Comments Add Comment

मर्मतका लागि मध्यमर्स्याङ्दी आयोजना १० दिन बन्द हुने


६ फागुन, काठमाडौं । ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको बायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको हो ।

मध्यमर्स्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीँ कतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे ।

उनले भने ,’यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’

उनकाअनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भागमापानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेको छ । थपक्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

‘गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडीसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’,उनले भनेे,’यस वर्ष पनि गरिएन भने थप क्षतिपुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्ने गरी एलडीसीबाट सट डाउन पाएका छौं ।’ गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment