+
+
Shares

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली न्युज च्यानल–१२ का अनुसार बेन्जामिन नेतान्याहुले चुनावअघि इरानमाथि आक्रमणको योजना बनाएका थिए, तर डोनाल्ड ट्रम्पले हस्तक्षेप गरेर रोकिदिए।
  • रिपोर्टमा इजरायली सेना र सुरक्षा निकायका धेरै अधिकारीले आक्रमणको विरोध गरेका थिए र त्यसले २७ अक्टोबरको चुनावमा असर पार्न सक्ने बताएका थिए।
  • नेतान्याहुको कार्यालयले चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको दाबी गर्दै च्यानल–१२ को रिपोर्ट झुटो भनेको छ।

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो।

रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर आक्रमणको योजना रोकाइदिए।

सेना र सुरक्षा अधिकारीहरू थिए नेतान्याहुको विपक्षमा

रिपोर्टका अनुसार इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारीहरू नेतान्याहुको यस योजनाको विपक्षमा थिए। आक्रमण गरेमा इरानले जवाफी प्रहार गर्न सक्ने, जसले गर्दा दुई देशबीच तनाव अझ बढ्ने र २७ अक्टोबरमा हुने चुनावसमेत टर्न सक्ने उनीहरूको आशङ्का थियो।

अधिकारीहरूको असहमतिका बाबजुद नेतान्याहुले योजनामा काम जारी राखेका थिए। च्यानल–१२ का अनुसार इजरायलका एक सुरक्षा अधिकारीले हतारमा यस्तो कदम चाले, जसबाट अमेरिकाले यस योजनाबारे थाहा पायो। ती अधिकारीले के कदम चालेका थिए भन्नेबारे भने स्पष्ट पारिएको छैन।

यता, प्रधानमन्त्री नेतान्याहुको कार्यालयले यस समाचारलाई झुटो बताएको छ। इजरायली चुनावअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको कुरा प्रधानमन्त्रीले त्यतिबेलै स्पष्ट पारेको कार्यालयको भनाइ छ।

चुनावभन्दा दुई दिनअघि सेना प्रमुखसँग पनि भएको थियो विवाद

इरानमाथिको कारबाहीलाई लिएर नेतान्याहु र इजरायली सेना प्रमुख एयाल जमीरबीच तनाव भएको खबर यसअघि पनि बाहिर आएको थियो। २५ अक्टोबरमा च्यानल–१२ ले जनाएअनुसार नेतान्याहुले सेनालाई यस्तो आदेश दिएका थिए, जसले इरानसँगको लडाइँ पुनः सुरु गराउन सक्थ्यो। तर, सेना प्रमुख जमीरले उक्त आदेश मान्न अस्वीकार गरिदिए।

जमीरले यस विषयमा पुनः छलफल गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीसँग लिखित आदेश र कारबाहीका लागि कानुनी स्वीकृति मिलेको दस्ताबेज मागेका थिए।

सेनाका उच्च अधिकारीहरूलाई नेतान्याहुले चुनावमा फाइदा उठाउन इरानको मुद्दा प्रयोग गर्न खोजेको शङ्का थियो र चुनावअघि कुनै कारबाही भए अवस्था बिग्रिने डर थियो।

नेतान्याहुले त्यतिबेला यी खबरहरूलाई पनि बकवास भन्दै सेना प्रमुखसँग आफ्नो कुनै विवाद नरहेको दाबी गरेका थिए। यद्यपि, उनले सेना र मोसादलाई इरानको वर्तमान सरकार ढाल्न निर्देशन दिएको कुरा भने स्वीकारेका थिए।

अमेरिका र इरानबीच युद्ध रोक्ने विषयमा वार्ता जारी

कतारको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने बाटो खोज्न वार्ता चलिरहेको छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः आक्रमण सुरु गर्ने विषयमा विचार गरिरहेको खबरहरू पनि आइरहेका छन्।

च्यानल–१२ का अनुसार अमेरिकी मध्यावधि चुनावअघि नेतान्याहुले ट्रम्पलाई मतदान सकिनेबित्तिकै इरानमाथि फेरि आक्रमण गर्न आग्रह गरेका थिए।

तर, ट्रम्प हाल इरानसँगको वार्तालाई थप केही समय दिन चाहन्छन्। वार्ता अगाडि बढेमा इरानमाथि लागेका प्रतिबन्ध र अन्य दबाबहरू कम हुन सक्ने डर नेतान्याहुलाई छ।

शुक्रबार ट्रम्पले पनि अमेरिकाले इरानसँग कुरा गरिरहेको र वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए। आफूले इरानलाई परमाणु हतियार बनाउनबाट नरोकेको भए आज इजरायल र सिङ्गो मध्यपूर्व सुरक्षित नहुने दाबीसमेत ट्रम्पले गरे।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?