Comments Add Comment

खुला दिसामुक्त भएको चार वर्ष भयो, शिकारीबासमा खानेपानी छैन

सिटामोल किन्न १२ किलोमिटरको यात्रा

२८ फागुन, वीरगञ्ज । तराई मधेसको भूभाग समथर छ । आवत जावतमा सहज छ भन्ने लाग्छ । तर, कतिपय ठाँउमा अझैपनि सिटामोल पाउन समेत निकै कष्ट भोग्नुपर्नै अवस्था छ ।

पत्याउन गाह्रो लाग्ने सत्य, पर्साको ठोरी गाउँपालिका-३ शिकारीबासका बासिन्दालाई सिटामोल लिनकै लागि मात्रै पनि १२ किलोमिटर हिड्नुपर्छ ।

सदरमुकाम वीरगञ्ज उपमहानगरपालिकाबाट ६५ किलो मिटर टाढा छ । शिकारीबास वीरगञ्ज ठोरी सडकखण्डबाट पनि ६ किलोमिटर भित्र पर्सा र चितवन राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।

४५ घरधुरी आदिवासी जनजाति थारु समुदायको बसोबास रहेको शिकारीको दुराअवस्थाको बारेमा स्थानीय सरकार बेखबर जस्तै छ । उनीहरुको समस्याको समाधानका लागि कही कतैबाट पहल भएको छैन् ।

गाउँमा खानेपानी धारा नभएको कारण त्यहाँका बासिन्दा खोलाको पानी पिउन बाध्य छन् ।

४० घरधुरी भएको वस्तीमा धारा वा कल नभएकोले शिकारीबास खोलाकै पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् ।

चार वर्षपहिले नेपालका कुनै एक संस्थाले खोलाबाट पाइपलाइन जोडी सिकारीबासमा तीन वटा धारा निर्माण गरेको भएपनि ती धारामा पानी आउँदैन । शिकारीबास खोलाको पानी खाने गरेको स्थानीयहरूको भनाइ छ ।

गाउँ खुला दिसामुक्त भएको चार वर्ष भयो, खानेपानी नै छैन 

साविकको निर्मलबस्ती गाविस-४ अन्तर्गतमा रहेको शिकारीबास टोल खुला दिसामुक्तसमेत घोषणा भएको चार वर्ष हुन लागेको छ । तर, खानेपानीको उचित व्यवस्थातर्फ कसैले ध्यान नदिएको स्थानीय हुलासी महतोले गुनासो गरे ।

गाउँलेहरू अहिले पनि पिउने पानी ल्याउनेदेखि कपडा धुने नुहाउन शिकारीबास खोलाकै प्रयोग गरिरहेका छन् ।

शिकारी बास खोलामा महिलाहरू भाँडाबर्तन माझ्ने, लुगा धुने तथा गाइगोरुलाई पानी ख्वाउने, भैंसीलाई नुहाइदिने समेत गर्दछन् ।

गाउँपालिकामा विभिन्न वडामा खानेपानीको मात्र समस्या होइन, विद्यालय तथा स्थास्थ्य उपचारका लागि समेत समस्या छ ।

थारू, धागड मुसहर तथा दुसाद जातिको बसोबास रहेको सो टोलका जनता स्वच्छ खानेपानीसँगै शिक्षा स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।

‘घर घरमा सिंहदरबार भनिएको छ तर स्थानीय सरकारले के कस्तो सुविधा दिन्छ हामीलाई थहा नै छैन्,’ गाउँका अगुवा दुखा महतोले भने, ‘हामी दिनभरि अरूको खेतमा काम गर्छौ, जीविको पार्जन गर्छौ, बिरामी पर्दा सिटामोल समेत पाउन मुस्किल छ ।’

शिकारीबासका बासिन्दा राज्यबाट प्रदान गर्ने स्वास्थ्य सेवा मात्रै नभएर सबैखाले सेवाबाट वञ्चित छन् । बाटोेको राम्रो सुबिधा छैन् । मोबाइलको नेटवर्कले काम गर्दैन ।

यतिसम्मकी नियमित बालबालिकालाई लगाउनुपर्ने खोप सुविधाहरुबाट समेत गाँउका बालबालिका बञ्चित हुने गरेका छन् ।

शिकारीबास मात्रै होइन ठोरी गाउँपालिकाको अधिकांश भूभागमा सञ्चार, यातायात र खानेपानीको समस्या रहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताए । ‘शिकारीबासको मात्रै नभएरचोक बजार छोडेर ठोरीको अधिकांश क्षेत्रमा यस्ता समस्या छन् । हामी योजनावद्ध ढंगले समस्या समाधानका लागि अघि बढेका छौं,’ उनले भने, ‘शिकारीबासको वस्ती स्थानान्तरणका लागि पनि निकुञ्जसँग छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment