Comments Add Comment

पोखरामा फ्लाइओभर योजनामै सीमित, ६ चोकमा आकासे पुल

सांकेतिक फोटो

१० वैशाख, पोखरा । पोखरामा दैनिक २ लाख सवारी साधन गुड्छन् । गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवतजावत गर्छन् ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकसम्म नआई सुखै छैन । त्यसैले पोखराका मुख्य चोकको ट्राफिक व्यवस्थापन सकसपूर्ण बनेको छ ।

बेलाबेलामा वैकल्पिक मार्गको कुरा उठे पनि त्यो कुरामै सीमित भएका छन् । त्यसको असर पोखराको ट्राफिक व्यवस्थापनमाथि परेको छ । प्रादेशिक राजधानी बनेसँगै संसद, मन्त्रालय पोखरामै छन् ।

मुख्यमन्त्रीदेखि, मन्त्री, सभामुख र सांसदका गाडी यहीँ गुड्छन् । तिनका अघिपछि हिँड्ने र स्कर्टिङ गर्नुपर्दा पछिल्लो समय ट्राफिक जामको समस्या अझ बढेको छ । यसै पनि कुनै न कुनै भीआइपीको दिनहुँजसो पोखरा आगमन भइरहन्छ ।

सम्भाव्यता अध्ययन नै भएन फ्लाइओभर

पोखरा महानगरपालिकाले यही अवस्था मध्यनजर गर्दै फ्लाइओभरको योजना अगाडि सार्‍यो । साँघुरा र पुरानै संरचनाका सडकले यातायात व्यवस्थान चुनौती थपिदै गएको भन्दै महानगरपालिकाले मुख्य ठाउँमा फ्लाइओभरको योजना अगाडि सारेको थियो ।

अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट पनि छुट्याइयो । उपमहानगरपालिकाकै परिषद्मा परेको योजना मानबहादुर जिसी महानगरपालिकाको मेयर भएर आएपछि यसको छिट्टै कार्यान्वयमा लैजाने कार्ययोजना सार्वजनिक गरियो ।

पहिलो चरणमा विज्ञ टोलीले यसको सम्भाव्यता अध्ययन गरी कस्तो, कसरी र कतिसम्मको बनाउन सकिन्छ भन्ने प्रतिवेदन पेस गर्ने र दोस्रो चरणमा फ्लाइओभर निर्माणको प्रक्रिया सुरु हुने बताइएको थियो ।

तर, अहिलेसम्म यसको विषयमा न छलफल नै भयो न सम्भाव्यता अध्ययनको तयारी नै गरियो । अहिले यसका लागि छुट्याइएको ४० लाख रुपैयाँ यत्तिकै छ ।

‘फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्ने भनेका थियौं तर अघि बढ्नै सकेन । पैसा यत्तिकै छ । मेयर साबले केही योजना ल्याउनुहोला’ महानगरपालिका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने ।

आकासे पुलको योजना

फ्लाइओभरको सम्भाव्यता अध्ययन नै नगरी आर्थिक वर्ष बित्न लागेपछि महानगरपालिकाले अर्कै योजना अगाडि सारेको छ । हालै बसेको महानगरको कार्यपालिका बैठकमा मुख्य चोकमा आकासे पुल निर्माणको योजनाबारे छलफल भएको छ ।

पोखराका मुख्य चोकमा अहिले बाटो काट्नै सकस छ । पृथ्वीचोक, सभागृहचोक, महेन्द्रपुल, चिप्लेढुंगा पालिखेचोक लगाएका ठाउँमा ट्राफिक जामले हैरान पारिरहेको छ । यी मुख्य ट्राफिक जाम हुने ठाउँमा महानगरपालिकाले आकासे पुल बनाउने योजनामाथि छलफल चलाएको हो ।

‘छिट्टै कार्यविधि बनाएर सम्भाव्यता अध्ययनका लागि जाने हाम्रो योजना हो,’ मेयर मानबहादुर जिसीले भने, ‘प्राविधिकलाई खाका तयार पार्नु भनेको छु । आउँदो बजेटमै योजना समावेस गरी जाने तयारी छ ।’

आकासे पुल, फ्लाइओभर वा भूमिगत सडक के निर्माण गर्न सकिन्छ सम्भाव्यता अध्ययन गरेर कार्यान्वयनमा जाने मेयर जिसीले जानकारी दिए । पोखराको बुद्धचोक, पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा र महेन्द्रपुल आकासे पुल बनाउने योजनामाथि कार्यपालिका बैठकमा छलफलपछि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

छिट्टै कार्यविधि बनाएर विज्ञसहितको टोली अध्ययनमा जाने र सम्भाव्यता अध्ययनका लागि कति रकम छुट्याउने भन्ने विषयमा छलफल भइरहेको मेयर जिसीले बताए ।

पोखरामा न गतिलो बसपार्क छ, न पार्किङस्थल । गाडी तथा मोटसाइकल सडकमै पार्किङ गर्ने गरिएको छ ।

पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउने नाममा सडक नै ठेक्कामा दिएको छ । महानगरमा ट्राफिक लाइटको व्यवस्था अझैसम्म छैन ।

पोखरा महानगरपालिका मेयर जिसीले ट्राफिक व्यवस्थापनका लागि पार्किङस्थलको पनि खोजी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment