Comments Add Comment

अबैध वालुवा उत्खनन् र निकासी रोक्न प्रहरी सतर्कः समातिन थाले ट्रिपर

१५ माघ, गोरखा । अबैध बालुवा उत्खनन र निकासी रोक्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले अनुगमन र चेकजाँचलाई तीव्रता दिएको छ ।

चेकजाँच र अनुगमनलाई तीव्रता दिएसँगै अवैध रुपमा वालुवा निकासी गर्ने टि्रपरहरु रातारात प्रहरीको नियन्त्रणमा पर्न थालेका छन् ।

आइतवार राति दश बजे अवैध रुपमा वालुवा ढुवानी गर्दे गरेका तीनवटा ट्रिपरलाई नियन्त्रणमा लिइएको डीएसपी भेषराज रिजालले बताए । ‘अबैध रुपमा सञ्चालन भएको वालुवा खानीबाट वालुवा लिएर आउदै रहेछन्, चेकजाँचको क्रममा बुंकोटबाट उक्त ट्रिपरहरु नियन्त्रणमा लिएका हौ,’ रिजालले भने ।

ना७ख ३६७१, ग१ख ७७५६ र बा३ख ९९२७ नम्वरको ट्रिपरलाई नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए ।

त्यस्तै बिहीवार राति घ्याल्चोकबाट अवैध रुपमा वालुवा निकासी गर्दै गरेका दुईवटा टि्रपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ना६ख ८१६४ र ना७ख ५०७४ नम्वरको ट्रिपरलाई नियन्त्रणमा लिइएको डीएसपी रिजालले बताए ।

नियन्त्रणमा लिइएका ट्रिपरहरुलाई कारवाहीका लागि जिल्ला समन्वय समिति पठाइएको उनले जानकारी दिए ।

त्यस्तै केही दिन अघि अवैध रुपमा वालुवा उत्खनन गरेको बा१ख ८०८१ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिएर कारवाही स्वरुप ४० हजार जरिवाना लिइएको डीएसपी रिजालको भनाइ छ ।

पछिल्लो समय जिल्लामा अवैध रुपमा वालुवा उत्खनन र निकासी बढेको गुनासो चौतर्फी बढेपछि प्रहरीले सर्तकता बढाएको हो ।

नियम विपरीत नदीजन्य पदार्थ उत्खनन र निकासी गर्ने जो कोहीलाई पनि कारवाही गरिने डीएसपी रिजालले चेतावनी दिए ।

अवैध वालुवा उत्खनन र निकासी गर्नेलाई जरिवाना शुल्क बढाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘यस अघि पाँच सय देखि हजार रुपैयाँ जरिवाना लिने गरेकाले अवैध उत्खनन र निकासी रोेकिएन, अहिले जरिवाना शुल्क पनि बढाएर कम्तिमा २० हजार पुर्‍याएका छौ,’ उनले भने ।

जरिवाना शुल्क बढेसँगै अवैध उत्खनन र निकासी नियन्त्रण हुने अपेक्षा गरिएको प्रजिअ बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment