News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने अध्यक्ष डा. सीके राउतले शुक्रबार स्पष्ट पारेका छन्।
- सरकार र मन्त्रालयको लोभमा फस्नु आत्मघाती कदम हुने भन्दै उनले पार्टी सडकमा जनताबीच सङ्घर्ष गरिरहने बताए।
- अग्रगामी मोर्चाले पनि आगामी निर्वाचनसम्म प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको र सोही निर्णयमा मोर्चा अडिग रहेको राउतले बताए।
२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।
सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा फस्नुलाई आत्मघाती कदमको संज्ञा दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्।
‘जनमत पार्टीका सबै सभासद् (सांसद) हरूले राजीनामा दिऊन्, कि सबैले पार्टी छोडेर जाऊन्, मुख्यमन्त्री नै देओस् कि पूरै मन्त्रिमण्डल,’ उनले भने, ‘तर निर्णयबमोजिम जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश सरकारमा जाँदैन। पार्टी सडकमा जनताकै बीचमा सङ्घर्ष गरिरहन्छ, कसैले भ्रममा नपरौँ।‘
निर्वाचन आउन केही महिना मात्र बाँकी रहेको अवस्थामा मन्त्रालयको भागबन्डामा लाग्नु जनताको चाहना र मोर्चाको मर्मविपरीत हुने उनको भनाइ छ।
‘विगतका पदीय र सत्ताको लोभलालचलाई सच्चाएर अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने समय हो यो। सरकार होइन, सङ्गठन बनाउनु पर्ने बेलामा दुई–चारवटा मन्त्रालय खाने चलखेलमा लाग्नु आत्मघाती कदम हो,’ उनले भनेका छन् ।
‘मधेशी दललाई छिन्नभिन्न पार्ने षड्यन्त्र’
अध्यक्ष राउतले मधेशकेन्द्रित पार्टीहरूलाई फुटाउने र बदनाम गर्ने षड्यन्त्र अझै जारी रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘भर्खरै जुन पार्टीहरूले मधेशकेन्द्रित पार्टीहरूलाई टुक्राएर, विलय गराएर, लुम्बिनी प्रदेशमा छिन्नभिन्न पारेर तहसनहस पारे, फेरि उही पार्टीहरूको मोर्चा फोड्ने र मधेशी नेताहरूलाई बदनाम गर्ने षड्यन्त्रमा फस्नु अत्यन्त दुःखद छ,’ उनले भने।
राउतले अग्रगामी मोर्चाले यसअघि नै प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरिसकेको स्मरण गराउँदै मोर्चा अहिले पनि सोही निर्णयमा अडिग रहेको बताए।
‘हामीले अग्रगामी मोर्चामा पनि कडा शब्दमा निर्णय नै गरेका थियौँ, र अहिलेसम्म मोर्चा त्यही निर्णयमा कायम छ भन्ने हाम्रो मान्यता छ,’ उनले स्पष्ट पारे, ‘बाहिर आएका कुराहरू मिडिया ट्रायल मात्रै होस्।’
२०८३ भदौ २ गते जारी भएको अग्रगामी मोर्चाको विज्ञप्तिमा पनि लुम्बिनी प्रदेशमा जसपाका प्रदेश सभा सदस्यहरूलाई पार्टी निर्णयविपरीत मन्त्री पदको शपथ गराइएको र सरकारको पक्षमा मतदान गराइएको भन्दै उक्त कार्यको घोर भर्त्सना गरिएको थियो।
सोही बैठकले आगामी निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको मोर्चाको प्रवक्तासमेत रहेका डा. राउतले जानकारी दिएका थिए।
प्रतिक्रिया 4