+
+
Shares

कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

रसुवाको उत्तरगया-१ र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएका भोटेकोशी बाढी प्रभावितहरू स्थायी आवासको आशा बोकेर विदुरको अस्थायी सेल्टरमा आश्रय लिइरहेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक २० गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत १० भदौको भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई काठमाडौं र नुवाकोटमा अस्थायी सेल्टरको व्यवस्था गरिएको छ ।
  • उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएकालाई नुवाकोटको विदुर नगरपालिका-५ का कोदोबारी र ठूलोबारीमा राखिएको छ ।
  • नेपाल रेडक्रस सोसाइटीले दुई हजार घर बनाउने सम्झौता गरे पनि केन्द्रीय सरकारको निर्णय नआएकाले बाढीपीडित स्थायी आवासबारे चिन्तित छन् ।

२० कात्तिक, विदुर (नुवाकोट) । गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई काठमाडौं र नुवाकोटमा अस्थायी सेल्टरको व्यवस्था गरिएको छ ।

टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंमा र उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएकाहरूलाई छिमेकी जिल्ला नुवाकोटमा अस्थायी सेल्टरमा राखिएको छ ।

टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित यल्लो गुम्बा र स्वयम्भुस्थित मुस्ताङ गुम्बामा राखिएको छ । उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएकाहरूलाई छिमेकी जिल्ला नुवाकोटमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

बाढी लगत्तै नुवाकोटको बट्टारमा रहेको हिमालय बोर्डिङ स्कुलमा राखिएका उनीहरूलाई पछिल्लो समय विदुर नगरपालिका-५ मा दुई वटा अस्थायी टहरा बस्ने व्यवस्था गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को अगुवाइमा कोदोबारी र ठूलोबारी गरी दुई स्थानमा बाढीपीडितलाई राखिएको छ । ठूलो बारीमा ३७ र कोदोबारीमा ७५ परिवारका सादस्य बसोबास गर्दै आएका छन् ।

ठूलोबारीमा बसोबास गर्दै आएकाहरू मुख्यतः उत्तरगया-१ का बाढीपीडितहरू हुन् । नेपाल रेडक्रस सोसाइटी नुवाकोटका महामन्त्री उद्धव शर्माका अनुसार मानवीय र भौतिक संरचना क्षति भएका परिवारका सदस्यहरू सेल्टरमा छन् ।

सेल्टर बनाउनका लागि रेडक्रसले दुई वर्षका लागि जग्गा भाडामा लिएको छ । बाढीपीडितका सहयोग गर्न रेडक्रससँगै सेभ द चिल्ड्रेन, चाइल्ड फ्रेन्डली स्कुल (सीएफएस) लगायतका संस्था जोडिएका छन् ।

बालबच्चादेखि प्रौढसम्मले रेडक्रसले बनाइदिएको टहरालाई आश्रयस्थल बनाएका छन् । बाढीपीडितले स्थायी आवासको अनिश्चितताप्रति चिन्ता व्यक्त गरेका छन् । आफ्नै बलबुतामा पुरानै स्थानमा घर निर्माण गरिहाल्ने पक्षमा बाढीपीडित छैनन् ।

उत्तरगया-१ का एक वृद्ध पीडितले अनलाइनखबरसँग भने, ‘सरकारले यो नै गर्छु भनेको छैन । जग्गा भएका आफ्नै ठाउँमा अहिले टहरो बनाउन थाल्यौं भने सरकारले केही निर्णय गरेर त्यही पनि हाम्रो नहुने हो कि भन्ने चिन्ता छ ।’

केन्द्रीय सरकारले बाढी प्रभावितका लागि घर निर्माण गर्नेबारे कुनै निर्णय लिन नसकेका कारण गैरसरकारले गर्ने सहयोगमा हुने निर्माणमा समेत अन्योल छ ।

नेपाल रेडक्रस सोसाइटीले अस्थायी र स्थायी गरेर दुई एक हजार घर बनाउने सम्झौता गरेको छ । हालसम्म बाढी प्रभावितको यकिन तथ्यांक संकलन हुन नसकेको र घर मोडालिटीबारे केन्द्रीय सरकारले निर्णय लिन नसक्दा सेल्टरमा बसेकाहरू चिन्तित देखिएका छन् ।

आफ्नै तरिकाले दु:खजिलो गरी कुनै प्रभावितले घर-टहरा बनाएर बस्न थाल्ने तर भोलि सरकारले नै पक्की घर बनाउने नीति लियो भने आफू टहरामै सीमित हुने चिन्तासमेत बाढी प्रभावितलाई छ ।

ठूलोबारी अस्थायी सेल्टरमा बसिरहेका बाढी प्रभावितमध्येका एकले भने, ‘म सधैं टहरामा हुने भएँ । म जस्तै अर्को चाहिँ पक्की घरमा बस्ने भयो ।’

स्थायी आवासको चिन्तामा रहेका बाढी प्रभावितलाई अस्थायी सेल्टरमा भएको व्यवस्थापनप्रति भने गुनासो छैन । सेल्टरमा बस्ने प्रत्येक परिवारले छुट्टाछुट्टै खाना पकाएर खान सक्ने गरी किचनहरू निर्माण भइरहेको छ । १० जनाले एउटा किचन प्रयोग गर्न सकिने गरी निर्माण कार्य भइरहेको रेडक्रसले जनाएको छ ।

पीडितले खानेपानी र शौचालयको समस्या भने भोग्नु परेको छैन । दुवै सेल्टरमा रहेका करिब १०० विद्यार्थीलाई नजिकैको विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ । प्राथमिक उपचारका लागि सेल्टरमा स्वास्थ्यकर्मी खटाइएको छ ।

सेल्टरमा महिलाहरूलाई परेको समस्याबारे १२ कक्षा अध्ययन सकेकी एञ्जिला तामाङ भन्छिन्, ‘नुहाइसकेपछि लुगा फेर्न र सेनिटरी प्याड चेञ्ज गर्ने बेला समस्या भएको छ । अरू त ठिकै छ ।’

एकै स्थानका प्रभावितलाई सँगै राख्ने गरी फरकफरक सेल्टर नेरेसोले बनाएको छ । यदि ठूलोबारी सेल्टरमा रसुवाको अर्को कुनै क्षेत्रको बाढीपीडित बस्न चाहे त्यहाँ बसिरहेका उत्तरगया-१ बाढीपीडितले स्वीकृति दिनुपर्ने हुन्छ ।

रेडक्रसले खाद्यान्नसहित सबै दैनिक आवश्यक पर्ने सामग्री बन्दोबस्तको व्यवस्थापन गरेको छ । दुवै सेल्टरमा ३-३ जना स्वयंसेवकलाई व्यवस्थापकीय कार्य हेर्ने गरी रेडक्रसले खटाएको छ ।

बाढीपीडितका लागि मनोपरामर्शदाताहरू पनि खटिएका छन् । अस्थायी सेल्टरमा मनोपरामर्शको कार्य गर्दै आएकी विमला खड्काले बालबालिकाले बाढीको त्रास बिर्संदै गएको बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘बालबालिकाहरूमा धेरै सुधार भएको छ । बाढीलाई बिर्सदै गएका छन् । तर उनीहरूका आमाबुबा र वृद्धवृद्धाहरू अझै चिन्तित देखिनुहुन्छ ।’ वयस्क र प्रौढहरू भविष्यप्रतिको चिन्ताले पूर्वअवस्थामा आउन नसकेको खड्का बताउँछिन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?