News Summary
Generated by OK AI. Editorially reviewed.- तिहारको पहिलो दिन काग तिहारमा यमराजको दूत कागलाई पूजाआजा गरी खानेकुरा दिने चलन छ।
हिन्दू धर्मावलम्बीले हर्षोल्लासपूक मनाउने तिहार पर्वको आफ्नै विशेषता छ । तिहार उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिन्छ ।
तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तीहररूको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरू, देउसीभैलो टोलीको रमाइलो नाचगानका साथै सेलरोटी लगायत विभिन्न मिठाईहरूको सम्झना आइहाल्छ।
तिहारपर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्व पनि धेरै ठूलो छ । यमपञ्चक समेत भनिने तिहारको ५ दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरू र आफना दाजुभाइको पूजा गरिन्छ ।
तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।
काग तिहारको धार्मिक महत्व
हिन्दू धर्मावलम्बीहरुको अर्को ठूलो पर्व दसैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।
हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रूपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।
कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल… सुबोल…’ अर्थात शुभ बोल भनेर भनिन्छ ।
हिन्दू धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।
यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापकोभागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।
त्यस्तै प्रकृतिका लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’ मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्रालाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ ।
यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4