Comments Add Comment

एमाले नेताहरुको ‘माकाफुइँ दोहोरी’: पार्टी एकताको साधक कि बाधक ?

एमालेको बहसले माओवादीलाई हाइसन्चो, गठबन्धनको भविष्य ओलीमा निर्भर

१९ पुस, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाले अपेक्षाकृत गति लिन नसकिरहेका बेला एमालेभित्र दोस्रो पुस्ताका नेताहरु सार्वजनिक रुपमै बहसमा उत्रिएका छन् ।

यो बहसलाई एमाले नेतृत्वले नरोक्ने हो भने पार्टी एकता एमालेभित्रैबाट भाँडिने त होइन भन्ने आशंका माओवादी नेताहरुको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली कुनै पनि बहस र विवादमा नमुछिएकाले एकताको भविष्य उनमै निर्भर छ । ओलीको अस्वस्थता र मौनतामा पार्टी एकता प्रक्रिया पनि अलझिरहेको छ ।

ईश्वर पोखरेलको तरंग

प्रतिनिधिसभाको मत गणना सकिए लगतै एमाले महासचिव ईश्वर पोखरेलले अनलाइनखबरको अन्तर्वार्तामा पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने भन्दै तीनै पद केपी ओलीले नछाड्ने संकेत गरेका थिए ।

पोखरेलको अभिव्यक्तिपछि झस्किएका माओवादी नेताहरुले ओली प्रधानमन्त्री र प्रचण्ड एकतापछि बन्ने पार्टीको अध्यक्ष हुने भद्र सहमतिको खुलासा गरे ।

पोखरलको भनाइको तरंगबाट खलबलिएको पार्टी पंक्तिलाई आश्वस्त पार्न ओली र प्रचण्डबीच वार्ता भयो र एकतालाई असर पर्ने अभिव्यक्ति नदिन दुवै नेताले निर्देशन पनि दिए । पार्टी एकताबारे माओवादीभित्र गोपाल किराती र आहुतीहरुको सैद्धान्तिक असहमति बाहेक सार्वजनिक रुपमा कुनै विमति देखिएको छैन ।

तर, पोखरेलको अभिव्यक्तिको अहिलेसम्म एमालेबाट खण्डन भएको छैन बरु उनको अभिव्यक्तिलाई बल पुग्ने गरी बहस भइरहेका छन् । महासचिव पोखरेलले व्यक्तिगत रुपमा भने पनि उनले सोचविचार गरेर अभिव्यक्ति देखिन्छ ।

घनश्यामको घानमा घमासान

माओवादीसँग पार्टी एकताको प्रक्रिया शुरु नहुँदै एमालेभित्र नीतिगत र पदीय विवाद देखिन थालेको छ । एमाले उपमहासचिव घनश्याम भुसालले अनलाइनखबरसँगको भिडियो अन्तर्वार्तामा जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भएको भन्दै पार्टी एकतापछि जबज र माओवाद दुवै नरहने बताए । भुसालको यो अभिव्यक्तिबाट एमालेमा ठूलै हलचल पैदा गराएको छ ।

एमालेभित्रै जबज छाड्नुपर्ने मत बलियो बन्यो भने आफूहरुले त्यसमा धेरै विवाद गर्नु नपर्ने आश माओवादी नेताहरुको छ । एमालेभित्र सर्वस्वीकृत हुन नसकेको सिद्धान्त एकीकृत पार्टीले बोक्न नसक्ने तर्क त्यो बेला माओवादीले बलियो रुपमा उठाउन पाउनेछ

उपमहासचिव भुसालको बिचारको पक्ष र बिपक्षमा एमालेभित्र बहस शुरु भइसकेको छ । विशेष गरी पार्टीको संस्थापन पक्षले भुसालले मौका पाउनासाथ जबजबिरुद्ध शीर उठाएको भन्दै प्रतिवाद गरेको छ । माधव नेपाल पक्षभित्रको परम्परागत एमाले समूह भुसालको भनाइबाट रक्षात्मक अवस्थामा पुगेको छ भने पूर्व माले समूह (बामदेवकालीन माले) भुसालको अभिव्यक्तिको बचाउमा छ ।

एमालेभित्र तत्कालीन महासचिव मदन भण्डारीको अवसानपछि उनले प्रतिपादन गरेको नेपाली क्रान्तिको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को ब्याख्याताका रुपमा केपी ओली, बामदेव गौतमदेखि शंकर पोखरेलसम्मका नेताहरु प्रकट भएका थिए ।

घनश्याम भुसालहरुले भने भने जबजमा समयानुसार परिवर्तनको वकालत गरे । पार्टीको नवौं महाधिवेशनसम्म आइपुग्दा आफुनो लाइन पास भएको भुसालको तर्क छ ।

तर, एमाले र माओवादीच पार्टी एकता हुँदा जबज नै एकीकृत पार्टीको सिद्धान्त हुने कि नहुने भन्ने टुंगो छैन । किनकी माओवादीले माओवादको जगमा एक्काइसौं शताव्दीको जनवादको अभ्यास गर्ने भनेको छ भने एमालेे माक्र्सवाद लेनिनवादका जगमा जबज भनेको छ । दुई सिद्धान्तबीच खास फरक नभए पनि पार्टीको सिद्धान्त राख्ने बेला कुनै एकमात्र बोक्ने सम्भावना छैन ।

माओवादीलाई हाइसन्चो, माधव नेपाल रक्षात्मक

एमालेभित्र सिद्धान्तको बहस चलिरहेका बेला माओवादी केन्द्रका नेताहरु मौन छन् । पार्टी एकताको प्रक्रिया अघि बढ्ने क्रममा सिद्धान्तको छलफल हुने नेताहरु बताउँँछन् । सकेसम्म एमालेभित्रै जबज छाड्नुपर्ने मत बलियो बन्यो भने आफूहरुले त्यसमा धेरै विवाद गर्नु नपर्ने आश माओवादी नेताहरुको छ । एमालेभित्र सर्वस्वीकृत हुन नसकेको सिद्धान्त एकीकृत पार्टीले बोक्न नसक्ने तर्क त्यो बेला माओवादीले बलियो रुपमा उठाउन पाउनेछ ।

भुसालले जबजको च्याप्टर क्लोजको कुरा उठाइरहँँदा माधव नेपाल स्वयं र उनीसँग निकट नेताहरु मौन छन् । एमालेभित्र माधव नेपाल गुटभित्र पनि मुख्यतः दुई उपगुट छन् । घनश्याम भुसाल र योगेश भट्टराईहरुले माधव नेपाल गुटभित्र बलियो उपगुट चलाउँछन्, जसमा विशेष गरी बामदेवकालीन पूर्व माले समूहका युवा नेता कार्यकर्ता छन् । माधव नेपाल पक्षका परम्परागत नेताहरु बहुदलीय जनवादको सवालमा घनश्यामसँग पूरै सहमत हुन सक्दैनन् ।

त्यस्तै माधवकुमार नेपाल १५ वर्षसम्म एमालेको नेतृत्वमा रहँदा उनको संरक्षणमा हुर्किएका नेताहरुको अर्को पंक्ति छ, जसले जबजबारे घनश्याम भुसालको च्याप्टर क्लोजवाला प्रसंगको खुलेर समर्थन र बिरोध गर्न सकेको छैन । यो समूहमा सुरेन्द्र पाण्डे, पशुपति चौलागाई, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, राजेन्द्र राई, बेदुराम भुसाल लगायतका नेताहरु छन् ।

योगेशको अभिव्यक्ति, बिष्णु रिमालको ‘माकाइफुइँ’

पार्टी एकतापछि जबज रहने कि नरहने भन्ने विवादमा एमाले नेताहरु फसिरहेका बेला योगेश भट्टराईको एउटा अभिव्यक्तिले पार्टीमा झन् ठूलो प्रतिक्रिया उत्पन्न गराएको छ । भट्टराईले केपी ओली र प्रचण्डले नेल्सन मण्डेला बन्ने मौका आएको भन्दै सरकार र पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरे हुने अभिव्यक्ति दिएपछि ओली निकट नेताहरु उत्तेजित भएका छन् ।

ओली पक्षलाई एकता बिरोधी देखाएर प्रचण्डसँग अहिलेदेखि नै निकटता कायम गर्ने र भोलि एकीकृत पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरु एक ठाउँमा उभिने आधार बनाउन खोजिँदैछ भन्ने बुझाई ओली पक्षका नेताहरुको छ

पार्टी सचिव भट्टराईको सो अभिव्यक्तिबाट ओली क्याम्पमा कस्तो आक्रोश रहेछ भन्ने पोलिटव्यूरो सदस्य बिष्णु रिमालको ट्वीटबाटै प्रष्ट हुन्छ । ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका र अहिले पनि ओलीको सबैभन्दा निकटमध्येका एक रिमालले योगेशको अभिव्यक्तिलाई ओलीकै शब्द सापटी लिएर ‘माका फुइँ’ सम्म भन्न भ्याएका छन् ।

रिमाल लेख्छन्-उवेला ओलांगचुंगोलादेखि जोगबुढासम्म तिनै बुढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरूमा थिएन । अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओलीको बकअपबाट ट्रफी पाउने साथीहरूको ‘माका-फुँई’ले के बिधि सगरमाथा चढेको हो ?

रिमालको यो ट्वीटमा धेरै प्रतिक्रिया आएका छन् । आफ्नो अभिव्यक्तिलाई ओलीको नेतृत्व अश्वीकार गरेको र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट सन्यास लिन दबाब दिएको अर्थमा बुझिएपछि भट्टराईले यसको प्रष्टिकरण दिइसकेका छन् । रिमालको ट्वीटमा रिप्लाई दिएका योगेशले फेसबुकबाट बुधबार विहान रिमालको माकाफुँइ आरोपको शालिन जवाफ दिएका छन् ।

योगेश लेख्छन्-करिब ३५ बर्ष भयो बिष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक सालीन र मिलनसार लाग्छ मलाई । तर मेरा बारेमा उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन बिष्णु रिमाल हो छुट्याउन गाह्रो भयो । उहाँले मप्रति जती नकारात्मक टिप्पणी गरेपनि मेरो उहाँप्रति सधैं सदभाव रहिरहने छ ।

योगेशले पार्टीको सञ्चार इलाका कमिटीले आयोजना गरेको कार्यक्रममा केपी ओली र प्रचण्ड मात्र होइन, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले आफ्नो पालामा दिनसक्ने योगदान दिएको भन्दै अब सक्रिय नेतृत्वबाट विस्तारै अलग भए हुने आशयको अभिव्यक्ति दिएका थिए । तर उनको अभिव्यक्तिलाई केपी ओलीविरुद्ध लक्षित जसरी पार्टीको एउटा समूहले गलत आशयले प्रचार गरेको प्रचार बिभाग सचिव बिष्णु रिजालले बताए ।

नेताहरुको दन्तबझान, कार्यकर्ता चिन्तित

घनश्याम भुसाल र योगेश भट्टराईका अभिव्यक्तिलाई एमालेभित्र ओली निकट रहेका नेताहरुले मिडिया र सामाजिक सञ्जालबाट भेटेसम्म र भ्याएसम्म प्रतिवाद गरिरहेका छन् । उनीहरुले अहिलेको जनमत केपी ओलीको नेतृत्वमा आएको भन्दै ओलीको विकल्प खोज्ने नेताहरुलाई माओवादी परस्त समेत भन्न थालेका छन् । युवा नेताहरुको दन्तबझानले पार्टी एकतामा असर पर्ने चिन्ता एकता पक्षधर कार्यकर्ताले व्यक्त गरिरहेका छन् ।

यसपालीको जनमत वामपन्थी एकताको लागि हो । कार्यकर्ता पंक्ति एकतामा आँच आउने कुनै क्रियाकलाप र अभिव्यक्ति नेताहरुबाट नआइदिए हुन्थ्यो भन्ने चाहन्छन् । तर, एमाले नेताहरु भने केही अधैर्य देखिएका छन् । कुनै पनि बहाना, कारण र चलखेलबाट पार्टी एकता नहुने र माओवादी अर्को गठबन्धन बनाउनेतिर जाने त होइन भन्ने चिन्ता एमाले कार्यकर्ता पंक्तिमा देखिन्छ ।

दोहोरीको दोहोरो अर्थ

प्रचण्ड आफूलाई केन्द्रमा राखेर गोटी चाल्ने पावर खेलाडी हुन् । उनले ओलीसँग मिलेर आफू शक्तिमा पुग्ने सहज बाटो पाए भने कमजोरहरुसँग मिलेर ओलीलाई चिढ्याउन चाहँदैनन्

एमालेका दोस्रो तहका युवा नेताहरुको सार्वजनिक दोहोरी र नीतिगत र पदीय विवाद सामान्य रुपमा आएको प्रतिक्रिया चाहिँ होइन । माओवादीसँग पार्टी एकता भएपछि पनि ओली नै अध्यक्ष नभए आफ्नो भविष्य नदेख्ने एकथरी नेता एमालेभित्र छन् । अर्कोथरि नेता चाहिँ ओली होइन, प्रचण्डले पार्टीका नेतृत्व गर्दा भोलि आफ्नो पक्षमा नेतृत्व आउन सहज हुने देखिरहेका छन् ।

विशेष गरी माधव नेपाल पक्षका नेताहरु प्रधानमन्त्री केपी ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुने गरी पार्टी एकता गर्नुपर्ने पक्षमा खुलेरै उभिएका छन् । उनीहरुले त्यसो भन्दा स्वभाविक पनि देखिन्छ किनकी प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीलाई दिएर प्रचण्डले पार्टी एकता किन गर्ने ? त्यसैले नेपाल पक्षको भनाइ स्वभाविक रुपमा पार्टी एकताको पक्षमा देखिएको छ ।

अर्कोतिर एमाले जस्तो बलियो संगठन भएको र ३५ प्रतिशत जनमत पाएको पार्टीले ११ प्रतिशत जनमत पाएको माओवादीलाई नेतृत्व हस्तान्तरण गर्न हुन्छ ? भन्ने प्रश्न ओली निकट नेताहरुको छ र उनीहरुले पार्टी नेतृत्वको नयाँ मोडलमा जानुपर्ने तर्क गर्न थालेका छन् । प्रचण्ड र ओली दुवै प्रमुख नेता रहने खालको मोडालिटीमा छलफल गर्न शंकर पोखरहरुले बहस सिर्जना गरेका छन् ।

तर, उनीहरुको तर्कले पार्टी एकता नचाहेको बुझिने भएकाले रक्षात्मक बनाइदिएको छ ।

माधव नेपाल पक्षका नेताहरुको बुझाइ अलि फरक छ । अहिले प्रधानमन्त्री केपी ओली हुनेमा कुनै विवाद छैन ।

माओवादीको रुची भने पहिले सरकार गठनभन्दा पार्टी एकतामा देखिन्छ । अहिले सरकार गठनमा ढिलाइ हुने वातावरण निर्माण गर्नमा कहिँ न कहिँ प्रचण्डले पनि प्रमुख निर्वाचन आयुक्तलाई प्रभावित पारेको हुन सक्नेसम्मका आशंका पनि हुन थालेका छन् ।

माओवादी पक्ष सरकार गठनभन्दा पहिले नै पार्टी एकताको प्रक्रियाले आकार ग्रहण गरिसकोस भन्नेमा छ । माधव नेपाल पक्ष पनि त्यसमा सकारात्मक छ । ओली पक्षलाई एकता बिरोधी देखाएर प्रचण्डसँग अहिलेदेखि नै निकटता कायम गर्ने र भोलि एकीकृत पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरु एक ठाउँमा उभिने आधार बनाउन खोजिँदैछ भन्ने बुझाई ओली पक्षका नेताहरुको छ ।

माधवलाई ओलीभन्दा प्रचण्ड किन प्यारो ?

माधव नेपाल एकपटक एमालेको अध्यक्ष बन्न चाहन्छन् । १५ वर्ष पार्टी चलाएका नेपालमा अझै पनि एकपटक कार्यकारी नेता हुने तीब्र चाहना छ । त्यसैले उनले ‘म राष्ट्रपति हुने होइन, अझै सक्रिय राजनीति गर्छु’ भन्दै हिँडेका छन् । अहिले पनि उनको ध्यान प्रधानमन्त्री र राष्ट्रपतिमा होइन अध्यक्षमै छ । अझ एकीकृत पार्टीको अध्यक्ष बन्ने अवसर उनी गुमाउन चाहदैनन् । त्यसका लागि ओलीबाट नेतृत्व छिन्न जति कठिन छ, प्रचण्डबाट आफूमा नेतृत्व आउन त्यो भन्दा सजिलो छ भन्ने बुझाइ माधव नेपालको छ ।

किनकी भोट जे जति पाएको भएपनि एमाले र माओवादीको पार्टी एकता पनि ६०/४० कै अनुपातमा हुने सम्भावना छ । त्यसो हुँदा एमालेको अहिलेको १८५ सदस्यीय केन्द्रीय कमिटी कायम राखेर माओवादीको झण्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ७०/७५ जना नेता केन्द्रीय कमिटीमा पुग्न सक्छन् ।

एकताको लागि छरितो केन्द्रीय कमिटी र संगठनमा एमालेको व्युरोक्रेटिक मोडल माओवादीले पनि रुचाइसकेको छ ।

पार्टी एकतापछिको गणित

पार्टी एकतापछि एमालेका कम्तिमा ४० प्रशित नेता माधव नेपाल पक्षका छन् । बामदेव पनि मिसिए भने यो प्रतिशत ४५ सम्म पुग्न सक्छ । माओवादीभित्र जतिवटा गुट उपगुट भएपनि प्रचण्डको सवावलमा सबै एकै ठाउँमा छन् । तत्कालै प्रचण्डलाई छाडेर केपी ओलीसँग माओवादीका नेताहरु गइहाल्छन् भन्ने आधार देखिँदैन । यद्यपि जनार्दन शर्मा, शक्ति बस्नेत, टोपवहादुर रायमाझी जस्ता नेताहरु ओलीतिर लाग्ने अनुमान माओवादी पंक्तिमा हुँदैछ ।

तर, पनि अहिलेसम्म प्रचण्डको नेतृत्व माओवादीमा सर्वस्वीकार्य भएकाले उसको ४० प्रतिशतमा एमालेको ४० प्रतिशत मिल्न आउँदा एमालेको ६० प्रतिशत शक्ति होल्ड गर्ने ओलीलाई चुनौति थपिनेछ । यद्यपि प्रचण्ड आफूलाई केन्द्रमा राखेर गोटी चाल्ने पावर खेलाडी हुन् । उनले ओलीसँग मिलेर आफू शक्तिमा पुग्ने सहज बाटो पाए भने कमजोरहरुसँग मिलेर ओलीलाई चिढ्याउन चाहँदैनन् ।

पार्टी एकता प्रक्रियामा एमालेभित्रै जसरी किचलो सिर्जना गरेको छ यसले माओवादीलाई एमालेसँग धेरै विवाद गर्नुपर्ने दुःखबाट त मुक्त गरिदिएको छ । तर, एमालेकै नीतिगत र पदीय विवाद कारण पार्टी एकता प्रक्रियामा बिलम्ब हुने र एउटा विन्दुमा पुगेर बिगि्रने हो कि भन्ने चिन्ता पनि माओवादी नेतृत्वमा देखिन्छ । तर, यसबारे एमाले अध्यक्ष ओलीको

मौनता अर्थपूर्ण छ । जसरी वामपन्थी गठबन्धन ओलीकै कारण सम्भव भयो, पार्टी एकता पनि ओलीमै निर्भर छ ।
ओली आफूलाई मुलुकको नेतृत्व गरेर सम्बृद्धिको सपना साकार पार्न आएको मौका गुमाउन चाहँदैनन् । अहिलेको बहस उनले पोखरीमा हानेको ढुंगा जस्तै हुनसक्छन् । जसरी दशैं सरप्राइज दिएर वामपन्थी गठबन्धन बनाए, त्यसरी नै पार्टी एकतालाई टुंगोमा पुर्‍याएर नयाँ सरप्राइज दिने सुबिधा ओलीलाई छ । किनकी माओवादीसँग पार्टी एकताको सन्दर्भमा लिने निर्णयमा ओलीलाई एमालेभित्रबाट न कसैले अवरोध गर्न सक्छन्, न अवस्था नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment