+
+
Shares

पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा

‘पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनले कात्तिक २३ गते गौरीघाटमा ‘मौलिक देउसी भैलो उत्सव’ आयोजना गर्ने भएका छन्।
  • उत्सवमा करिब ९ समूहले परम्परागत पोसाकमा देउसी–भैलो प्रस्तुत गर्नेछन् र प्रत्येक समूहलाई ५ हजार ५५५ रुपैयाँ दिइनेछ।
  • आयोजकले कार्यक्रमले तिहारको मौलिक संस्कृति, देउसीभैलोको परम्परा र पर्यटकलाई नेपाली पर्वबारे जानकारी दिने अपेक्षा गरेका छन्।

२२ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं–तिहार होस् चाहे फागुपूर्णिमा, तीज होस् वा क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवका रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक परम्परा र योसँग जोडिएको समाज ।

यसपटकको तिहारलाई पनि पोखराले उसैगरी मनाउँदैछ, मौलिक हिसाबले । तिहारको छेकोमा पोखरा आउने विदेशी–स्वदेशी पर्यटकले देख्न पाउनेछन्, तिहारको महत्व । तिहारमा काग, कुकुर, गाई, गोरु किन पुजिन्छ ? किन देउसी भैलो खेलिन्छ र किन सप्तरंगी टीका लगाइन्छ ? एउटै मञ्चमा देख्न, बुझ्न र रमाउन पाइने भएको छ ।

यस्तो उत्सवको चाँजो मिलाएको हो, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनले । ३ संस्थाले संयुक्त आयोजना गर्न लागेको कार्यक्रमको नाम दिइएको छ, ‘मौलिक देउसी भैलो उत्सव’ ।

कात्तिक २३ गते सोमबार गार्ईपूजाका दिन पोखरा–६, लेकसाइडस्थित गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘पोखराले हरेक चाडलाई उत्सवको रुपमा मनाउँछ । नयाँ वर्षमा पोखरा जाउँ भन्ने स्थापित भइसकेको छ । दशैंमा रातो टीका र जमरा लगाएर रमाउँदै हिँडेका पर्यटक लेकसाइडभरि भेटिन्छन् । फागु पूर्णिमामा रङहरुमा खुसी साट्दै हिँडिरहेका पर्यटकले रौनक थपिरहेका हुन्छन् ।

पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने । सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्दा त्यसको महत्व अझ बढ्ने भुजेलको भनाइ छ ।

नेपाली मौलिक भाका, शब्द र लयभन्दा हिन्दी गीतसंगीतमा आधारित नृत्य तथा प्रस्तुतिहरू बढ्दै गएको अवस्थामा मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको भुजेलले बताए ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले नेपाली समाजभित्रै देउसीभैलोको मौलिकता हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सेलरोटी तथा सयपत्री फूलका स्टलसमेत रहनेछन् । उत्सवमा देउसीभैलोका अतिरिक्त स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले अहिलेको पुस्ताले मौलिकता बिर्सिंदै गइरहेको अवस्थामा यो उत्सवले चासो बढाउने बताउँछन् । ‘नयाँ पुस्ताले आफ्नो संस्कृति, परम्परा बुझ्न, जान्न र सिक्न पाउने छन् । पुराना पुस्ताले आफ्नो संस्कृति र चाडप्रति गर्व गर्नेछन् र पर्यटकले नेपाली पर्व र मौीलक संस्कृति देखेर रमाउने छन्, यसको महत्व जान्न पाउने छन्,’ क्षेत्रीले भने, ‘तिहारमा कागको पूजा किन गरिन्छ ? किन गार्ईगोरुलाई पुजिन्छ, किन तोरन टाँगिन्छ ? टीका किन लगाईन्छ भन्ने महत्व पनि उत्सवमा जान्न पाउने छन् ।’

देउसी भैलोलाई प्रतियोगिता नाम दिइए पनि यो उत्सवका रुपमा मनाइने उनको भनाइ छ । प्रत्येक समूह परम्परागत पोशाकमा उपस्थित हुनेछन् । १० देखि १७ मिनेटभित्र आफ्नो प्रस्तुति राख्नेछन् । प्रस्तुति सकिए लगत्तै दान–दक्षिणासहित बिदाइ गरिनेछ । प्रत्येक टिमलाई दक्षिणाका रुपमा ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने छ भने च्याम्पियन समूहलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सेलरोटी तथा सयपत्री फूलका स्टलसमेत रहनेछन् । उत्सवमा देउसीभैलोका अतिरिक्त स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

लेकसाइडको गौरीघाटमा आयोजना हुने उत्सवले पर्यटकलाई तिहार, देउसीभैलोको इतिहास, परम्परा र सांस्कृतिक महत्वबारे प्रत्यक्ष जानकारी दिने अपेक्षा गरिएको छ ।

मौलिक संस्कृतिको अवलोकन तथा अनुभव गर्ने अवसर प्रदान गर्दै पोखरालाई संस्कृति र पर्यटनको साझा गन्तव्यका रूपमा स्थापित गर्न कार्यक्रमले सहयोग पुर्याउने परिषदका महासचिव मिलन तिवारीले बताए ।

कार्यक्रम सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम विभिन्न संघसंस्थासँगको सहकार्य र सहयोगबाट जुटाइने आयोजकले भनाइ छ ।

कार्यक्रममा करिब ९ समूहले मौलिक तथा परम्परागत पोसाकमा सजिएर देउसी–भैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहले मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?