Comments Add Comment

मेलम्चीको काठमाडौं आगमन अनिश्चित बन्दै


२० फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कामदारले काम रोकेपछि थप अन्योल सिर्जना भएको छ । तीन महिनाबाट तलब नपाएको भन्दै कामदारले काम रोकेपछि असार मसान्तसम्म काठमाडौंमा पानी झार्ने योजना अझै पछि धकेलिने सम्भावना बढेको छ ।

यसले काठमाडौंमा मेलम्चीको पानी कहिले झर्छ भन्ने विषय अनिश्चित बन्ने अवस्था आएको छ ।

कामदारले सञ्चय कोषको रकम पनि नपाएको भन्दै काम बन्द गरेका छन् । मेलम्चीको अझै १९० मिटर सुरुङ खन्न बाँकी छ । सिन्धु-ग्यालथुङ खण्डमा सुरुङको ब्रेक-थ्रु हुन बाँकी छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटा यो खण्ड ब्रेक-थ्रु हुन अब एक महिना लाग्ने बताउँछन् ।

अहिले मेलम्चीको सुरुङमा ढलानसहित फिनिसिङ (लाइनिङ)को काम भइरहेको छ । तर, यसको गति निकै सुस्त छ । साढे २७ किलोमिटरमध्ये अहिलेसम्म ३ किलोमिटर मात्रै सुरुङ फिनिसिङ भएको छ । अडिट टनेलहरु थुल्ले काम पनि बाँकी नै छ ।

आयोजनाका प्रमुख देवकोटाकाअनुसार आइतबार नै कामदार काममा फर्किने दावी गर्छन् । ‘हामीले ठेकेदारलाई स्पष्ट निर्देशन दिएका छौं । वातावरण बनाएर कामदार बेलुकीसम्म काममा फर्किन्छन्,’ देवकोटा भन्छन्,’ आयोजनामा प्रभाव पर्ने गरी ढिलाइ हुन दिदैँनौं ।’

अहिले मेलम्ची आयोजनाका विभिन्न फिल्डमा कार्यरत ६ सयभन्दाच बढी कामदार आन्दोलित छन् । ठेकेदार कम्पनीले पटक-पटक पारिश्रमिक दिने प्रतिवद्धता दिएर पनि पुरा नगरेको भन्दै उनीहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । मेलम्चीले अहिले बाँधस्थल निर्माणको पनि काम थालेको छ ।

यही अवस्थामा काम रोकिएपछि मेलम्चीको पानी काठमाडौं आउने निर्धारित मितिमा अर्कोपटक पनि धक्का लाग्ने अवस्था बनेको छ । आयोजना भने यो समस्या समधान भइहाल्ने भन्दै काम नरोकियोस् र तीव्र गतिमा होस् भन्नेमा आफूहरु गम्भिर रहेको बताउँछ ।

सरकारको कुरा पत्याउने हो भने ०७५ असार पहिलो सातासम्ममा मेलम्चीको पानी उपभोक्ताको धारामा खस्नेछ । अहिलेसम्म चैतसम्मै मेलम्ची आउने भनिएपनि नयाँ वर्षको भाका सार्न आयोजनाले प्रस्तााव गरिसकेको छ ।

सुरुङमार्ग निर्माण र फिनिसिङ तीव्र रुपमा हुन नसकेको तथा प्राविधिक तयारी नपुगेको विषयलाई सरकारले यसपटक नयाँ ‘डेडलाइन’ तोक्ने बहाना बनाएको छ ।


त्यसबारे मेलम्ची खानेपानी आयोजनाले ऋणदाता एसियाली विकास बैंक (एडीबी)लाई पनि जानकारी गराइसकेको छ ।

उक्त खण्डमा नरम चट्टान रहेकाले लक्ष्यअनुसार सुरुङ निर्माण हुन नसकेको आयोजनाको दावी छ । ब्रेकथ्रु भइसकेका सुरुङ खण्डमा फिनिसिङको काम भइरहेको छ । ‘लाइनिङ’ भनिने उक्त कामअन्तर्गत् सुरुङभरि सिमेन्टेड ढलान गर्नुपर्छ ।
सिमेन्ट अभाव देखाउँदै दैनिक अढाइ सय मिटर फिनिसिङ गर्ने लक्ष्य पनि पूरा हुन सकेको छैन ।

यो अवस्थामा मेलम्चीका सबै काम सकेर जेठ दोस्रो सातासम्म काठमाडौंको सुन्दरीजलमा पानी खसालिसक्ने नयाँ कार्यतालिका बनाइएको छ । जेठ अन्तिम साताबाट पानीको वितरण थाल्ने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत् परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता लीलाप्रसाद ढकाल बताउँछन् ।

तर, मेलम्चीको सुरुङ र बाँधसस्थलमै कामदारले काम रोक्ने लगायतका समस्याले यो डेडलाइनमा पनि असर पर्न सक्ने मेलम्चीकै अधिकारी स्वीर्काछन् ।

अहिले मेलम्चीको हेडर्वक्समा पनि निर्माण चलिरहेको छ । अम्बाथानभन्दा केही माथि मेलम्चीको पानी थुनेर सुरुङमा हाल्ने योजना छ ।

पाँच मिटरभन्दा अग्लो बाँध बाँधेर मात्रै मेलम्चीलाई सुरुङमा हाल्न मिल्छ । बाँध निर्माणको काम तीव्र रुपमा भएको छैन ।
हेडर्वक्समै दुई वटा सुरुङ जोड्न ६० मिटर पाइपको अस्थायी संरचना निर्माण गर्न पनि बाँकी छ । हालसम्म भारतबाट पाइप आइपुगेकै छैन ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । पहिलोपटक पानी हालेको करिब ७२ घण्टामा सुरुङ भरिने अनुमान छ ।

यस्तै, सुन्दरीजलको पानी प्रशोधन केन्द्र भरिन ४८ घण्टा लाग्नेछ । त्यसपछि थप ४८ घण्टा थोक वितरण सञ्जालको सफाइमा लाग्ने छ । मेलम्चीबाट सुरुङमा पानी हालेको एक सातापछि उपभोक्ताको धारामा खसाउन सकिने ढकाल बताउँछन् ।

हाल काम भइरहेको सात सय ५० किलोमिटरमध्ये ६ सय ५० किमिभन्दा बढी पाइप बिछ्याइसकिएको छ । धुम्बाराहीदेखि कलंकीसम्मको चक्रपथ आसपास तीन सय किमि पाइप बिछ्याउन बाँकी छ ।


एडीबीले पाइपलाइन सञ्जालको सुदृढीकरण, ढल प्रणालीको आधुनिकीकरण तथा पानी ट्यांकी निर्माणका लागि ८४ अर्ब रुपैयाँ ऋण दिएको छ ।

विभिन्न स्थानमा सात करोड ४५ लाख लिटर पानी अटाउने ट्यांकीहरु पनि निर्माणाधीन छन् । आठ वटा ट्यांकीको निर्माण अन्तिम चरणमा छ । भक्तपुरको कटुञ्जेमा भने भर्खरै निर्माण शुरु भएको छ ।

सुन्दरीजलमा आठ करोड लिटरको पानी प्रशोधन केन्द्र बनाएर परीक्षण सकिएको छ । थप आठ करोड लिटरको प्रशोधन केन्ऽको परीक्षण पनि केही समयमै गरिने निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment