Comments Add Comment

नियमविपरीत बढी रकम असुलेपछि भूकम्पपीडित आन्दोलित


१९ चैत, रामेछाप । जिल्लाको मन्थली नगरपालिका–९, पुरानागाउँका भूकम्पपीडितले इञ्जिनियरले तोकेभन्दा बढी रकम लिएको गुनासो गर्दै कारबाहीको माग गरेका छन् ।

दुई र तीन कोठे घरको नक्साको पाँच सय रुपैयाँ राजश्व तिर्नुपर्ने नगरपालिकाको कार्यविधि रहे पनि इञ्जिनियर अनुराग वाग्लेले दुईकोठे घरको १ हजार २ सय र तीनकोठे घरको १ हजार ७ सय रुपैयाँ लिएको स्थानीयको भनाइ छ ।

राजश्वबापत ५ सय रुपैयाँ लिन मिल्ने भए पनि अहिले १ हजार २ सय र १ हजार ७ सय रुपैयाँ लिएर वडा कार्यालयले अनियमितता गरेको स्थानीय दिलिपराज गिरीले बताए ।

इञ्जिनियरले बढी रकम असुलेको भन्दै रुष्ट बनेका भूकम्पपीडितले कारबाही माग गर्दै आइतबार मन्थली नगरपालिकामा उजुरी दिएका छन् । जवाफमा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले गलत गरेको भेटिए कारबाही गर्ने बताएको एक पीडितले बताए ।

स्थानीयले पटक–पटक प्रशासनमा यसबारे जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै यथाशीघ्र वडाध्यक्ष र इञ्जिनियरलाई कारबाही गर्न माग गरेका छन् ।

इञ्जिनियर अनुराग वाग्लेले बढी रकम असुलेको स्वीकार्दै वडाध्यक्ष बुद्धिबहादुर पुलामीको निर्देशनमा यस्तो गरेको बताए । ‘मैले आफैंले नभएर वडाध्यक्षको निर्देशनमा बढी रकम असुलेको हुँ’, इञ्जिनियर वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment