२० कात्तिक, काठमाडौं । इलामको कन्याममा आगामी मंसिर ५ र ६ गते प्रथम सूर्योदय चिया महोत्सव–२०८३ आयोजना हुने भएको छ ।
सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको मुख्य उद्देश्य परियोजनाअन्तर्गत निर्माण भइरहेको चियाबारी पदमार्गको प्रचारप्रसार गर्नुका साथै चिया पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा टी ट्रेल रेस, चिया प्रवद्र्धन तथा स्वाद परीक्षण, चिया गोष्ठी, निर्देशित पदयात्रा, स्थानीय खाद्य परिकारका स्टल र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
महोत्सवमा ‘जलवायु परिवर्तनको सामना ः दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद कार्यक्रमसमेत हुनेछ ।
उक्त कार्यक्रमको सहजीकरण अनलाइनखबरका सम्पादक तथा लेखक वसन्त बस्नेतले गर्नेछन् । अन्तरसंवादमा संघीय सांसद, नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि तथा सचिवहरू र स्थानीय प्रतिनिधिहरू सहभागी हुनेछन् ।
महोत्सवमा सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण तथा बजारीकरणको व्यवस्था गरिनेछ ।
स्थानीय खाद्य परिकारका स्टलसमेत राखिने आयोजकले जनाएको छ ।

महोत्सवसँगै महिला र पुरुषका लागि छुट्टाछुट्टै टी ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ ।
खुला पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँ हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दुवै विधाका विजेताले नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4