News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले जोश हेजलवूडको बलिङ प्रदर्शनमा वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट तीन दिनमै जित्यो।
- नाथन लायनले अन्तिम ओभरमा दुई विकेट लिएर खेल समाप्त गरे, हेजलवूडले ५ विकेट लिए।
- अस्ट्रेलियाले दोस्रो इनिङमा ३१० रन थपेर १५९ रनको जित हासिल गर्यो।
१४ असार, काठमाडौं । जोश हेजलवूडको घातक बलिङ प्रदर्शनमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेल तीन दिनमै सकाउँदै १५९ रनको शानदार जित हासिल गरेको छ ।
दोस्रो इनिङमा ३०१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज अन्तिम सत्रको अन्तिम ओभरमा मात्र १४१ रनमै समेटिएको थियो। खेल चौथो दिनसम्म लम्बिने संकेत दिइरहेका बेलामा अस्ट्रेलियाले अतिरिक्त आधा घण्टा खेल्ने निर्णय गर्यो।
त्यसपछि नाथन लायनले अन्तिम ओभरकै दुई बलमा लगातार दुई विकेट लिएर खेल समाप्त गरे। हेजलवूडले ४३ रन मात्र दिएर ५ विकेट लिए । पहिलो ओभरमै मिचेल स्टार्कले कप्तान क्रेग ब्राथवेटलाई ब्याकवर्ड स्क्वायर लेगमा क्याच गराए। त्यसपछि प्याट कमिन्सले शाइ होपलाई बोल्ड गरेका थिए ।
मार्नस लाबुशेनले सब्स्टिच्युट फिल्डरको रूपमा अल्जारी जोसेफलाई डाइरेक्ट हिटमार्फत रन आउट गरेका थिए । लायनको नाममा त्यही अन्तिम ओभरको २ विकेट रह्यो ।
यसअघि जेडन सिल्सले ५ विकेट तथा शमार जोसेफले ४ विकेट लिएपछि अस्ट्रेलिया पहिलो इनिङमा १८० रनमा अलआउट भएको थियो । जवाफमा वेस्ट इन्डिजले १९० रन बनाएको थियो ।
त्यसपछि १० रनले पछाडि रहेको अवस्थाबाट अस्ट्रेलियाले थप ३१० रन जोडेको थियो । दोस्रो इनिङमा एलेक्स केरीले ६५, बीउ वेब्स्टरले ६३ र ट्राभिस हेडले ६१ रनको योगदान दिए । शमारले ५ विकेट लिएका थिए ।
दुवै इनिङमा अर्धशतक प्रहार गरेका हेड म्यान अफ द म्याच घोषित भए ।
प्रतिक्रिया 4