Comments Add Comment

पोखराका सवारीः ९ नम्बरे ढ्वाङदेखि एसयूभीसम्म

मुलुककै दोस्रो अटो बजार बन्दै पर्यटकीय नगर


२८ माघ, पोखरा । देशका धेरै पहाडी भूभाग यस्ता छन्, जहाँ चारपांग्रे सवारी साधनभन्दा हवाईजहाज पहिले पुगे । पोखराको कथा पनि यस्तै छ, पहिले जहाज अनि मात्र गाडी ।

२००८ सालमै पोखरा विमानस्थलमा जहाज बसिसकेको थियो । त्यसको चार वर्षपछि ०१२ सालमा मात्र गाडी भित्रियो । नेपाली सेनाको महेन्द्र दल गणले पहिलो जिप भित्र्याएको थियो, पोखरामा । त्यसलाई स्थानीय बासिन्दाले नाम दिएका थिए, नौ नम्बरे ढ्वाङ ।

व्यवसायी गणेशबहादुर श्रेष्ठको भनाइमा अहिले पनि पाका मानिसलाई पहिलो गाडीबारे सोध्यो भने उक्त जिप ओठैमा झुण्डिएको छ ।

मोटरसाइकल भने त्यसको पाँच वर्षपछि मात्र यहाँ गुड्न थालेको हो । चैतन्यजंग राणाले ०१७ सालमा ल्याएको मोटरसाइकल नै यहाँका लागि पहिलो थियो ।

पहिलो पटक निजी गाडी कसले चढ्यो ? यसमा भने फरक धारणा छन्, पोखरेलीका । व्यवसायी अमृतकुमार शेरचन र सुशील गोशलीको नाममा विवाद छ । आफूले पहिलो पटक ०२२ सालतिर निजी गाडी भित्र्याएको गोशलीको दाबी छ ।

‘ऊ बेला गाडी ल्याउँदा ठाउँ-ठाउँमा बोक्नु परेको थियो,’ उनी सम्झिन्छन् । उनैले ०३४ सालमा भित्र्याएका थिए, १८० नम्बरको एम्बासेडर गाडी । त्यतिबेला उक्त गाडी नौ हजार रुपैयाँमा खरिद गरेको उनी बताउँछन् ।

‘पोखराको विकास सम्झिँदा रोमाञ्चित हुन्छु’ डा. गणेश गुरुङ भन्छन्, ‘पहिले हवाइजहाज आयो, त्यसपछि जिप, गोरुगाडा र मोटरसाइकल हुँदै अहिले ब्रान्डेड गाडी ।’

पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोनको सम्झनामा शुरुवाती दिनमा पोखरामा गाडी आउँदा हेर्नेको भीड लाग्थ्यो ।

२० वर्षे व्यावसायिक यात्रा 

चारपांग्रेको सोरुम खुलेकोचाहीं कति भयो होला ? अहिलेको सवारी साधनको चाप हेरेर ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ । यहाँका पारखीले घरेलु बजारमै चारपांग्रे किन्ने अवसर पाएको २० वर्ष मात्रै भयो । पोखरामा ०५२/५३ तिर मात्रै चारपांग्रेको सोरुम खुलेको हो ।

‘२० वर्षमा गण्डकी, धौलागिरिमा अटो बजारले छलाङ मारेको छ,’ सुजुकी गाडीको आधिकारिक बिक्रेता बनेर पहिलोपटक पोखरामा चारपांग्रेको व्यापार थालेको बतास अर्गनाइजेसनका शान्तराज बतास भन्छन्, ‘पोखरा अटो बजारको हब बन्न सक्छ भन्ने त लागेको थियो तर यति उकालो लाग्छ भन्ने अनुमान थिएन ।’

पहिले हवाई जहाज, त्यसपछि बयलगाडा अनि मात्र निजी सवारी साधन, अन्य पहाडी बजारकै विकासक्रममा पोखरा पनि

मोटरसाइकल सोरुम भने त्यसअघि नै पोखरामा थियो । अहिले ५० भन्दा बढी ब्रान्डका गाडी र मोटरसाइकल बिक्री गर्ने आधिकारिक बिक्रेता पोखरामा छन् । अहिलेको पोखरा मुलुककै दोस्रो अटो बजार हो । काठमाडौंपछि सबैभन्दा बढी अटो व्यापार गर्ने शहरको पहिचान स्थापित भएको छ, पोखराको ।

फैलँदो सडक सञ्जालले अटो क्षेत्रको ‘ट्रयाक’ खोलिदिएपछि विश्वप्रसिद्ध कम्पनीका ब्रान्डेड गाडी घरेलु बजारमै उपलब्ध हुन थालेका छन् । पोखराबाटै गण्डकी र धौलागिरिका लागि गाडीका आधिकारिक सोरुम खुलेसँगै अटो क्षेत्रले बजार हिस्सा बढाउँदै लगेको छ । अहिले यस क्षेत्रका दुर्गम गाउँमा समेत सरर गाडीमै पुग्न सकिन्छ ।

दशकअघि मात्र हजारमा गन्न सकिने सवारी साधन थिए, पोखरामा । अहिले यातायात व्यवस्था कार्यालय, गण्डकीमा दुई लाख सवारी साधन दर्ता छन् ।

‘आम्दानी गर्न अत्यावश्यक साधन’

वाषिर्क १५ हजारभन्दा बढी सवारी साधन यस क्षेत्रमा भित्रिने गरेका छन् । चारपांग्रे गाडी सोरुम, पार्टपूर्जाका पसल र सर्भिस सेन्टरसमेत गरी पोखरामा मात्र पाँच सय हाराहारीमा छन् भने करिब दुई सय त संगठित रुपमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनमा आवद्ध छन् ।

हुन्डाई, टाटा, सुजुकी, मारुती, टोयोटा, होन्डा, मित्सुबिसी, फोर्ड, आयसर, ड्याट्सन, महिन्द्रा, कियालगायत विश्वका चर्चित ब्रान्डले यहाँको बजार र उपभोक्ताको माग पूरा गरेका छन् ।

यस्तै, ख्यातिप्राप्त मोटसाइकल पनि पोखरा र आसपासका जिल्लामा शहरदेखि गाउँसम्म दौडाइने गरेको छ ।

विलासिताको साधन मानिँदै आएको कारमा मध्यमवर्गीयले समेत चासो बढाएका छन् । र, कारले आवश्यकताको साधनका रुपमा पहिचान बनाउन थालेको छ ।

टाटा गाडीको गण्डकी-धौलागिरि डिलर दीपलक्ष्मी इन्टरनेसनलका राजेन्द्रकुमार बाटाजु भन्छन्, ‘गाडी मध्यम तथा उच्चवर्गीय व्यक्तिको आधारभूत आवश्यकता बनिसक्यो । पैसा कमाएर गाडी किन्ने होइन, कमाउनका लागि गाडी किन्नुपर्छ भन्ने सोचको विकास भएको छ ।’

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठ भन्छन्, ‘जुन-जुन देशले सडक निर्माणलाई उच्च गतिमा बढाए, आज तिनै विकसित बनेका छन् । मानव विकास सूचकांकमा पनि उच्च स्थानमा रहन सफल भएका छन् ।’

सडक सञ्जाल विस्तारमा ढिलाइ र सवारी साधन समयमै नेपाल नछिर्दा हाम्रो मुलुक पछाडि परेको उनको भनाइ छ ।

सडक विस्तारसँगै नेपालमा चारपांग्रे सवारीको बजार पनि निकै फराकिलो भएको श्रेष्ठ बताउँछन् । भारत र तेस्रो मुलुकमा उत्पादित आधुनिक गाडीको बजार बनेको छ, नेपाल ।

जसरी बजारमा गाडीका नयाँ-नयाँ मोडेल भित्रिएका छन्, त्यसरी नै पारखीको माग र रोजाइ फेरिँदै गएको छ । नयाँ मोडेलका कार खरिदकर्ता दिनहुँ बढ्दै गएको आयसरको बिक्रेता अटोवेज प्रालिका नारायणप्रसाद पौडेल बताउँछन् ।

फैलिँदै स्थानीय बजार

पोखराको नयाँ बजार अटो क्षेत्रका रुपमा चिनिँदै आएको छ । अहिले विस्तारित भएर बुद्धचोक, नागढुंगालगायत अन्य क्षेत्रले त्यस्तै परिचय बनाउन थालेका छन् ।

भूकम्प र नाकाबन्दीले केही समय बुकिङ रद्द गर्नुपरेको थियो । अहिले पुरानै लय समातेर उकालो लागिरहेको फोर्ड गाडीको आधिकृत बिक्रेता अटोभेन्चर प्रालिका सञ्चालक धु्रव थापा बताउँछन् ।

१२ लाखदेखि दुई करोड रुपैयाँसम्मका सुविधाजनक गाडी पोखरा बजारमै आइसकेका छन् । हरेक वर्ष अटो व्यवसाय करिब २० प्रतिशतले बढिरहेको छ ।

गाडी बिक्रेता कम्पनीले विभिन्न पर्व, उत्सव र महोत्सवमा ल्याउने योजनाले यो व्यवसायलाई थप विस्तार गरेको पश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसनका मोहनबाबु खड्का बताउँछन् । निजी गाडीजस्तै सार्वजनिक सवारी साधनको कारोबारले पनि अटो बजारलाई चलायमान गराएको छ ।

पोखराका पारखीले २०देखि ४० लाखसम्मका निजी गाडी चढ्छन् । पछिल्ला वर्षहरुमा नेपालमा कम्प्याक्ट एसयुभी (स्पोर्ट युटिलिटी भेहिकल) को व्यापार बढ्दो क्रममा रहेको बाटाजु बताउँछन् । ग्राहकको आकर्षण बढेसँगै विभिन्न कार निर्माता तथा वितरक कम्पनीले नेपाली बजारलाई केन्द्रित गरेर कम्प्याक्ट एसयूभी भित्र्याइरहेका छन् । प्रिमियम एसयूभीका ग्राहक पनि विस्तारै बढ्दैछन् ।

गण्डकी, धौलागिरिको सडकको अवस्थाका कारण सेडान र ह्याचब्याक गाडी छाड्न चाहनेको पहिलो रोजाइ कम्प्याक्ट एसयूभी नै हुने गरेको छ ।

अन र अफरोड दुवैका लागि निकै उपयुक्त मानिने एसयूभीमा बढ्दो आकर्षणले अटो बजारलाई नयाँ दिशा दिन खोजेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment