Comments Add Comment

कथाः किम्ची सामसुङ


झन्डै एक घन्टा लगाएर पाटन म्युजियम अवलोकन गरिसकेपछि छेउको ऐतिहासिक ढुँगेधारा मजाले देखिने गरी डिलैमा पलेटी मारेर बस्यौं ।

‘यो पानी हिमालयबाट आउँछ भन्ने विश्वास छ । एन्सियन्ट इन्जिनियरिङले त्यो सम्भव भएको हो’, मैले ढुँगेधाराको पानी देखाउँदै भनें ।

‘इतिहास पल्टाउने हो भने तिमीहरु प्रविधीमा निकै धनी रहेछौ । तर, खासमा एन्सियन्ट इन्जिनियरिङ भनेको चाहिँ के हो ?’, उसले सोध्यो ।

‘मलाई थाहा छैन । तिमीलाई थाहा नै होला, गाइड मिन्स् ज्याक अफ अल एन्ड मास्टर अफ नन्’, मैले थपें ।

‘छोटो अवधिमा तीव्र विकास गरेर एउटा उदाहरणीय विकसित देशको रुपमा प्रख्यात साउथ कोरियाबाट आएको तिमीलाई बरु म तिम्रो देशको विकासको खास इन्जिनियरिङ के हो भनेर सोधौं ?’, मैले सोधें ।

‘हाम्रो देशको विकासको कुनै विशेष इन्जिनियरिङ छैन । तर, केही चीजहरु छन्, जसले देशलाई हामीले विकसित देश बनाउन सक्यौं । त्यसको जग भनेको हार्ड वर्क हो । सामान्यतया अहिले पनि हामी दिनमा पन्ध्र घन्टा काम गछौं । अर्को भनेको शिक्षा हो । अभिभावकहरु त्यति शिक्षित छैनन् । तर, नयाँ पुस्ताका लगभग सबैसँग विश्वविद्यालयको अनुभव छ । अर्को महत्वपूर्ण के हो भने, हामीकहाँ एकसाथ सुशासन र विकासको उद्धेश्य बोकेको सरकार छ’, उसले फरर भन्यो ।

‘सन् १९५० देखि १९५३ सम्म हामी नर्थ कोरियासँगको युद्धमा थियौं । युद्ध सकिँदा हामीसँग विनाशबाहेक केही बाँकी थिएन । हामी ध्वस्त थियौं । त्यसअघि इतिहासको एउटा लामो कालखण्ड जापानसँग हाम्रो युद्ध भएको थियो । त्यो युद्धको कालो कथा निकै कहालीलाग्दो छ’, राजधानी सियोलनिवासी ड्यु इन भन्दै थियो ।

उसका कुराहरुमा म निकै इच्छुक भइरहेको थिएँ ।

‘देशका कुरा गर्‍यौ । अब आफ्नैबारे भन’, मैले भनें ।

‘म कम्पनीको इम्प्लोई हुँ । सामसुङ कम्पनीमा काम गर्छु । अहिले म जागिरे जीवनको अन्तिम अवधिमा आइपुगेको छु’, उसले शिष्टता मिसाएर भन्यो ।

जब उसले सामसुङ कम्पनीको कुरा गर्‍यो, कलेज पढ्दाताका मैले पहिलो पटक प्रयोग गरेको मोबाइल सम्झें । त्यो मोबाइल मैले निकै बर्ष चलाएँ । पुरानो भयो तर त्यसले उस्तै काम गरिरहेको थियो । तैपनि एक दिन म आइफोनतिर हाम्फालें । आइफोन सुरु गरेपछि त्यो आफै एउटा लत जस्तो भयो ।

सामसुङ छोडे पनि फेरि म पाटनमा सामसुङसँग जोडिएँ । सामसुङ कम्पनीको एउटा कर्मचारीसँग जोडिएँ । पछिल्लो तथ्यांक अनुसार असी कम्पनीहरुसहित तीन लाख सत्तरी हजार मानिस त्यो कम्पनीमा प्रत्यक्ष काम गर्छन् । ऊ त्यसैमध्येको एक थियो । तर, सन् १९३८ मा त्यो एउटा सामान्य ट्रेडिङ कम्पनीको रुपमा चालिसजना कामदारहरुसहित सुरु भएको थियो, जसले स्थानीय स्तरमा उत्पादित अनाजको प्रयोग गरेर चाउचाउ उत्पादन गथ्र्यो ।

मल्टिनेसनल कम्पनी सामसुङको रोचक कथा सफलताको कथा मात्र होइन । तर, त्यो पहिलो दिनदेखि नै आकाश छुन हिंडेको थियो । कम्पनी मालिकले सुरुमै एउटा ठूलो उद्धेश्यसहित कम्पनीको नामाकरण गरेको थियो, जसले कम्पनीको महत्वाकाँक्षा उजागर गरोस् । कोरियन भाषामा ‘साम’ भनेको तीन हो र ‘सुङ’ भनेको तारा । कोरियामा सामसुङ शब्दको संयुक्त साँस्कृतिक अर्थ पनि रहेछ ‘ठुलो, असंख्य र शक्तिशाली ।’ मोबाइल दुनियाँको एउटा शासक सामसुङ इलोक्ट्रोनिक्स संसारमा त बादशाह नै मानिन्छ ।

उसले सामसुङलाई आफ्नै किसिमले सम्झ्यो, ‘सुरुमा जापनिज कम्पनीसँग हाम्रो कन्ट्रयाक्टको कुरा भएको थियो । तर, उनीहरुले हामीलाई विश्वास गरेनन् । अहिले उनीहरुलाई त्यो गल्तीको अनुभुति भइरहेको होला ।’

‘मैले तीस बर्षअघि सामसुङ यात्रा सुरु गरेको हुँ । म प्रशासनिक विभागमा छु । त्यसकै सिलसिलामा म इन्डिया तीन पटक आइसकें तर नेपाल भने पहिलो पटक । त्यो पनि अफिसियल्ली होइन । किनभने, नेपाल हाम्रो लागि ठूलो बजार होइन’, त्यति भनेर हामीकहाँ पनि सामसुङको बजार ठुलै छ भन्ने ठानेको मलाई उसले सिल्ली बनाइदियो ।

‘जब मैले सामसुङमा मेरो करिअर सुरु गरें, जापनिज सोनी, पानासोनिक, तोसिबा र युरोपियन फिलिप्स् आदिको वाहवाही थियो’, ऊ विगत सम्झँदै थियो, त्यति बेलासम्म हामीसँग इन्डस्टि्रयल ग्राउन्ड -औद्योगिक धरातल) थिएन । हामीसँग फ्यान (पंखा) र रेडियो बनाउने सामान्य क्षमता पनि थिएन । यात्रा हामीले साँच्चै शुन्यबाट सुरु गरेका हौं ।’

त्यति भन्दाभन्दै के सोच्यो कुन्नि ? भन्यो, ‘आज हामी विकसित छौं । हामी सम्पन्न छौं तर भौतिक विकास र पैसा मात्र पनि साँच्चैको विकास होइन ।’

ऊ अझ भावुक हुँदै थियो ।

‘जब म जवान थिएँ, त्यो निकै कठिन समय थियो । मसँग पैसा हुन्थेन । मैले पैसा कमाउन काम गर्नु पथ्र्यो । पैसाका लागि बिदाका दिनहरु पनि म काम गर्थें’, त्यति भनेर केही सम्झन खोजे झै गर्‍यो ।
‘एकजना पूर्व राष्ट्रपति विद्यार्थी छँदा रात्री स्कुलमा पढ्थे’, उसले भन्यो ।

उसले पूर्व राष्ट्रपतिको प्रसंग सम्झेपछि मैले साउथ कोरियाका नयाँ राष्ट्रपति नेपालली ट्रेकिङको सौखिन रहेको सम्झें र उसलाई भनें पनि, ‘१० मार्च २०१७ मा राष्ट्रपति भएका मुन जेइन नेपाल पटक-पटक आएर नेपाली पहाडहरु चढेका थिए ।’

‘अहिलेका राष्ट्रपति जब विद्यार्थी थिए, उनी जेलमा परेका थिए । लामो अवधिसम्म विरोध प्रदर्शन गरेकोले उनलाई सजायँस्वरुप जेल हालिएको थियो । हामीकहाँ मल्टी-पार्टी सिस्टम छ । चारवटा मुख्य पार्टीहरु छन् । डेमोक्रेटिक पार्टी सरकारमा छ र अरु तीन मेजर अपोजिसन पार्टीहरु हुन् । हामीलेे भौतिक र आध्यात्मिक यथार्थ -पक्ष)लाई सन्तुलनमा राख्न सक्नुपर्छ । तर, त्यो सजिलो छैन । नयाँ राष्ट्रपति त्यसका लागि प्रयास गर्दैछन्’, देशको राजनीतिबारे त्यति भनेर ऊ पुरानै लयमा फर्कियो, ‘अहिले हामीकहाँ रात्री स्कुल छैनन् । तर, तीस बर्षअघि प्रशस्त रात्री स्कुलहरु थिए । संघर्षका साथी थिए ती स्कुलहरु ।’

‘अहिले पनि व्यस्तता कोरियाकोे जीवनशैली हो । तर, हामीले हाम्रो संस्कृति बिर्सेका छैनौं । नयाँ पुस्ताको बानी बदलिएको छ । स्मार्ट फोन अधिकाँशको हातहातमा छ । तर, हामी सभ्यतालाई बिगार्न होइन, थप समुन्नत बनाउन चाहन्छौं’, दार्शनिक झैं बोलिरहेको ऊ आफ्नै विगतमा फर्कियो, ‘मैले धेरै पढिनँ । काम गर्दै एकाउन्टिङ र मेनेजमेन्टमा सामान्य डिप्लोमा मात्र गरें ।’

एकाएक उसले परिवार र पछिल्लो परिवेश सम्झियाे, ‘बाबा बित्नु भयो । गाउँमा आमा एक्लै बस्नु हुन्छ । उहाँ आफ्नो समय, स्थान र संस्कार छोड्न चाहनु हुन्न । एक श्रीमती र तीन छोरीहरुसहित म सियोलमा बस्छु । छोरीहरु विश्वविद्यालय जान्छन् । जेठी मनोविज्ञान पढ्छे । साईंली र कान्छी मेडिसिनका विद्यार्थी हुन् । तर, उनीहरुको विश्वविद्यालयीय जीवन म विद्यार्थी छँदाको जस्तो छैन । मैले जति पढें, काम गर्दै पढें । उनीहरुलाई पढे मात्र पुग्छ । उनीहरु काम गर्दैनन् । यद्यपि अहिले पनि विद्यार्थीको कुल संख्यामध्ये आधाले पैसाका लागि पढाइका साथसाथै काम पनि गर्छन् । अध्ययनका लागि कतिले सरकारसँग उधारो पनि लिन्छन् । तर, स्नातक गरेपछि उनीहरुले केही समयमा त्यो रकम सरकारलाई बुझाउनु पर्छ ।’

छोरीहरुको कुरा उसैले उप्काएपछि मैले एउटा बाबुलाई उसका छोरीहरुका ब्वाइफ्रेन्डहरूबारे प्रश्न उप्काइदिएँ ‘डिड दे ह्याभ ब्वाइफ्रेन्ड ?’

सुरुमा ऊ मलाई हेरेर गहिरो खालको हल्का हाँस्यो । र, भन्यो, ‘मलाई थाहा छैन ।’

एक छिनपछि फेरि केही सोचेर उसले भन्यो, ‘आइ थिंक, नो ।’

त्यसपछि उसले झोलाबाट केही खानेकुरा निकालेर एउटा मलाई दियो र अर्को उसले आफ्नो हातमा राख्यो । हेर्दा जेरीजस्तो देखिने त्यो खानेकुरा हातमा लिँदै मैले सोधें, ‘मीठाई हो ?’

‘आधा मीठाई र आधा बिस्कुट हो’, उसले भन्यो ।

‘भोकले मीठो लागेको हो वा त्यो साँच्चिकै मीठो हो ?’, बिहानैदेखि केही नखाएको म त्यस्तो सोच्दै त्यो कोरियन जेरी खाइरहेको थिएँ ।

केही दिनअगाडि केही कोरियन साथीहरुसहित नेपाल आएको ऊ काठमान्डुबाट सिधै पोखरा उडेको रहेछ । पश्चिम नेपालका थुपै्र गाउँ र ठाउँहरु हुँदै सराङकोटमा केही दिन बिताएर एक रात र एक दिन मात्र काठमान्डुमा रहने गरी फर्केको ऊ बुद्ध दर्शनमा गफिन निकै गहिरोसित उत्साहित देखिन्थ्यो । तर, बुद्धिस्ट थान्का किन्नेबारे भने रुचि नभएको उसले बतायो । त्यसलाई प्रकट गर्ने उसको आफ्नै तरिकाको भाषा थियो, ‘आई एम चर्ची ।’

आफ्नो देशमा बुद्धिस्ट र क्रिश्चियन बराबरीकै संख्यामा रहेको बताउँदै पश्चिम नेपालका थुपै्र चर्चहरु पुगेर सहयोग गरेको स्मृति सुनाउँदा ऊ निकै खुशी देखिन्थ्यो । कोरियन अनुहारका मानिसलाई सामान्यतया नेपालमा बुद्धिस्ट नै होलान् भनेर अनुमान गर्ने गरिन्छ र त्यसमा पहिले म पनि पर्थें । तर, पछिल्लो दशक कोरियामा क्रिश्चियानिटीले कमालै गरिहेको छ ।

‘प्रारम्भदेखि नै ऊ क्रिश्चियन थियो कि बुद्धिस्ट ?’, सोध्छु भन्दाभन्दै त्यसबारे प्रश्न गर्न बिर्सेछु । तर, म सधैं सम्झनेछु, स्टि्रट हकरहरु कोरियन ड्यु इनलाई चाइनीज भन्ठानिरहेका थिए । र, चाइनीज भाषामा ‘नी हाउ’ भन्दै अनेक
खुद्रामसिना सामान बेच्न पछ्यारहेका थिए ।

साँझ एयरपोर्टको भित्री गेट छिर्नुअघि उसले मलाई सम्झनाको लागि एउटा फोटो खिचौं भनेर सोध्यो । मैले हुन्छ भनें ।

खिच्नुअघि उसले ‘किम्ची’ भन्यो । मैले पनि ‘किम्ची’ भनें । कोरियालीहरु ‘चीज’को सट्टा ‘किम्ची’ भन्दारहेछन् । ‘किम्ची’ भन्दा हाँसेको जस्तो देखिएर फोटो राम्रो आउँछ रे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment