News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीमा नयाँ कप्तान चयन हुनुले विवादको जालो नै बुनेको छ ।
- प्रशिक्षक र टिम व्यवस्थापनबीचको असमझदारीले विवादलाई थप जटिल बनायो।
- प्रशिक्षकले कप्तान समयमै चयन नगर्दा विवाद निम्तिएको आरोप छ ।
२५ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमको मिसन थियो, महिला एसियन कपमा छनोट हुने । समर्थकलाई खुशी दिने अनि सबैको माया पाउने ।
तर वास्तविकता अर्को भइदियो । एसियन कपमा छनोट हुन असफल भयो । मिसन एसिया कप मात्र होइन २०२७ को मिसन विश्वकप र २०२८ को ओलम्पिकको ढोका पनि बन्द भयो ।
खेलको पाटो नै हो हार जित । राम्रो खेल्दा पनि नतिजा आप्नो पक्षमा आउन नसक्दा दुर्भाग्य नेपाल अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा नदेखिने सत्य हो ।
पछिल्लो दुई सातामा महिला फुटबलमा विभिन्न उतारचढावहरु आए । नेपालको प्रदर्शन देखि कप्तान परिवर्तन देखि प्रशिक्षकको आरोपसम्म । जसले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई समेत राम्रैसँग सोच्न बाध्य पारिदियो ।
अब एन्फा पनि सोच्न बाध्य भयो होला ‘होइन यसरी त फुटबल चल्दैन’ पनि भनेर । सुरुमा विवाद र नकरात्मक कुरा भन्दा पहिले केही सकरात्मक कुराहरु गरौं ।
नेपालले राम्रो खेल्दा खेल्दै पनि एसियन कपमा छनोट हुन सकेन । लाओस र श्रीलंकालाई त मजैले हरायो । तर निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित हुँदा निकै नजिक पुगेर पनि एसियन कपमा पुग्न सकेन । मैदानभित्रको नतिजा यति नै रह्यो ।
यस्तै नेपाली महिला टोलीले नयाँ कप्तानको रुपमा सावित्रा भण्डारी साम्बालाई पायो । उज्बेकिस्तान पुगेर खेलेको लाओस विरुद्धको पहिलो नेपाली महिला टोलीको एक सयौं अन्तर्राष्ट्रिय खेल थियो । त्यसमा नयाँ कप्तान बनेकी साम्बाको ह्याट्रिक र नेपालको ९-० को जित । सुरुवात सानदार नै थियो ।
त्यसमा नेपालको प्रशिक्षक पनि नयाँ थिए प्याट्रिक डे वाइल्ड । बेल्जियमका यी ६१ वर्षिय भेट्रान प्रशिक्षकले पनि सिनियर राष्ट्रिय टोलीबाट प्रशिक्षकको रुपमा डेब्यु गर्दै पहिलो खेलमै जित आत्मसाथ गरे ।
नयाँ कप्तान नयाँ प्रशिक्षक जितबाट छनोटको यात्रा सुरुवात । त्यसपछि श्रीलंकामाथि ८-० को जित । तेस्रो खेलमा उज्बेकिस्तान विरुद्ध दुई पटक दुई गोलले पछि परेको स्थितीमा (२-० र ३-१ ले पछि परेको) पुनरागमन अनी निर्धारित समयमा ३-३ को बराबरी ।
कति राम्रो, कति गज्जब! छनोट भएको भए अझ सुनमा सुगन्थ हुने थियो । तर त्यस्तो भएन । मात्र पेनाल्टीमा नेपालको भाग्य बलियो रहेन । नेपालका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुक्दा उज्बेकिस्तानसँग पराजित भयो । यो एक हार नै नेपाली महिला फुटबललाई केही वर्ष पछि धकेल्न पर्याप्त हुने भयो ।
तर मैदानका यी सबै प्रदर्शन र उपलब्धीहरु एकै छिनमा छायाँमा परे । कप्तान चयनको विवाद, मुख्य प्रशिक्षक र टिम व्यवस्थापकबीचको विवाद, अनि छनोट सकिएपछि मुख्य प्रशिक्षकले दिएको अन्तर्वार्ताले गर्दा मैदान भित्रको खेल भन्दा मैदान बाहिरको खेलको चर्चा बढी भयो । मैदान बाहिरकै मान्छेहरु हावी भए ।
उज्बेकिस्तान जानुअघि देखि नै नेपाली महिला टिमको कप्तान परिवर्तन हुने चर्चा चलेको थियो । यो सामान्य नै थियो । कप्तान परिवर्तन एक प्रक्रिया नै थियो ।
तर उता गएर कप्तान परिवर्तनको प्रोसेस भने अचम्मको रह्यो । विवादमै फस्यो । त्यसपछि नेपालले खेल्दै जाँदा यस विषयमा केही सूचना समाचारहरु बाहिर आउन थाल्यो ।
नेपाली टोली छनोट खेलेर सोमबार बिहान नेपाल फर्कियो । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने टिमसँग फर्केनन् । उनी पूर्व निर्धारित तालिका अनुसार नै आफ्नै देश बेल्जियम फर्किए ।
स्वदेश फर्किएपछि नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले सुरुमा केही विवाद भएको र त्यो विवाद अब भविष्यमा नहोस् भन्ने प्रतिकृया पनि दिइन् । एन्फा महासचिव किरण राईले कप्तान र प्रशिक्षकको विषयमा छलफल गरेर पछि निर्णय हुने जानकारी दिए । उनले यस विषयमा खुलेर बोलेनन् वा बोल्न चाहेनन् । कप्तानी विवादलाई मिडियाले नै धेरै ‘कन्ट्रोभर्सी’ बनाएको बताइरहे ।
तर मंगलबार प्रकाशित प्याट्रिक डे वाइल्डको एक अन्तर्वार्तापछि भने दिनभर सनसनी फैलियो । यसले एन्फाको मथिङ्गल हल्लायो । अगाडिकै विवादले के गर्ने भन्ने निर्णयमा पुग्न नसकेको एन्फाका लागि प्रशिक्षकको अन्तर्वार्ता अर्को झड्का थियो । त्यसपछि के गर्ने कसो गर्ने सम्मको स्थिति बन्यो ।
त्यसपछि नेपाली टिमसँग उज्वेकिस्तान गएका टिम म्यानेजर, सहायक प्रशिक्षकहरू, हेड अफ डेलेगेट्स र एन्फाको टेक्निकल निर्देशकसहितको संयुक्त पत्रकार सम्मेलन डाकियो ।
एन्फा मुख्यालयकै कार्यालयमा भएको यो पत्रकार सम्मेलन एन्फाको आधिकारिक नभएको र सम्बन्धित व्यक्तिहरुको मात्र भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराए । पत्रकार सम्मेलन मुख्य प्रशिक्षकको अभिव्यक्ति र छनोटमा नेपालको प्रदर्शनको समिक्षाको विषयमा केन्द्रित हुने बताइएको थियो ।
तर त्यहाँ कप्तान परिवर्तनको विवाद, कप्तान विवादको जालो, प्रशिक्षक र टिम व्यवस्थापनबीचको खटपट देखि नेपाली फुटबलमा उपलब्ध सुविधा र उपलब्ध नभएको सुविधा, अत्र गर्नुपर्ने काम सम्मको विषयमा व्यापक ‘इन्टर्याक्सन’ जस्तै भयो ।
कप्तान चयनमा विवादको जालो
नेपाली टोली उज्बेकिस्तान जानुअघिसम्म महिला टोलीको कप्तान नतोकिएपछि यस पटक कप्तान परिवर्तन हुने संकेत मिलिसकेको थियो ।
उज्बेकिस्तान पुगेर पनि अन्तिम समयमा लाओससँग पहिलो खेल हुनुअघि मात्र कप्तान तोकिएपछि यसको पुष्टि भयो । सुरुमा लाइनअपमा रेनुका नगरकोटेलाई कप्तान तोकिएको थियो । तर खेलको बेला सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाएपछि कप्तान चयनको विवादको सुरुवाती झल्को देखियो ।
टिम व्यवस्थापनले रेनुकालाई कप्तान रोज्ने, मुख्य प्रशिक्षकले साम्बालाई कप्तानी दिने विषयले पहिलो खेलअघि नै नेपाली टिमभित्रको विवाद बाहिर आयो । त्यतिबेलै कप्तान परिवर्तनको विषय र प्रक्रियालाई समेटेर प्रशिक्षक प्याट्रिकले एन्फामा अध्यक्ष, टेक्निकल डिरेक्टरलाई पनि इमेल पठाइसकेका थिए ।
टेक्निकल डिरेक्टर हरि खड्काले पहिलो खेलको भोलीपल्ट कोचले सबै घटनाको बारेमा लेटर पठाएको र आफूले अन्य कुरामा ध्यान नदिनु र खेलमा केन्द्रित हुन भनेको बताए ।
‘घटना भएको भोलिपल्ट कोचले लेटर पठाउनुभयो । हामीसँग दुई म्याच बाँकी थियो । मैले हेड अफ डेलेगेट्स र कप्तानसँग बुझे । त्यसपछि प्रशिक्षकलाई अन्य कुरामा ध्यान नदिनु, तपाईँ र हाम्रो लक्ष्यमा ध्यान दिनु भनेर भनेँ । बेलुका उहाँले सबै सेटल भयो भनेर भन्नुभयो खेलाडीहरु खुशी छन् भन्नुभयो । तर हामीबीच (हेड अफ डेलेगेट्स र कोच) बोलचाल भाछैन भन्नुभयो’ उनले भने ।
यस विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ रहस्य खुल्यो । मुख्य प्रशिक्षक खासमा नेपालमा आएदेखि नै कप्तान परिवर्तन गर्न चाहन्थे । उनले टिम व्यवस्थापनभित्र यो कुरा राखिसकेका थिए । तर दुई पक्षबीच समन्वय नमिल्दा अन्तिम समयमा मात्र कप्तान घोषणा भयो ।
नेपाली टोलीको हेड अफ डेलेगेट्स तथा एन्फा केन्द्रिय सदस्य समेत रहेकी सरिला श्रेष्ठ मलेकुले नेपाली टोली उज्बेकिस्तान जानुअघि नै कप्तान चयन गरौं भन्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नमानेको दाबी गरिन् । ‘हामीले यहीँ कप्तान तोकेर जाऊँ भन्दा उहाँले मान्नुभएन, उतै गएर गरौंला भन्नुभयो’ उनले भनिन् ।
त्यसबेला आफूहरूले उक्त कुरा मानेको बताउँदै उनले उता पुगिसकेपछि पनि प्रशिक्षकले खेल हुने दिनसम्मै आलटाल गरेको बताइन् । त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट दिएको बताइन् ।
‘भिडियो देखाएर प्लेइङ ११ देखाइयो । त्यसमा कप्तान को हो भनेर लेखिएको थिएन, हामीले मैदानमा जानेबेला पनि सोध्यौं तर उहाँले भन्नुभएन, त्यसपछि हामीले सिनियर खेलाडी रेनुका नगरकोटे देखेर उहाँलाई कप्तान राखेर टिम लिस्ट एएफसीलाई पठायौं’ उनले भनिन्, ‘त्यसपछि खेल सुरु हुनुअघि रेनुकालाई आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले बल्ल रोक्नुभयो र साम्बा कप्तान भएको बताउनुभयो।’
श्रेष्ठले भने सावित्रालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नहुने उल्लेख गरिन् । ‘नेपालमै हुँदा सावित्रा कप्तान भनेर भनेको भएपनि समस्या थिएन, प्रशिक्षकले किन यस्तो गर्नुभयो थाहा भएन’ उनले भनिन् ।
‘त्यसपछि टिम लिस्टमा अर्कै कप्तान भएपछि कारवाही हुन्छ कि भनेर प्रश्न गर्दा उहाँ आफैं चर्किन थाल्नुभयो, म्याच कमिस्नरले पनि यस विषयमा प्रश्न उठाएपछि उहाँले कसैको पनि कुरा सुन्नुभएन’ उनले अगाडि भनिन् । म्याच कमिस्नरले धेरैपटक प्रश्न उठाउँदा पनि प्रशिक्षक वाइल्डले वास्ता नगरेको श्रेष्ठले बताइन् ।
टिम म्यानेजर बिन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङले पनि प्रशिक्षकले अन्तिम समयमा नै कप्तान तोक्दा यस्तो भएको बताए । ‘हामीले जो भएपनि कप्तान चाहिन्छ भन्यौं । उहाँले सुरुमै यो पेपर देखाउनुभयो, शुभकामना दिनुभयो । त्यसपछि नेम लिस्टमा कप्तान मेन्सन छैन भनेपछि यो फोटो खिचेर पठाइदेऊ भन्नुभयो’ म्यानेजर देवानले भनिन् ।
यस्तै यसै प्रसंगमा सहायक प्रशिक्षक राजेन्द्र तामाङ र गोलकिपर प्रशिक्षक सुरज लामाले अझ एक स्टेप अघि बढेर प्रतिक्रिया दिए । खासमा प्रशिक्षक वाइल्ड नेपाल आएपछि नै एन्जिलालाई कप्तानमा निरन्तरता दिन नसक्ने र नयाँ कप्तान बनाउनुपर्ने विषयमा नेपालमै कुरा भएको खुलासा गरे ।
‘मेरो टिममा गोलकिपर कप्तान हुँदैन कहिल्यै । म चेन्ज गर्न चाहन्छु भन्नुभयो । गोलकिपरले कप्तान गर्दा राम्रो लिड गर्न सक्दैन भन्ने कुरा गर्नुभयो’ तामाङले पत्रकार सम्मेलनमा भने, ‘हेड कोचले मैले साम्बा र गीता चुज गरिराछु भन्नुभयो । दुईमा म एक बनाउछु यहाबाट जाँदा भनेर भन्नुभयो । फेरि उहाँले कप्तान एन्जिला पनि हुन सक्छ है, शंका नगर । हतार नगर भन्नुभयो।’
बिदाईमा कप्तान चयन हुन्छ कि भन्ने आश गरेपनि एन्जिला र साम्बालाई अगाडि बोल्न लगाएपछि आफूहरु झन् कन्फुजनमा परेको तामाङले बताए । ‘हामी उता पुग्दा उहाँ कप्तान परिवर्तन गर्ने मानसिकतामै हुनुहन्थ्यो’ उनले भने ।
यस्तै गोलकिपिङ प्रशिक्षक सुरज लामाले पनि प्याट्रिकले सुरुमै एन्जिलालाई ड्रप गर्ने भनेर आफूलाई भनेको बताए । ‘एक दुई ट्रेनिङ सेसन हेर्नुभयो । सुरुमै गोलकिपर कप्तान हुन सक्दैन भन्नुभयो । कोच किन गोलकिपर कप्तान हुन सक्दैन? भनेर मैले भनें । उहाँले फिफाको नयाँ नियम अनुसार मैदानमा केही भए कप्तानले रेफ्रीसँग कुरा गर्नुपर्ने भएर यो कुरा सिरियस भएको बताउनुभयो’ लामाले भने ।
कोचहरुसँग कुरा गरेर एन्जिलालाई कप्तान बनाउन सक्दिनँ भनेको लामाले बताए । ‘एउटाले कप्तानी गरिरहेको अर्कोले गर्दा कस्तो हुन्छ भनेर हामीलाई क्युरिओसिटी भयो’ उनले भने ।
‘एन्जिलालाई ड्रप नै गर्ने भनिसक्नुभाथ्यो उहाँले मलाई । दुई दिन बाँकी हुँदा म एन्जिलालाई निरन्तरता दिन सक्दिन भन्नुभयो । अनि मलाई विकल्प दे भन्नुभयो । त्यो बाहेक मलाई यो बेटर लाग्न्छ भनेर भनें । तपाईलाई के लाग्छ भन्दा उहाँले किपरमा अन्जनालाई छान्नुभयो’ उनले अगाडि भने ।
यसरी नेपालबाटै सुरु भएको कप्तान परिवर्तनको जालो उज्बेकिस्तान पुगेर छरपष्ट मात्र भएन विवादित नै बन्यो । नेपाली फुटबलमा फेरि एक पटक व्यवस्थापन पक्ष र मुख्य प्रशिक्षकबीचको विवादले टिम र खेलाडीको प्रदर्शन छाँयामा पर्यो ।
कप्तान र प्रशिक्षक विवादको विषयमा एन्फाले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अब कप्तान र प्रशिक्षक चेन्ज हुन्छ वा निरन्तर हुन्छ केही धारणा आएको छैन ।
बुधबार पत्रकार सम्मेलनमा उपस्थित भएका एन्फाका टेक्निकल डिरेक्टर हरि खड्काले भने प्रशिक्षकलाई आफूले म्सेज पठाएको तर जवाफ नआएको बताए । उनले प्रशिक्षक आउनुपर्ने र छलफल गरेर सबै कुरा टुङ्ग्याउनुपर्ने पनि बताए ।
यस्तै प्रशिक्षकले उठाएको प्रश्नमा नेपालमा सबै सुविधाहरु उपलब्ध नभएको पनि उनले स्वीकार गरे । प्रशिक्षक वाइल्डले जिपिएस देखि फिजिकल ट्रेनर, टेक्निकल एनालिस्टलगायत आवश्यक रहेको भनेपनि त्यो सबै नभएको र छोटो समयमा पूरा गर्न नसकिने बताए । सबै कुरा पूरा गर्न काम गरिरहेको खड्काले बताए ।
प्रतिक्रिया 4