News Summary
Generated by OK AI. Editorially reviewed.- टिम डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो शतक बनाएका छन्।
- अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै टी-२०आई शृंखलामा ३-० को अग्रता बनाएको छ।
- वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएपनि पर्याप्त भएन।
१० साउन, काठमाडौं । टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार तेस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
वेस्ट इन्डिजले दिएको २१५ रनको बलियो लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । डेभिडले ३७ बलमा अविजित १०२ रन बनाए । यसक्रममा उनले ६ चौका र ११ छक्का प्रहार गरे । मिचेल ओवेन १६ बलमा ३६ रनमा नटआउट रहे ।
डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो (बलमा) अर्धशतक र शतक दुवैमा कीर्तिमान कायम गरे । १६ बलमै अर्धशतक बनाएका उनले ३७ बलमा शतक पूरा गरे । ३७ बलमा बनाएको शतक आईसीसीका दुई पूर्ण राष्ट्रबीच भएको खेलमा तेस्रो छिटो शतक पनि हो ।
डेभिडले यस क्रममा अर्को दुर्लभ कीर्तिमान पनि बनाए । उनले दुई फरक देशका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरे । आज वेस्ट इन्डिजसँग खेल्दा अस्ट्रेलियाका लागि १६ बलमै अर्धशतक बनाएका उनले सन् २०२० मा सिंगापुरबाट खेल्दा मलेसियाविरुद्ध १७ बलमै अर्धशतक बनाएका थिए ।
वेस्ट इन्डिजका लागि रोमारियो शेपहर्डले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि पनि ओपनर तथा कप्तान शाइ होपले शतक बनाएका थिए । उनले ५७ बलमा अविजित १०२ रन बनाए । अर्का ओपनर ब्रान्डन किङले ६२ रन बनाए ।
अस्ट्रेलियाका नेथन एलिसले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए । एडम जाम्पा र मिचेल ओवेनले समान १ विकेट लिए ।
पहिलो खेलमा ३ विकेट तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको अस्ट्रेलियाले आजको जितसँगै ५ खेलको शृंखलामा ३-० को अग्रता बनाएर २ खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ ।
प्रतिक्रिया 4