Comments Add Comment

धनगढी–बागछेडा सडकमा गुड्ने सवारीलाई दोहोरो कर

बसको संख्यामा कटौती, मारमा यात्रु


२६ मंसिर, डोटी । एउटै सडकमा दुई ठाउँमा कर तिर्नु परेको भन्दै बस व्यवसायीहरुले धनगढी–बागछेडा सडकमा सञ्चालन हुने बसको संख्यामा कटौती गरेपछि स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

दैनिक ३ यात्रुवाहक बस सञ्चालन हुँदै आएको उक्त रुटमा हाल दुई बस मात्रै सञ्चालन हुने गरेको स्थानीयबासीहरु बताउँछन् । बसको संख्या कम भएपछि आफूहरुले छतमा बसेर जोखिमपूर्ण यात्रा गर्नु परेको स्थानीयहरुको गुनासो छ ।

‘पहिले नियमित तीन बस सञ्चालन भइरहेका थिए’, एक स्थानीयले भने, ‘अचेल दुई बस मात्रै आउँछन्, भित्र ठाउँ नभएपछि यात्रुहरु छतमा बस्नुपर्ने अवस्था छ ।’
यस्तै गुनासो गर्छन्, डोटी बढीकेदार गाउँपालिका–३ निवासी, नन्दराम बुढामगर । उनी भन्छन् ‘यात्रु धेरै बोकेकै कारण दुई वर्ष पहिले जोरायल सडकमा २९ जनाको ज्यान जाने गरी दुर्घटना भएको थियो, यहाँ पनि त्यस्तो घटना हुन्छ कि भन्ने डर लाग्छ ।’

स्थानीय बिद्यालयमा शिक्षक समेत रहेका बुढामगरले यस विषयमा आफूले सुदूरपश्चिम यातायात व्यवसायी समितिसँग कुरा गर्दा समितिले गाउँपालिकाले लगाएको कर फिर्ता लिए फेरि थप बस चलाउन सकिने भनेको बताए ।

बडीकेदार गाउँपालिकाले आर्थिक वर्ष गत साउन १ गतेदेखि उक्त सडकमा सञ्चालन हुने सवारी साधनहरुमा कर लगाउने निर्णय गरेको थियो । यातायात व्यवसायीहरुले एउटै सडकको दुई स्थानमा कर तिर्नुपर्ने भएपछि आफूहरुलाई मर्का परेको भन्दै बसको संख्यामा कटौती गरेको बताएका छन् ।

‘कहिलेकाहिँ त चार–पाँचजना यात्रु मात्रै पनि बोकेर जानुपर्ने हुन्छ, खर्च पनि उठाउन गाह्रो हुन्छ’, सुदूरपश्चिम यातायात व्यवसायी समितिका महासचिव सुरेन्द्र बोहोराले भने, ‘यातायात व्यवसायीहरुसँगको छलफलपछि समितिले उक्त निर्णय गरेको हो ।’

करिब ३२ किलोमिटर लम्बाई रहेको सहजपुर बोगटान कच्ची सडकमा यसअघि नै कैलालीको चुरे गाउँपालिकाले ओखलढुङ्गा भन्ने ठाउँमा प्रतिबस २ सय ५० रुपयाँ कर लगाउँदै आएको बोहराको भनाइ छ । ‘बडीकेदार गाउँपालिकाले प्रतिबस ३ सय ८२ रुपैयाँ कर लिन थालेको छ’ बोहोरा भन्छन्, ‘एउटै सडकमा पटकैपिच्छे दुई–दुई ठाउँमा कर तिरेर थोरै यात्रु बोक्दै बस चलाउन सम्भव छैन ।’

उनले बडीकेदार गाउँपालिकाले कर नलगाउने हो भने थप बस सञ्चालनबारे समितिमा फेरि छलफल गरिने बताए । बोहोराका अनुसार हाल सहमतिका आधारमा सुदूरपश्चिम यातायात समितिको एक र कर्णाली बस व्यवसायी समितिको एक बस सञ्चालनमा छन ।

बडीकेदार गाउँपालिकाले भने यस विषयमा केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment