+

क्राइस्टचर्च आक्रमणबारे बंगलादेशी क्रिकेटरको बयान : ३० सेकेन्डले बाच्यौं

२०७५ चैत  ३ गते ११:३६ २०७५ चैत ३ गते ११:३६
क्राइस्टचर्च आक्रमणबारे बंगलादेशी क्रिकेटरको बयान : ३० सेकेन्डले बाच्यौं

३ चैत, काठमाडौं । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा शुक्रबार आक्रमण हुँदा बंगलादेशको क्रिकेट टिम नजिकै थियो । उक्त आतंकवादी आक्रमणमा ४९ जना मारिएका थिए ।

न्यूजिल्यान्डमा क्रिकेट सिरिज खेल्न गएको टिम सो घटनापछि भ्रमण रद्द गरेर बंगलादेश फर्किएको छ । उक्त टिमका एक सदस्य तमिम इकबालले क्रिकइन्फोका पत्रकार मोहम्मद इसामलाई त्रासदीपूर्ण घटनाको यसरी वर्णन गरेका छन् :

बस चढ्नु अगाडिको कुरा पहिले भन्छु । यसलाई तपाईंलाई यो बुझ्न सहयोग पुग्ने छ कि जीवनमा दुई-तीन मिनेटले कति ठूलो फरक पार्न सक्छ ।

सामान्यतया मुस्पिmक रहिम र रियाद भाइ (महमुदुल्लाह) खुतवाह (प्रार्थना सभा) मा उपस्थित हुन चाहन्छन् । त्यसैले हामी मस्जिदमा चाँडै पुग्न चाहिरहेका थियौं । बस १ः३० बजे दिउँसो हिँड्नुपर्ने थियो तर रियाद भाइ पत्रकार सम्मेलनमा गएका थिए । त्यहाँ अलिकति समय व्यतित भयो । पत्रकार सम्मेलन सकिएपछि उनी ड्रेसिङ रुममा आए ।

ड्रेसिङ रुममा हामी फुटबल खेल्न व्यस्त भयौं । त्यो खेलमा ताइजुल (इस्लाम) हार्न चाहन्थेनन्, तर अरु उनलाई हराउन चाहन्थे । केहीबेर ताइजुल र मुस्फ्रिक एक्लाएक्लै भिडे, जसले गर्दा केही मिनेट खपत भयो । यीनै साना घटनाहरु अन्ततः हाम्रो जीवन रक्षाका लागि निर्णायक बनिदिए ।

त्यहाँबाट हामी बस चढ्न आयौं । प्रार्थनापछि होटलमा जाने योजना भएकाले श्री (टिम एनालिस्ट श्रीनिभास चन्द्रसेखरण) र सौम्य सरकार (दुवै हिन्दु हुन्) पनि हामीसँगै थिए । यो स्वेच्छिक ट्रेनिङ भएकाले अभ्यासमा जान नचाहनेहरु होटलमै बस्ने र अभ्यासमा जान चाहनेहरु मैदानमा फर्किने योजना थियो ।

म सधैं देब्रतर्फको छैटौं सिटमा बस्ने गर्छु । जब हामी नस्जिद नजिकै पुग्न लागेका थियौं, मेरो दायाँतर्फ सबैजना झ्यालबाट बाहिर हेर्न थाले । मैले चियाएर हेर्दा एउटा शरीर भुइँमा लडिरहेको देखेँ । हामी सबैले सोच्यौं कि या त ऊ रक्सीले मातेको हुनुपर्छ वा बेहोस भएको । बस हिँडिरह्यो र मस्जिद नजिक रोकियो । तर, धेरैको ध्यान अझै पनि जमिनमा लडिरहेको मानिसमै थियो ।

यत्तिकैमा मेरो आँखा अर्को व्यक्तिमा गयो, जो रगतले लत्पतिएको थियो र लड्खडाउँदै थियो । त्यो देखेर हामी सबै झस्कियौं ।

हाम्रो बस मस्जिद नजिक रहेको एउटा कार अगाडि रोकियो । हामीले देख्यौं कि बस ड्राइभर एक महिलासित कुरा गरिरहेका थिए जो काँपिरहेकी र रोइरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘त्यहाँ गोली चलिरहेको छ, नजानुस्, नजानुस् ।’

हाम्रो बसका ड्राइभरले क्रिकेट टिम मस्जिद जान लागेको बताउनुभयो । तर, उनले भनिन्, ‘अहँ नजानुस् । मस्जिदमै गोली चलिरहेको छ ।’

त्यसपछि उनी रुन थालिन् । हामी सबैले उनलाई हेरिरहेका थियौं । त्यतिबेला हामी मस्जिदबाट २० यार्ड मात्रै टाढा थियौं । अनि हामीले मस्जिदतर्फ हेर्दा रगतमा लत्पतिएका केही शरिरहरु लडिरहेको देख्यौं ।

अब हामी पनि अलि अत्तालियौं । नवाज क्याप लगाएकाहरुले हतार-हतार फुकाले । पञ्जावी (सुरुवाल कमिज) लगाएकाहरुले माथि ज्याकेट भिर्न थाले । के गर्ने, कसो गर्ने भयो ।

अनि हामी सबैजना बसको भुइँमा सुत्यौं । त्यही अवस्थामा सात-आठ मिनेट बित्यो । खासमा के भइरहेको छ भन्नेबारे हामी बेखबर थियौं, तर यति थाहा थियो कि कुनै प्रकारको हिंसात्मक क्रियाकलाप भइरहेको छ । त्यतिबेलासम्म त्यहाँ प्रहरीको उपस्थिति देखिएको थिएन ।

त्यसपछि अचानक प्रहरी आयो । जुन प्रकारले प्रहरीहरु मस्जिदभित्र छिरे, त्यो देख्दा हामी सबै एकदम चिसियौं । मस्जिदबाट धमाधम घाइते र रगत लत्पतिएका शरीरहरु निकालिन थाले ।

त्यो समयमा हामी सबैले एक प्रकारले होस गुमायौं । सबैजना चिच्याउन थाल्यौं । कसैले भने ‘भागौं भागौं ।’ अर्कोले भन्यो, ‘बाहिर निस्कँदा हामीलाई गोली हाने भने के गर्ने ?’ फेरि अर्को स्वर सुनियो, ‘यदि बसभित्रै बसिरह्यौं भने खतरा हुन्छ ।’

मलाई पनि लाग्यो कि बसबाहिर निस्कियौं भने भाग्ने मौका हुन्छ । भित्रै बसेको खण्डमा आक्रमण हुन सक्छ । तर कसरी निस्किने ? दुवै ढोका बन्द थिए । अनि निस्किएर पनि कहाँ जाने ?

अचानक हाम्रो ड्राइभरले बसलाई २० मिटर अगाडि बढाए । उनले किन यसो गरे हामीलाई थाहा भएन । सबैजना हतप्रभ अवस्थामा थियौं । कसैले ढोकामा मुड्कीले हान्न थाले । कसैले लात्ती हान्न थाले । अन्ततः ढोका खुल्यो ।

जब उसले बस अगाडि बढायो त्यति नै बेला मैले तिमीलाई फोन गरेँ । तिमीले मेरो कुरा पत्याएनौं । मैले ‘इसाम भाइ, म गम्भीर छु’ भन्न पनि चाहिनँ ।

त्यति नै बेला मजहर (पत्रकार)ले मलाई बोलाइरहेको सुनेँ । मेरो दिमागले राम्ररी काम गरिरहेको थिएन । ऊ बसबाट बाहिर निस्कियो । सबैजना पार्कतिर जाऔं भन्न थाले । तर कसैले भन्यो, ‘तर, हामी पार्कमा भएको थाहा पाए भने सजिलै भेट्छन् र गोलीले भुट्न सक्छन् ।’

मलाई पनि लाग्यो कि हामी त्यसरी ब्यागहरु बोकेर भागिरहेको प्रहरीले देख्यो भने के सोच्ने हो । हामीलाई नै आक्रमणकारी पनि सोच्न सक्छ ।

त्यति नै बेला मैले तिमीहरु तीनजना (इसाम र अन्य दुई पत्रकार) लाई त्यहाँ देखेँ । त्यतिबेला मैले महसुस गरेको थिइनँ, तर अहिले महसुस गर्छु कि तिमीहरुले कति ठूलो जोखिम मोलेर त्यहाँ आएका थियौ ।

संसारमा धेरै कम मानिसले मात्रै यस्तो जोखिम मोल्छन् । कतिपय निकै नजिकका मान्छेहरु पनि त्यस्तो परिस्थितिमा पिठ्यू फर्काएर भाग्छन् । वास्तवमा तिमीहरुलाई देखेपछि मलाई निकै राहत महसुस भयो । अनि हामी हिँड्न थाल्यौं । अलि पर पुगेपछि सबै मैदानतर्फ दौडन थाले ।

मृत्यु नजिकै देख्दा कस्तो महसुस हुँदो रहेछ भन्ने मैले थाहा पाएँ । निकै बेरसम्म हाम्रो शरीर चिसिएका थिए । कहिल्यै बिर्सिन नसक्ने घटना थियो त्यो । अहिले पनि सबैको मुखमा यही कुरा छ । सबै अझै डराइरहेका छन् ।

हामी होटलमा फर्कियौं र सीधै रियाद भाइको रुममा गयौं । टिभीमा गोली प्रहार गरेको भिडियो आइरहेको थियो । हामी सबैजना बच्चाजसरी रुन थाल्यौं मानौं होटलभित्र नै गोली चलिरहेको छ ।

हामीलाई पूर्ववत अवस्थामा फर्किन केही समय लाग्ने छ । परिवारको सहयोग र काउन्सिलिङको आवश्यकता पर्न सक्छ । आँखा बन्द गर्दा म त्यही दृष्य देखिरहेको हुन्छु । राति राम्ररी निदाउन सकिरहेको छैन । सपनामा पनि मैले ती मानिसहरुले बाइकमा गोली हानिरहेको देखेँ ।

यो घटनाबाट हामीले या पनि थाहा पायौं कि २-३ मिनेटले कति फरक पार्न सक्दो रहेछ । यदि हामी ३० सेकेन्ड मात्र अगाडि मस्जिदमा पुगेको भए, आज हामी होइन हाम्रो लाश बंगलादेश फर्किरहेको हुन्थ्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय