Comments Add Comment

ठेकेदार सांसद भएपछि सडक निर्माण अलपत्र

२६ चैत, जनकपुरधाम । हुलाकी सडकलाई तराई मधेसको आर्थिक समृद्धिको ढोका खोल्ने राजमार्ग भन्ने गरिन्छ ।

तर, त्यही सडक निर्माणमा ठेकेदारले लापर्वाही गर्दा जनकपुरबासीले भने दैनिक सास्ती भोग्दै आएका छन् । जनकपुरको कदमचोकदेखि पूर्वी धनुषाको कमलसम्म सडकमा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने अवस्था छ ।

सम्झौता सकिने चार महिना मात्र बाँकी छ । तर, जनकपुरको कदम चोक-कपटौल-तिनकौडियाको २५ किलोमिटर सडकको ३० प्रतिशत मात्र काम भएको छ ।

पटक पटक ताकेता गर्दा पनि निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लामा र रमन जेभी जनकपुरले समयमै तदारुकता नदेखाएको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । पछिल्लो पटक निर्देशनालयले समयमै काम सम्पन्न नभए कारबाहीको चेतावनी पनि दिएको छ ।

ठेक्का सम्झौताअनुसार ०७५ असार महिनासम्ममा उक्त खण्डमा ७ मिटर चौडाइ कालोपत्रे र दुवैछेउमा २-२ मिटर चौडाइ ग्राभेल गर्नुपर्छ । तर, कदम चोकदेखि कपलेश्वर खण्डमा २० महिनामा माटो मात्र पुर्ने काम भएको छ । ग्राभेल, कल्र्भट र ड्रेनको काम बाँकी नै छ ।

निर्देशनालयको योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलले भने, ‘समयमा नै काम पूरा गर्न धेरै पटक पत्रचार गरे पनि कामले गति दिन सकेको छैन । अब ठेक्का रद्द गर्ने चेतावनी दिएका छौं ।’

कदम चोकदेखि औरहीसम्म पहिलो खण्ड २७ करोड ९५ लाख र औरहीदेखि सघारासम्म दोस्रो खण्ड २२ करोड ९७ लाखमा ठेक्का सम्झौता भएको हो ।

सडकको निर्माण गर्नको लागि पेटी ठेक्का लिएका कमला कन्ट्रक्सनले भने कामको लागि कुनै चासो देखाएको सांसद शंकर अरगरियाले बताएका छन् ।

कम्पनीका प्रमुख किशोरी साह कमल भने अहिले एमालेबाट प्रदेशसभा सदस्य बनेका छन् । ठेकेदार नै नेता भएपछि कारवाही कसरी गर्ने ? सांसद अरगरियाले भने, यसले गर्दा पनि समस्या आएको छ ।’

उनले सडक निर्माणमा तिव्रता नदिए आफूहरु आन्दोलनमा जाने चेतावनी दिएका छन । फोरम सांसद अरगरियाले भने, ‘जनताको स्वास्थ्यसँग खेलवाड भइरहेको छ, यसलाई लिएर आफू आन्दोलनमा जानुपर्ने वाध्यता छ ।’

नेपाल र भारत सरकारको लगानीमा धनुषा, महोत्तरी, सर्लाही र सिरहामा ३ सय १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणाधीन छ । जसमा नेपाल सरकारको लगानीमा २ सय १२ किलोमिटर र भारत सरकारको लगानीमा १ सय ३ किलोमिटर निर्माणका लागि ठेक्का लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment