News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तलाको अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्न शुक्रबार भूमिपूजा गरेको छ।
- बैंकले करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवनमा दुई तला भूमिगत पार्किङ, आकाशे पानी सङ्कलन र सौर्य ऊर्जा प्रणाली राख्ने जनाएको छ।
- बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भवन निर्माणपछि सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा प्राप्त गर्न सक्ने बताउनुभयो।
२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको सुरुवात गरेका हुन् ।
करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त भवन १२ तलाको हुनेछ। भवनमा सवारीसाधन पार्किङका लागि दुई तला भूमिगत संरचना, एउटा भुइँतला र त्यसमाथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको यो भवनलाई बैंकले काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले उक्त भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए । नयाँ भवन अत्याधुनिक र सुविधासम्पन्न हुनुका साथै काठमाडौं उपत्यकाकै एउटा पहिचानयुक्त भवन बन्ने उनको भनाइ छ ।
उनले भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा प्राप्त गर्न सक्ने बताए ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको बताए । भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा निर्माण गर्न लागिएको उनको भनाइ छ ।
भवनमा पानीको अभाव हुन नदिन आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली जडान गरिने र विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणालीको व्यवस्था गरिने बैंकले जनाएको छ।

यी व्यवस्थाले प्राकृतिक स्रोतको उचित उपयोगसँगै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको भनाइ छ। भूमिपूजा कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूहका सदस्य तथा कर्मचारीको उपस्थिति थियो।
आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ।
त्यसैगरी, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको छ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ वटा एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
यसका अतिरिक्त बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसले वैदेशिक रोजगारी तथा अन्य स्रोतबाट प्राप्त रकमलाई औपचारिक बैंकिङ प्रणालीमार्फत नेपाल भित्र्याउन सहयोग पुर्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिँदै आएको बैंकले जनाएको छ।
प्रतिक्रिया 4