Comments Add Comment

प्रदेश मुकाम तोकिएपछि बुटवलमा सचिवालय स्थापनाको तयारी

सरकारीसँ निजी संस्थाका भवन प्रयोग गरिने

बुटवल ,माघ ५ । सरकारले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा तोकेपछि तत्कालै सचिवालय स्थापनाको तयारी थालिएको छ ।

कार्यालय व्यवस्थापनका लागि उचित भवनको तयारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र भवन डिभिजन कार्यालय रुपन्देहीले उपयुक्त भवनको छनौट गरी कार्यालय व्यवस्थापनको तयारी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय तत्काल व्यवस्थापन गरी अन्य कार्यालयको थप ब्यबस्थापन गरिने छ ।

तत्कालनका लागि प्रदेश प्रमुखको सचिवालय, सभास्थल र प्रदेश प्रमुखको निवासको व्यवस्थापन सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

प्रजिअ अधिकारीसहितको टोलीले भवन व्यवस्थापनका लागि स्थलगत अवलोकन पनि गरेका छन् ।

भवन डिभिजन रुपन्देहीका प्रमुख सुरेश ठाकुरले प्रदेश प्रमुखको कार्यालय उच्च अदालत, बुटवल इजलासको नजिकै राखिने सम्भाबना रहेको बताए ।

प्रदेशको सभाका लागि बुटवल उद्योग बाणिज्य संघको सचिवालयलाई प्रयोग गर्ने तयारी गरिएको छ ।

उपयुक्त पार्किङ स्थल रहेको स्थानलाई सभास्थलको रुपमा राखिने छ । प्रदेश प्रमुखको निवासका लागि रामनगरस्थित सीप विकास केन्द्रको भवन प्रयोग गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुखको सचिवालय र निजी निवाससहित सभास्थल निर्माणपछि मुख्यमन्त्रीको सचिवालय र मन्त्रालय राख्ने भवन व्यवस्थापन हुनेछन् ।

यसअघि प्राविधिक टोलीले इलाका वन कार्यालय, राजश्व अनुसन्धान कार्यालय, यातायात व्यवस्था कार्यालय, इलाका प्रशासन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, भूमिगत जलस्रोतको कार्यालयको अवलोकन गर्दै यी भवनमा मन्त्रालय व्यवस्थापन गर्न सकिने बताएको थियो । बुटवलमा नया बनेको श्रमकार्यालयको ५ तले भवनमा केही मन्त्रालय व्यवस्थापन गर्न सकिने बताइएको छ ।

पुसको पहिलो हप्ता क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहक्षेत्रीय प्रशासक बाबुराम गौतमको नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रहरुको अध्ययन गरेको थियो । उनी भन्छन् -ँबुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु छन् ।’

बुटवलस्थित श्रम कार्यालय, सडक डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धानको कार्यालय, सीप विकास तालिम केन्द्र, इलाका वन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालयलगायतका कार्यालयहरुको भवन छानिएको छ तर कुन कार्यालयमा कुन मन्त्रालय ,सचिबालय राख्ने अझै टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment