Comments Add Comment

रञ्जित गजमेरको सम्मानमा पोखरामा विशेष कार्यक्रम हुदै

२९ माघ, पोखरा । प्रसिद्ध संगीतकार तथा गीतकार रञ्जित गजमेरको सम्मानमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ । नेपाली चलचित्र गीतका लिजेन्ड गजमेरको सम्मान तथा अभिनन्दनसँगै फागुन १९ गते पोखरामा उनक गीतहरु घन्किने भएको हो ।

पोखराको कन्दरा ब्यान्ड र पोखरा महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘जसले नेपाली सिने जगतलाई लोकपि्रय तथा कर्णपि्रय गीत दिए । जसले गीतमा नेपाल स्वाद दिए, उनैको सम्मानमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने, ‘नेपालीलाई यति ठूलो उपहार दिने व्यक्तित्वको सम्मानमा किन केही नगर्ने भनेर कार्यक्रम गरेका हौं ।’

सर्जकलाई उसको जीवनकालमै सम्मान गर्ने परम्परा बसाल्न लागेको श्रेष्ठले बताए । ‘हामीले सर्जक मरिसकेपछि उनको सम्झनामा वा स्मृतिमा थुप्रै कार्यक्रम गरेका छौं,’ उनले भने, ‘सर्जकको सम्मान गर्नुपर्छ तर जिउँदो हुँदा नै गर्नुपर्छ भन्ने सन्देश दिन पनि खोजेका हौं ।’

गायक कर्णदास, रामभक्त जोजिजू, कन्दराका विवेक श्रेष्ठ, विनोद बानियाँ, रजनी राई, अजुदा थापा, स्वरुपा आशा र रोबी गौली लगायतले लाइभ कन्सर्टमा उनकै गीत गाउने छन् । सोही दिन पोखराका वाङमयिक संस्थाले गजमेरलाई अभिनन्दन गर्नेछन् ।

‘नेपाली चलचित्रका मौलिक गीत भन्नेबित्तिकै गजमेरको नाम आउँछ । उनले एकसे एक मौलिक गीतमात्रै नेपालीलाई दिएका छैनन् नेपाल र भारत सांगीतिक पुल पनि बनेका छन्,’ कवि तथा गीतकार तीर्थ श्रेष्ठले भने, ‘हाम्रा गीतहरु भारतीयबाट प्रभावित छन् भन्ने गरिन्छ तर नेपालीबाट पनि भारतीय प्रभावित छन् भन्ने एक उदाहरण हुन् रञ्जित गजमेर ।’

नेपाली मादलको आवाजलाई बलिउडमा छिराउने र भारती संगीतकर्मीले समेत श्रद्धाले रञ्जितको नाम लिने कति तीर्थले बताए ।

सोही दिन विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुसुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा ‘रञ्जित गजमेरको कृति’ एल्बम विमोचन हुने आयोजकले जानकारी दिएको छ ।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्र संगीतमा प्र्रवेश गरेका गजमेरले सयौं गीतमा संगीत र केही गीतमा आवाज दिएका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता गीतमा उनी एकछत्र छाए ।

१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बईमा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए र उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् ।

सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment