News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलिया क्रिकेट टोलीले वेस्ट इन्डिजसँगको ५ खेलको टी-२०आई शृंखलामा ५-० को क्लिन स्वीप गर्यो।
- अस्ट्रेलियाले टेस्ट शृंखलाका ३ खेल र टी-२०आई शृंखलाका ५ खेल गरी कुल ८ खेल जितेर टुर क्लिन स्वीप गर्यो।
- अस्ट्रेलियाले टेस्ट र टी-२०आई दुवै शृंखलामा सबै खेलमा टस जितेको र यो दुर्लभ उपलब्धि पहिलोपटक भएको छ।
१३ साउन, काठमाडौं । अस्ट्रेलिया क्रिकेट टोलीले मंगलबार वेस्ट इन्डिजसँगको ५ खेलको टी-२०आई शृंखलामा ५-० को क्लिन स्वीप गर्यो । यो अस्ट्रेलियाको पहिलो ५-० शृंखला जित थियो भने वेस्ट इन्डिज पहिलोपटक ५-० ले पराजित भएको थियो ।
अस्ट्रेलियाले टी-२०आई शृंखलाअघि ३ खेलको टेस्ट शृंखला पनि जितेको थियो । टेस्ट वरियामा नम्बर एकमा रहेको अस्ट्रेलिया विश्वकै उत्कृष्ट टेस्ट टिम मानिन्छ र सो लय अस्ट्रेलियाले वेस्ट इन्डिजमा पनि जारी राख्यो ।
अस्ट्रेलियाले समग्रमा वेस्ट इन्डिजसँगको ८ खेल जित्यो, जुन् हिसाबले अस्ट्रेलियाले यो टुर नै क्लिन स्वीप गर्यो भन्न सकिन्छ ।
खेलहरू त अस्ट्रेलियाले जित्यो नै, त्यसबाहेक अस्ट्रेलियाले यो शृंखलामा अर्को एउटा कुरामा पनि ८ वटै जित निकालेको छ, त्यो हो टस । यसबीचमा कप्तान मात्र फरक रहे, टेस्टमा प्याट कमिन्स तथा टी-२०आईमा मिचेल मार्शले कप्तानी गरेका थिए ।
अस्ट्रेलियाले टेस्ट शृंखलाका ३ वटै खेलमा टस जितेको थियो भने टी-२०आई शृंखलामा पनि ५ वटै खेलमा टस जित्यो । क्रिकेट इतिहासमा एकै टुरमा टेस्टमा ३ वटै टस र म्याच तथा टी-२०आईमा ५ वटै टस र म्याच पनि जितिएको यो दुर्लभ एवं पहिलोपटक हो ।
टेस्टमा सबै खेलमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले टी-२०आईमा भने टस जितेर बलिङ रोजेको थियो । नतिजा भने सबै खेलमा एकपक्षीय नै रह्यो । सबैमा अस्ट्रेलिया हावी बन्यो ।
दुई पूर्ण सदस्य राष्ट्रको बीचमा भएको टी-२०आई क्रिकेटमा हालसम्म २ पटक मात्र टी-२०आई शृंखलामा ५-० को एकपक्षीय नतिजा आएको छ।
यसअघि सन् २०२० मा भारतले न्युजिल्याण्डमै गएर ५ खेलको टी-२०आई शृंखला ५-० ले जितेको थियो । अस्ट्रेलियाले पनि वेस्ट इन्डिजलाई उसैको घरमा ५-० को क्लिन स्वीप स्वाद चखायो ।
समग्र टी-२०आईमा भने मलेसिया, क्यामन आइल्यान्ड, तान्जानिया र स्पेनले पनि ५-० को नतिजा निकालेका छन् । उनीहरू एसोसियट राष्ट्र हुन् ।
शृंखला नतिजा
पहिलो टेस्ट : अस्ट्रेलिया १५९ रनले विजयी
दोस्रो टेस्ट : अस्ट्रेलिया १३३ रनले विजयी
तेस्रो टेस्ट : अस्ट्रेलिया १७६ रनले विजयी
पहिलो टी-२०आई : अस्ट्रेलिया ३ विकेटले विजयी
दोस्रो टी-२०आई :अस्ट्रेलिया ८ विकेटले विजयी
तेस्रो टी-२०आई : अस्ट्रेलिया ६ विकेटले विजयी
चौथो टी-२०आई : अस्ट्रेलिया ३ विकेटले विजयी
पाँचौं टी-२०आई : अस्ट्रेलिया ३ विकेटले विजयी
प्रतिक्रिया 4