Comments Add Comment

समस्याभित्र सियो बनेर पस्छौं, फाली बनेर निस्कन्छौंः मन्त्री थापा

६ चैत, पोखरा । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार समस्यामा सियो बनेर पस्ने र निस्कदा फाली बनेर निस्कने बताएका छन् ।

प्रेस क्लव पोखराले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समस्याका समाधानका लागि प्रदेश सरकार सिया बनेर पसेर समाधान भएर निस्कदा फाली बनेर निस्कने बताएका हुन् ।

सरकारलाई समस्याका रुपमा देख्नेगरेको बताउँदै उनले त्यस्तो नभई सम्मान र भरोसाका रुपमा सरकारलाई लिन आग्रह गरे ।

मन्त्री थापाले सुकुम्बासी समस्या चाँडै समाधान हुने बताए । बास्तविक सुकुम्बासीलाई न्याय दिने घोषणा गर्दै उनले भने,’बास्तविक सुकुम्बासी को को हुन् ? पहिले पहिचान हुनुपर्‍यो, त्यसपछि ती बास्तविक सुकुम्बासीलाई न्याय दिनुपर्छ र त्यसका लागि प्रदेश सरकार तयार छ ।’

उनले रुपमा सुकुम्बासी र सारमा करोडपति हुकुम्बासी रहेका कुरा बेलाबेला आउने गरेको भन्दै त्यसको पनि पहिचान गरेर बास्तविक सुकुम्बासीलाई मात्र न्याय दिइनुपर्ने बताए ।

संविधानले नै सुकुम्बासीलाई २ वर्षभित्र आवास दिइसक्ने भनेर ज्ञारेन्टी गरेको भन्दै त्यो जसरीपनि पूरा गर्नुको विकल्प नरहेको बताए ।

सुकुम्बासी हुँदैमा हिनताबोध गर्नु नपर्ने बताउँदै उनले भने,’अब सुकुम्बासीले हिनताबोध गर्नुपर्दैन, सुकुम्बासीमा ठूलो शक्ति छ, जोश छ, जाँगर छ, सीप छ, क्षमता छ, त्यसको सदुपयोग गर्दै गर्व गर्नुपर्छ ।’

मन्त्री थापाले प्रदेश सरकार कानून् निर्माणमा लागिरहेको बताउँदै गलत कानून् नबनोस् भनेर प्रदेश सरकारलाई खबरदारी गरिरहन आग्रह गरे । उनले सुकुम्बासीका मुद्धा र मागहरु के के हुन् ? ती सबै बुँदागत रुपमा समेटेर आफूलाई तीन दिनभित्र बुझाइदिन पनि आग्रह गरे ।

प्रदेश सांसद विकास लम्शालले सरकारले कति वर्षमा सुकुम्बासीको समाधान गर्ने हो त्यो सेड्यूल उपलब्ध गराउनुपर्ने बताए । उनले भने,’२, ५, १० कति वर्षमा समाधान गर्ने हो ? त्यसको सेड्युल बनाएर दिनुपर्छ ।’

उनले अब कुनैपनि नेपालीले मेरो घर छैन भन्यो भने राज्यले घर दिनुपर्ने बाध्यात्मक परिस्थिति संविधानमा रहेको बताउँदै उनले कसैले खाइरहने र कसैले हेरेको हेर्‍यै गरेर बस्ने दिनको अन्त्य हुनुपर्ने बताए । जो धनी छ त्यसैले सुकुम्बासीको नाममा जग्गा ओगट्दा बास्तविक सुकुम्बासीले न्याय नपाउने स्थिति रहेको भन्दै त्यस्ताको पहिचान गर्नुपर्नेमा जोड दिए ।

जिल्ला बसोबास ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराम काफ्लेले सुकुम्बासीहरु जो जहाँ बसेका छन् त्यहि ठाउँमा उनीहरुलाई बस्न मिल्नेगरी लालपूजा दिने प्रयास भइरहेको बताए ।

मापदण्ड पूरा गरेर नगरपालिकाले नक्सा पास गरेर दिनेगरी नै जग्गा छुट्याएर दिने प्रयास हुँदा सुकुम्बासीलाई लालपूजा दिन ढिलाई भएको उनको भनाइ थियो ।

सुकुम्बासी संघका पूर्व कास्की अध्यक्ष भीमबहादुर गुरुङले ३६ साल अर्थात पञ्चायत कालदेखी सुकुम्बासी बनेर बसेकाहरुले पनि अहिले गणतन्त्र आइसक्दासमेत लालपूर्जा नपाएको दुःखेसो पोखे । उनले सुकुम्बासी बसेको जग्गाको लालपूर्जा काठमाडौं बस्ने अर्कै भूमाफियाले लगेको भन्दै आक्रोस पोखे ।

अखिल नेपाल सुकुम्बासी संघका सचिव अर्जुन मल्लले हचुवाको भरमा सुकुम्बासी नीति बनाए मान्य नहुने चेतावनी दिए ।

सुकुम्बासीसहित सरोकारवालाहरु बसेर सुकुम्बासी नीति बनाउनुपर्नेमा जोड दिदै उनले भने,’एकल निर्णय वा हचुवाको भरमा सुकुम्बासी नीति ल्याइयो भने त्यो मान्य हुँदैन, अन्यथा आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’ उनले जो जहाँ बसेका छन् उनीहरुलाई त्यहिं बस्ने ब्यबस्था गरेर लालपूर्जा दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment