Comments Add Comment

नयाँ नियम लगाएपछि साउदीसहित तीन देश नेपाली कामदारको मेडिकल ‘अवरुद्ध’


१८ फागुन, काठमाडौं । क्रेडिट वा मास्टर कार्डबाट डलर भुक्तानी गर्नु पर्ने भएपछि साउदी अरब, ओमन र बहराइन जान कामदारले मेडिकल गर्नै छाडेका छन् ।

अहिले केही व्यक्तिगत रुपमा श्रम स्वीकृत लिएकाहरुले मात्रै मेडिकल गराइरहेका छन् । यसअघि मेडिकल गरिरहेकाहरु विदेश गइरहे पनि केही दिनमै कामदार जान ठप्प हुने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यसअघि गाम्काको कार्यालयबाट अनुमतिपत्र (स्लिप) लिएर तोकिएका मेडिकल सेन्टरमा ५५ सय रुपैयाँ तिरेपछि विदेश जान चाहनेहरुको मेडिकल हुन्थ्यो ।

तर, गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले १७ फागुनबाट गाम्का नेपाल बन्द गरेर अनलाइनमा आवेदन भर्नु पर्ने र क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ ।

सर्वसाधारण कामदारसँग डलरमा भुक्तानी गर्ने क्रेडिट कार्ड छैन भने अनलाइनमा रजिस्ट्रेसन गर्न पनि झन्झट छ । यसमा म्यानपावरले पनि सहजीकरण गरिरहेका छैनन् । जसका कारण नयाँ मेडिकल गर्नेहरु निकै घटेका छन् ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले तोकेका मेडिकल सेन्टरहरुमा अहिले दैनिक रुपमा मेडिकल गर्नेको संख्यामा ९० प्रतिशतसम्म गिरावट आएको छ ।

म्यानपावर व्यवसायी पनि यो निर्णयविरुद्ध उभिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ मेडिकलमा लागि अवैधानिक रुपमा थप शूल्क उठाउन कामदारको पहुँचमै नभएको क्रेडिट कार्डको प्रावधान ल्याइएको बताए ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले भने यसबारे कुनै जानकारी नआएको बताएका छन् ।

जीसीसीले गाम्का नेपालमार्फत रजिस्ट्रेशनबापत १० डलर लिने प्रयास गरेको थियो । तर, यहाँ कामदारसँग उठाएको रकम बाहिर लैजान नेपाल राष्ट्र बैंकले अनुमति दिएन ।

सरकारले पनि कामदारमाथि अनावश्यक आर्थिक भार थोपरिएको भन्दै १० डलर लिने निर्णय कार्यान्वयन गर्न दिएको थिएन । त्यसको बदलामा जीसीसीले गाम्का नेपाल नै बन्द गराएर अनलाइन दर्ता र ई-पेमेन्टको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ यो निर्णयले कामदारलाई अनावश्यक आर्थिक भार थपिएको बताउँछन् । गुरुङ भन्छन्, ‘कूटनीतिक पहल गरेर यस्ता अब्यवहारिक निर्णय फिर्ता गराउन पहल गर्न सरकारलाई भनेका छौं ।’

अहिले साउदी, बहराइन र ओमान जाने नेपालीको संख्या ठूलो छ । तर, जीसीसीले लागू गरेको नयाँ नियमले उनीहरुलाई विदेश जाने प्रक्रिया झन्झटिलो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment