनशील ठाउँमा हेरेरै पनि यौनआनन्द प्राप्त गर्ने आदत बसेको हुन्छ ।’

पीडितलाई आफूले गरेको कार्य गलत भएको थाहा हुने भए पनि आदतका कारण उसले आफूलाई रोक्न नसक्ने सुब्बा बताउँछन् । ‘सुरुवाती प्रयासमा पीडितले प्रतिकार नगर्दा यो स्थितिसम्म पीडक पुग्ने हो’, उनले भने, ‘वयस्क मात्र होइन, किशोर पनि यस्तो अवाञ्छित गतिविधिमा संलग्न देखिन्छन् । तर, तत्कालीन समयमै पीडितले रियाक्ट गर्ने हो भने उनीहरुको त्यो बानीले निरन्तरता पाउँदैन ।’

यसका लागि सचेतना फैलाउनु मुख्य आवश्यक भएको उनको भनाइ छ । चेतनासँगै मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनबाट दोषीलाई कारवाहीको दायरामा पनि ल्याउनुपर्ने उनले बताए ।

के गर्दैछ प्रहरी ?

सार्वजनिक यातायातमा यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले अपरेशन सेफ्टी पिन आरम्भ गरेको थियो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी कार्यालयको आयुक्त भएको वेला सुरु भएको यो अभियान अहिले पनि जारी छ ।

अभियान अन्तरगत हरेक दिन सादा पोशाकमा महिला प्रहरीसहितको टोली विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातमा चढ्छ । र, सुक्ष्म निगरानी गरेर यौनजन्य दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्छ ।

प्रहरीका अनुसार यो अपरेशनमा दैनिक ९० जनासम्म प्रहरी कर्मचारी खटिएका छन् । यसरी खटिएको प्रहरी टोलीले पीडकलाई पक्राउ गरेर नजिकै रहेको प्रहरी कार्यालयमा बुझाउने गर्छ । त्यहीँबाट उनीहरुविरुद्ध मुद्दा पनि चल्छ ।

यो अयिभानका अलावा सार्वजनिक यातायातमा हुने हिंसाविरुद्ध प्रहरीले सिनेमा हलमा पब्लिक सर्भिस एनाउन्समेन्ट (पीएसए) पनि प्रशारण गर्ने गरेको थियो । ‘जनचेतना जगाउन पर्चा, पम्पलेट र स्टीकर वितरणको कार्यलाई जारी राखिएको छ’, एसएसपी ज्ञवाली भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?