Comments Add Comment

एसेज सिरिज अष्ट्रेलियाको पोल्टामा, तेस्रो टेष्टमा पनि इंग्ल्याण्ड पराजित

३ पुस, काठमाडौं । यस वर्षको एसेस सिरिज घरेलु टोली अष्ट्रेलियाले जितेको छ । सोमबार सम्पन्न तेस्रो टेष्टमा पनि इंग्ल्याण्ड पराजित भएपछि बाँकी दुई खेलअगावै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

तेस्रो टेष्ट घरेलु टोली अष्ट्रेलियाले १ इनिङ र ४१ रनले जित्यो । दोस्रो इनिङमा १३२/४ को स्थितिबाट पाँचौं दिनको खेल सुरु गरेको इंग्ल्याण्डको ब्याटिङ वर्षाका कारण बिहानको खाना समयसम्म प्रभावित बन्यो । खानापछि इंग्ल्याण्डले संहालिएको ब्याटिङ गर्न सकेन र इनिङको हार व्यहोर्न पुग्यो ।

दोस्रो इनिङमा इंग्ल्याण्ड २१८ रनमा समेटियो । उसका लागि जेम्स भिन्सले ५५ र डेभिड मलानले ५४ रन बनाउनुबाहेक अन्यको प्रदर्शन अपेक्षाकृत रहेन । अष्ट्रेलियाका जेम्स हेजलउडले ५, नाथान ल्योन र प्याट क्युमिन्सले २/२ विकेट लिएपछि इंग्ल्याण्ड धराशायी बनेको हो ।

यसअघि पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङमा ४०३ रन बनाएको थियो । पहिलो इनिङमा उसका लागि डेभिड मलानले १४० र जोनी बेरस्टोले ११९ रनको शतकीय पारी खेलेका थिए । पहिलो इनिङमा मिचेल स्टार्कले ४, हेजरउडले ३ तथा प्याट क्युमिन्सले २ विकेट लिएका थिए ।

यता कप्तान स्टिभ स्मिथको दोहोरो शतकीय योगदानले पहिलो इनिङमा २५९ रनको अग्रता लिँदै अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गरेको थियो ।

अष्ट्रेलियाले ९ विकेट गुमाएर ६६२ बनाउँदा कप्तान स्मिथले २२९ रनको शानदार पारी खेले । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए । त्यस्तै मिचेल मार्सले १८१ रन बनाए । उस्मान ख्वाजाले पनि अर्धशतकीय योगदान दिए ।

यसअघि पहिलो र दोस्रो टेष्ट इंग्ल्याण्डले क्रमसः १० विकेट र ११० रनले जितेको थियो । इंग्ल्याण्ड र अष्ट्रेलियाका लागि प्रतिष्ठित एसेज सिरिजमा यस वर्ष अष्ट्रेलियाले कब्जा जमाएको छ । चौथो टेष्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment