Comments Add Comment

२०७४ मा नेपाली क्रिकेट : अस्तव्यस्तताका बीच ऐतिहासिक सफलता

३० चैत, काडमाडौं । ०७४ सालमा खुशी दिने थोरै कुरामा एक हो, क्रिकेट । नेपाली टोलीको एकपछि अर्को सम्झनलायक प्रदर्शन र एकदिवसीय मान्यतासम्मको बाटोले खेलप्रेमि उत्साहित भए ।

नेपाली क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बनमा छ ।

आन्तरिक विवादका कारण निलम्बनमा परेको क्यानको भविष्य अन्योलमा छ । यस्तोमा राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पार्दै चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पक्का गर्‍यो ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा गएको नेपालले डिभिजन पाँच, चार, तीन, दुई हँुदै एकदिवसीय मान्यतासम्मको यात्रा तय गरेको हो ।

सन् २०१४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलेपछि आशा गरिएअनुरुप सफलता पाउन समय लागे पनि नेपाली क्रिकेटमा नयाँ भविष्य देखिएको छ ।
०७४ मै सकिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल पुछारमा रहँदै डिभिजन २ मा झर्‍यो ।

१४ खेल मध्ये ४ मा जित र ९ मा हार ब्यहोरेको थियो । एक खेल वषर्ाले प्रभावित भएर नतिजा आउन सकेको थिएन । ८ टोलीमा नेपाल नामिबियाभन्दा माथि ७ औँ स्थानमा रहृयो ।

डिभिजन २ मा नाटकीय खेल

तर, डिभिजन २ मा नेपालले सनसनीपूर्ण प्रदर्शन गर्‍यो । निर्णायक खेलमा दशौं क्रममा ब्याटिङमा आएका करण केसीको चामत्कारिक ब्याटिङ गर्दै क्यानडाविरुद्ध एक विकेटको जित दिलाए ।

अन्तिम बलमा नतिजा निस्किएको खेलमा करणको ब्याटिङ अकल्पनीय र अविश्वसनीय थियो । करण ब्याटिङमा आउँदा नेपाल १४४ रनमा ८ विकेट गुमाएर हार सामु थियो । ९ औँ विकेटका रुपमा बसन्त रेग्मी शून्यमै आउट भएपछि जित असम्भव देखिएको थियो ।

जितका लागि ५२ बलमा ५१ रन चाहिँदा करण मैदानमा थिए । करणले ३१ बल खेल्दा ४ छक्का र ३ चौकाको मद्धतमा ४२ रन बनाए र नेपाललाई एकदिवसीय विश्वकप छनोट चरणमा पुर्‍याए ।

प्रतियोगितामा ३ खेल जितेर २ खेल हारेको नेपालले जितेका सबै खेल टस जित्दा मात्र सम्भव भयो । नेपालले पहिलो खेलमा टस जित्दा नामिवियालाई १ विकेटले जितेको थियो । दोस्रो खेलमा टस हार्दा ओमनसँग ६ विकेटले खेल नै गुमायो ।

तेस्रो खेलमा टस जितेर युएईलाई ४ विकेटले हरायो । चौथो खेलमा केन्याविरुद्ध अन्तिम बलमा जित निकाल्दा पनि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

डिभिजन-२ को उपाधिका लागि भएको अन्तिम खेलमा नेपाल युएईसँग ७ रनले पराजित भयो ।

एकदिवसीय मान्यता

जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा धेरै खेल हारेर पनि ठूलो उपलब्धि कसैले पायो भने त्यो नेपाली टोली हो । समूह चरणमा लगातार तीन खेल हारेर पनि नेपाल यसपटक भाग्यमानी सावित भयो, जसले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक एकदिवसीय राष्ट्रको मान्यता पायो ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले, दोस्रोमा स्कटल्याण्डसँग ४ विकेटले, तेस्रोमा अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । तर, अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको थियो ।

नेपालले जितले अफगानिस्तान सुपर सिक्समा पुग्यो, जसले अन्तिममा विश्वकप छनोटै उपाधि जित्यो ।

नेपालले प्ले अफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेर एकदिवसीय राष्ट्रको मान्यताको सम्भावना बलियो भयो । त्यसको केही घण्टामा सकिएको अर्को प्ले अफमा नेदरल्याण्ड्सले हङकङलाई हराएपछि नेपाली क्रिकेटले नयाँ फड्को मार्दै चार वर्षका लागि एकदिवसीय मान्यता पायो ।

खेलाडीले देखाएको भविष्य

नेपाली युवा खेलाडी सन्दीप लामिछाने, रोहित कुमार पौडेलसँगै दिपेन्द्र सिंह ऐरी, करण केसीको खेलले नेपाली क्रिकेट भविष्य देखियो । डिभिजन २ मा केन्याविरूद्ध पाँच विकेट लिएर सन्दीप लामिछानेले नेपालको ‘लिस्ट ए’ क्रिकेटमा उत्कृष्ट बलिङको कीर्तिमान नै बनाए ।

सन् २०१५ मा नामिवियाविरूद्ध खेल्दै विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा डेब्यु गरेका सन्दीपले पहिलोपटक ५ विकेट लिए ।

१० ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै २० रन खर्चेर लिएको ५ विकेट ‘लिस्ट ए’ मा नेपालकै उत्कृष्ट बलिङको कीर्तिमान हो ।

एकदिवसीय विश्वकप छनोटमा पनि सन्दीपले १३ विकेट लिएका थिए । नेपालले हासिल गरेको दुई जितमा उनकै प्रदर्शन मुख्य थियो । उनले हङकङविरुद्ध १७ रन दिएर ३ विकेट र पपुवा न्युगिनीविरुद्ध २९ रन दिएर ४ विकेट लिएका थिए ।

मध्यक्रममा ब्याट्सम्यान रोहित कुमार पौडेलले आशलाग्दो प्रदर्शन गरे । ‘लिस्ट ए’ मा १२ खेल खेलेका उनले २ सय ३७ रन बनाएका छन् । आवश्यक पर्दा सम्हालिएर खेल्न सक्ने उनको खुबीले धेरैलाई अचम्मित बनायो ।

आईपीएलमा सन्दीप

०७४ सालमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट समर्थकलाई एकपछि अर्को उत्साह दिए ।

इतिहासमै पहिलोपटक विश्वको सर्वाधिक मंहगो टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा स्थान बनाएर खुशी दिएका सन्दीप अर्को चर्चित क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पनि परे ।

आईपीएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्धित गरेको हो । वेष्ट इन्डिजमा हुने सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याटि्रयोट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्धित गरेको हो ।

चर्चामा घरेलु प्रतियोगिता

दुई ठूला घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) मा दर्शकको साथ उल्लेख्य रहृयो ।२०७३ वैशाखपछि आईसीसीको निलम्बनमा रहेको नेपाली क्रिकेटको लागि ईपीएल र डीपीएल आईसीसीले मान्यता दिएको घरेलु प्रतियोगिता रहे ।

खेलाडीको लिलामी, विदेशी खेलाडीको सहभागिता र ठूलो पुरस्कार राशिले पनि दुवै प्रतियोगिता चर्चामा रहे । २१ लाख रुपैयाँ पुरस्कार दिइएको ईपीएलको उपाधि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएर जित्यो । कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा दर्शक खचाखच उपस्थित थिए ।

ईपीएलको कीर्तिमान तोड्ने गरी डीपीएलले २५ लाख रुपैयाँ पुरस्कार राखेर दोस्रो सिजन गर्‍यो, जसमा सोमपाल कामीको कप्तानीमा रहेको धनगढी टिम चौराहाले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई २१ रनले हराएर उपाधि जित्यो ।

धनगढीमा भएको डीपीएलको फाइनल खेलमा पनि अस्थायी प्याराफिट दर्शकले भरिएको थियो । दुवै घरेलु प्रतियोगितामा भएको दर्शकको उपस्थितिले नेपालको क्रिकेट प्रेमलाई झल्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment