Comments Add Comment

काभ्रेमा एक महिनामा दर्जन बढी स्थानमा आगलागी, नियन्त्रण प्रभावकारी भएन

१ चैत, काभ्रे । सुख्खा मौसम सुरु भएपछि काभ्रेको जंगलमा हरेक वर्ष डढेलो लाग्छ । तर डढेलो कसले लगाउँछ भन्ने पहिचान हुन सक्दैन । अघिल्लो वर्ष महाभारत जंगलमा लगातार ३ दिनसम्म डढेलो लाग्दा झन्डै ५० रोपनीभन्दा बढी जंगल क्षेत्र सखाप भयो ।

जिल्ला वन कार्यालय काभ्रेको तथ्यांकअनुसार महाभारत जंगलको बेथानचोक, फुल्चोकी, च्यासिङखर्कलगायतका स्थानमा हरेक वर्ष आगलागी हुने गरेको छ । त्यसको साथै कोशीपारी र तेमाल भेगका जंगलमा पनि आगलागीले हरेक वर्ष दुःख दिने गरेको छ । ‘हाम्रो महाभारत जंगलमा हरेक वर्ष आगलागी हुन्छ, तर कसले लगायो भन्ने पहिचान गर्न सकिँदैन,’ च्यासिङखर्कका पेम्वा लामाले भने, ‘पानी परेपछि मात्रै रोकिन्छ, अघिल्लो वर्षदेखि सरकारी निकायले पनि आगलागी नियन्त्रणमा लिन थालेको छ ।’

वनभित्र आगलागीपछि चितुवा, बँदेल, खरायोलगायत जंगली जनावर गाउँतिर आउने गरेका छन् । सार्वजनिक जंगलमा मात्रै होइन, व्यक्तिका घर, गोठ र पाखोमा पनि आगलागी बढ्दै गएको छ । अगालागि कै कारण पुसमा पनौती चौकोटमा एक व्यक्तिले ज्यान समेत गुमाए ।

महिना दिनमा दर्जन बढी स्थानमा आगलागी

फागुन १ गते बनेपा ६ बुडोलमा एउटा घरमा आगलागी हुदा घर पूर्णरुपमा नष्ट भयो । फागुन अन्तिम साता भुम्लु गाउँपालिका सापिङमा स्थानीय बुद्ध बस्नेतको घर नजिकै परालको कुनिहुँमा चट्याङ लाग्दा आगलागी भयो । उनका आमा र श्रीमती घाइतेसमेत भए । फागुन २१ गते नमोवुद्धको ढोडरी सामुदायिक वनमा आगलागी हुँदा स्थानीय कृष्ण ढाडरीको घर पूर्णरुपमा जल्यो । आगलागी नियन्त्रणमा लिन जान लागेको दमकलसमेत दुर्घटनामा पर्‍यो ।

नमोवुद्ध गुम्वासम्म आगलागीको जोखिम बढेपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले करिब २ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिए । प्रहरीको तथ्यांक हेर्ने हो भने, जिल्लामा एक महिनाको अवधिमा १३ स्थानमा अगलागी भएका छन् ।

चुस्त छैन तयारी

जिल्लाको धुलिखेल, बनेपा र नमोवुद्ध नगरपालिकामा मात्रै दमकल छ । तर दमकलमा आगलागीका लागि तयारी अवस्थामा कहिले पनि राखिएको पाइँदैन । दमकल मात्रै होइन जिल्ला दैवि प्रकोप उद्धार समितिसँग पनि आगलागी नियन्त्रणका लागि सन्देशमुलक सूचना बजाउने बाहेक कुनै पनि सामाग्री भएको पाइँदैन ।

आगलागि नियन्त्रणका लागि दमकल अलावा पिक, कोदालोको समेत व्यवस्थापन हुन सकेको छैन । स्थानीयस्तरमा कोदालो, स्याउला र पिक नै आगलागी नियन्त्रणको अन्तिम विकल्प हो । दमकल हायर, कन्ट्रोलर, वाटर फाएरिङ जस्ता सामाग्रीको व्यवस्थापन हुने हो भने, जंगली जनावर र जंगलको सुरक्षा हुने जिल्ला वन कार्यालय काभ्रेका प्रमुख प्रेम खनालले बताए ।

स्थानीय तह पनि दैवि प्रकोप नियन्त्रणका लागि काम गर्दै

जिल्ला दैवि प्रकोप उद्धार समिति काभ्रेको बैठक गत सोमबार बसेर स्थानीय तहलाई दैवि प्रकोप नियन्त्रणका लागि तत्काल काम गर्न सुझाव दिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले बताए । ‘जिल्लामा पछिल्लो समय आगलागी बढ्दै गएको छ, अब स्थानीय सरकार पनि त्यसमा सचेत र सजग हुन जरुरी छ,’ उनले भने, ‘हामी स्थानीय तहका जनप्रतिनिधिहरुलाई तत्काल कदम अगाडि बढाउन आग्रह गरेका छौं ।’

आगलागी नियन्त्रणका लागि विभिन्न सचेतनामूलक सन्देश प्रवाह गरिरहेको र दमकल खरिद गर्ने योजना समेत बताएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment