+

एनपीएल छानबिन : राखेपको लेटर हेडमा अख्तियार जोडिएपछि आएको तरंग

२०८२ असार  २५ गते २२:१२ २०८२ असार २५ गते २२:१२

देशदेखि विदेशसम्म चर्चा/परिचर्चा भएको एनपीएल विवादबाट भने अछुतो रहन सकेन । खेल सम्पन्न भएको केही समयदेखि नै यससँग जोडिएर विभिन्न विवादित विषयहरू बाहिर आइरहेका थिए ।

एनपीएल छानबिन : राखेपको लेटर हेडमा अख्तियार जोडिएपछि आएको तरंग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो नेपाल प्रिमियर लिग भव्य रूपमा सम्पन्न भयो।
  • एनपीएलसँग जोडिएका विवाद र छानबिन कार्यदलले अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।
  • अहिले दोस्रो संस्करणको आयोजना र भविष्यबारे अनिश्चितता देखिएको छ।

२५ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ सम्म भव्य रूपमा सम्पन्न भएको थियो ।

झन्डै १०० करोडको कारोबार भएको भनिएको एनपीएलले नेपाली क्रिकेटको चर्चा ह्वात्तै बढायो । त्यतिमात्र होइन, विदेशका स्टार खेलाडीहरूको सहभागिताले रौनक झनै बढाएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)को आफ्नै आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग एनपीएलको पहिलो संस्करणमा ८ टोलीले सहभागिता जनाएका थिए । उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

विश्व चर्चित शिखर धवनदेखि मार्टिन गप्टिलसम्म बोलाएर टीयू मैदानमा खेलाएको क्यानले टेस्ट  क्रिकेट हस्ती ब्रायन लारासम्मलाई खेल देखाउन ल्याएको थियो ।

क्रिकेट नजान्ने/नबुझ्नेहरूले समेत टीयू पुगेर एनपीएल हेरे । शहरदेखि गाउँसम्म, बच्चादेखि बुढासम्मले एनपीएलको चर्चा गरे । एनपीएलको चर्चा विदेशमा समेत चुलियो ।

देशदेखि विदेशसम्म चर्चा/परिचर्चा भएको एनपीएल विवादबाट भने अछुतो रहन सकेन । खेल सम्पन्न भएको केही समयदेखि नै यससँग जोडिएर विभिन्न विवादित विषयहरू बाहिर आइरहेका थिए ।

एनपीएलको पहिलो संस्करणमा भारतीय च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारण गर्ने सम्झौतादेखि लिएर टीसीएमसम्मको सम्झौतामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो । अहिले एनपीएल विवादको छानिबन भइरहेको छ ।

पछिल्लो पटक एनपीएलको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई पत्र पठायो । मन्त्रालयले कार्यदल नै बनाएर छानबिन गरेपछि भने एनपीएल नै तरंगित भएको छ ।

रञ्जना प्रधान संयोजक रहेको छानबिन कार्यदलले २२ असारमा क्यानलाई छानबिनमा सहयोग गर्न भन्दै पठाएको पत्रमा अख्तियारसँग जोडिएर भइरहेको अनुसन्धान नसकिएसम्म एनपीएलको विषयमा कुनै काम नगर्नू/नगराउनू भनेर निर्देशन दिइएको थियो ।

छानबिन कार्यदलले क्यानलाई कडा भाषामा पत्र लेख्दै अख्तियारमा परेको उजुरीको स्पष्ट जवाफ पेस गर्न भनेको छ ।

पत्रमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेस गरी यस कार्यदलले प्रतिवेदन पेस गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू/नगराउनू हुन समेत जानकारी गराइन्छ ।’

छानबिन कार्यदलले यसअघि पनि पटकपटक आवश्यक कागजात माग्दा उपलब्ध नगराएको भन्दै यसपटक कडा शैलीमा पाँच प्रश्नसहित क्यानलाई पत्र पठाएको हो ।

पत्रमा एनपीएल आयोजनासम्बन्धी निकालिएको बोलपत्र गोलमटोल भएको, खेलकुद विकास ऐनविपरीत विदेशी परामर्शदाताको रूपमा भारतीय नागरिक मनिष सुदर्शन पाण्डेलाई नियुक्त गरेको, एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारणकर्ता कम्पनीहरूलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी सङ्कुचित क्राइटेरिया बनाई सिन्डिकेट कायम गरिएको लगायत क्यानलाई पाँच प्रश्न सोधिएको छ ।

कार्यदलले सोधेका पाँच प्रश्न

 

साथै अख्तियारमा परेको दुईवटै उजुरीमा उल्लेखित एनपीएल प्रतियोगिताका सम्बन्धमा उठेका विषयवस्तु स्पष्ट पारी छानबिन कार्यदल निष्कर्षमा पुग्न सहयोग गर्न क्यानलाई जानकारी गराएको छ । यदि त्यसो नगरेमा कानुनबमोजिम भइजाने बेहोरा पनि कार्यदलले जानकारी गराएको छ ।

अहिले छानबिन कार्यदलले त्यसरी काम नै रोक भनेर भन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा बहस सुरु भएको छ ।

क्यान प्रवक्ता छुम्बी लामाले अहिले सानो कुरालाई पनि ठूलो बनाएर प्रचार गरिरहेकोले यो आवश्यक नरहेको बताए । ‘पत्र अख्तियारले मन्त्रालयलाई पठाएको छ। त्यही पत्रको आधारमा कार्यदल पनि बनाउनु जरुरी छैन,’ लामाले भने, ‘कति प्रक्रिया अख्तियारबाट, मन्त्रालय अनि मन्त्रालयबाट खेलकुद परिषद् र खेलकुदबाट सम्बन्धित ठाउँमा जाने हो । तर यहाँ अख्तियारले अनुसन्धान गरिरहेको छ भन्दियो । यहाँ त्यो काम-कारबाही नगर भन्यो भन्ने आयो । यो आफैँमा गलत हो,’ लामाले अनलाइनखबरसँग भने ।

राखेपको लेटर हेड प्रयोग भएकोमा ध्यानाकर्षण

छानबिन कार्यदलले राखेपकै लेटर हेड प्रयोग गरेर क्यानलाई पत्र पठाएको विषयमा पनि राष्ट्रिय खेलकुद परिषद्ले‌ ध्यानाकर्षण भएको जनाएको छ ।

‘कार्यदलबाट राखेपको कार्यकारी प्रमुख सदस्य सचिवको निर्णयविना परिषद्को‌ लेटरहेड प्रयोग गरेको पाइएकोले आगामी दिनमा आफ्नो कार्यादेशअनुसार मात्र छानबिनको प्रक्रिया अघि बढाउन र जथाभावी परिषद्को‌ लेटर हेड प्रयोग नगर्न/नगराउन कार्यदललाई सूचित गरिएको बेहोरा परिषद्को‌ सदस्यसचिवस्तरीय निर्णयअनुसार जानकारीका लागि अनुरोध छ,’ राखेपका प्रशासन विभाग प्रमुख भोजान्द राईले एनपीएलको छानबिन कार्यदललाई लेखेएको पत्रमा उल्लेख छ ।

यसअघि पनि सोही छानबिन कार्यदलले राखेपकै लेटर हेड प्रयोग गरी क्यानलाई पत्र पठाउँदा कुनै चर्चा भएको थिएन । तर यसपटक अख्तियारकै नाम जोडिँदा यसको चर्चा बढी भयो ।

कार्यदलले राखेपको लेटर हेडमा पत्र पठाउनु ठिक नभएको क्यानका प्रवक्ता लामाले बताए । तर यसअघि पनि त्यही कार्यदलले क्यानलाई पत्र पठाउँदा किन चर्चा नभएको भन्ने प्रश्नमा उनले पहिले ‘यस्तो नखेलेको’ भनेर जवाफ दिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेपको बोर्डकै निर्णयअनुसार एनपीएलको छानबिन कार्यदल बनेकोले त्यही लेटर हेडमा पत्र पठाएको बताए ।

अहिले छानबिन कार्यदलले क्यानलाई कडा शैलीमा पत्र पठाएर स्पष्ट जवाफ माग गरेपछि यसमा जोडिएकाहरू अहिले सशंकित हुन थालेका छन् ।

‘उजुरी पर्‍यो । मन्त्रालयमा पठायो । मन्त्रालयले दुईवटा कार्यदल गठन गर्‍यो । कार्यदलले क्यानलाई पठायो । अब क्यानले जवाफ दिने दिइसक्यो । फेरि पनि जवाफ दिन्छ,’ क्यान प्रवक्ता छुम्बी लामा भन्छन्, ‘तर कन्सर्न के हो भने यत्रो एनपीएल भइरहेको छ । क्यानले के-के दिनुपर्छ दिइहाल्छ । तर यसलाई तत्काल रोक, यो गर भन्न उपयुक्त नहोला भन्ने लागेको मात्र हो । तर खेलकुद परिषद् कार्यदलको कार्यक्षेत्र होला । उहाँहरूले गर्ने काम गरिहाल्नुहुन्छ ।’

राखेप र मन्त्रालयको छुट्टाछुट्टै कार्यदल

एनपीएलको विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबाट छुट्टाछुट्टै कार्यदल बनेको पाइएको छ ।

राखेपलले सदस्यसचिव स्तरको निर्णयअनुसार २० चैत २०८१ मा छानबिन कार्यदल बनाएको थियो भने मन्त्रालयले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको एकल निर्णयमा ११ जेठ २०८२ मा छानबिन कार्यदल बनाएको थियो ।

खेलकुदमन्त्री राखेपको अध्यक्षसमेत हुने व्यवस्था छ । राखेपभित्र नै दुई कार्यदल बनाएर छानबिन गर्नु आफैँमा रोचक देखिन्छ ।

एनपीएलमा भएको अनियमिततामाथि छानबिन गर्न राखेपले परिषद् सदस्य अञ्जन धमलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सारङ्गी निरौला र कमल दाहाल सदस्य थिए । उनीहरूलाई छानबिनका लागि १५ दिनको समय दिइएको थियो ।

यो समितिले प्रतिवेदन तयार पारे पनि प्रतिवेदन बुझाउन नपाएको कार्यदलका संयोजक अन्जन धमलाले जानकारी दिए ।

पहिलो कार्यदललाई बाइपास गरेर युवा तथा खेलकुदमन्त्री चौधरीले आफू निकट राखेप बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा अर्को छानबिन कार्यदल गठन गरे ।

प्रधान मन्त्री चौधरीको स्कुल नाइटिङ्गेलकी प्रिन्सिपल हुन् । उनलाई मन्त्रीले नै राखेप बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

प्रधानले मन्त्रीले छानबिनको कार्यदल बनाएकोले त्यस विषयमा आफूहरूले छानबिन गरिरहेको र त्यसको प्रतिवेदन तयार पारेर मन्त्रालयमा बुझाउने बताइन् । उनले अब छिट्टै छानबिन कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउने जानकारी दिइन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने पहिलेको छानबिन कार्यदल ऐन नियमअनुसार नभएकोले नयाँ छानबिन कार्यदल निर्माण गरेको र त्यसमा राखेप बोर्ड सबैको सहमति रहेको दाबी गरे ।

‘यसअघि राखेप सदस्यसचिवले बनाएको कार्यदल एकल निर्णयअनुसार थियो । त्यसलाई कानुनले दिइराखेको थिएन । नियमावलीले दिएको छैन । वैधानिकता हुनुपर्‍यो,’ मन्त्री चौधरीले भने । ‘पछि बोर्डकै निर्णयअनुसार छानबिन कार्यदल बनाको हो । एकल निर्णय होइन, त्यो बोर्डकै निर्णय हो ।’

तर, राखेप बोर्ड सदस्य अन्जन धमला भने मन्त्रीले बोर्डमा कुनै सल्लाह नगरी नै एकल रूपमा कार्यदल बनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘त्यसमा कुनै छलफल भएको छैन ।’

राखेपले छानबिन कार्यदललाई लेटर हेडको प्रयोग नगर्न, टीओआरभित्र रही काम गर्न र परिषद्प्र‌ति प्रश्न उठ्ने कुनै काम नगर्न निर्देशन दिएको विषयमा युवा तथा खेलकुदमन्त्री चौधरी भन्छन्, ‘अख्तियारको पत्र जे छ त्यो नै टीओआर हो । हामीले त्यो बाहेक केही पनि भनेका छैनौँ ।’

मन्त्री चौधरीले क्यानले यसअघिको पत्रको जवाफ राम्रोसँग नपठाएकोले अन्तिम पटकका लागि पत्र पठाएको र त्यसको जवाफ प्राप्त भएपछि सबैसँग छलफल गरेर प्रतिवेदन पेस गर्ने बताए ।

‘उहाँहरूले जवाफ राम्रो नदिएको भएर छानबिन कार्यदलले फेरि पत्र पठाएको हो । अब पठाउँदैन । यो विषयमा जे आउँछ, त्यसमा कार्यदलले प्रतिवेदन मन्त्रालय पठाउँछ । त्यसपछि मन्त्रालयलले अख्तियारलाई डिटेल पठाउने हो । पत्र मन्त्रालयलाई आएको हुनाले हामीले पठाउने हो,’ मन्त्री चौधरीले भने, ‘क्यान अध्यक्ष, उपाध्यक्षलाई पनि यसको वास्तविकता सोध्ने छौँ । राखेप सदस्यसचिवलाई पनि एनपीएलाई किन स्वीकृति दिएको भनेर सोध्ने हो । एनपीएल गर्न सदस्यसचिवबाट स्वीकृत भएको रहेछ । त्यसमा बोर्ड र परिषद्को‌ निर्णयबारे सोध्नेछौं ।’

के होला एनपीएलको भविष्य ?

नेपालको ग्रासरुट क्रिकेटको विकास गर्ने लक्ष्यसहित गत वर्ष सुरु भएको एनपीएलको पहिलो संस्करण भव्य रूपमा सफल भएको थियो । तर अहिले विभिन्न प्रश्न उठ्नेदेखि अख्तियारसम्म उजुरी परेपछि एनपीएलको दोस्रो संस्करणबारे अन्योल सिर्जना भएको छ ।

पहिलो संस्करण भव्य रूपमा आयोजना गरेपछि क्यानले अब दोस्रो संस्करण अझ राम्रो गर्ने र त्यसमा अझै चुनौती हुने जनाएको थियो । तर यहाँ मैदानको खेलभन्दा मैदान बाहिर भइरहेको विभिन्न खेल अर्को चुनौती बन्न थालेको छ ।

एनपीएलको दोस्रो संस्करणका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन्सनदेखि रिलिज गर्नेसम्म काम गरिसकेका छन् । यस्तै क्यानले अगस्ट अन्तिममा मिनी अक्सन गर्ने तयारी समेत गरिरहेको छ । तर अख्तियारमा परेको उजुरी र अहिले भइरहेको छानबिनले गर्दा निर्धारित मितिमै एनपीएलको दोस्रो संस्करण हुनेमा शंका भने उब्जिएको छ ।

पहिलो संस्करणकै हिसाबकिताब सार्वजनिक गर्नेदेखि फ्रेन्चाइजहरूलाई रिभेन्यू बाँड्ने जस्ता काम बाँकी नै छन् ।

पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले भने पुरस्कार रकम पाइसकेको टिमले जानकारी दिएको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलको दोस्रो संस्करण हुनेमा कुनै शंका नरहेको र मितिमा केही तलमाथि हुनसक्ने बताएका छन् । ‘एनपीएल अझ भव्य हुन्छ । मितिमा केही तलमाथि होला,’ उनले भने ।

एनपीएल छानबिन
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय