+
+
Shares

भोटेकोशीले बगायो थातथलो, शोकले खोस्यो दसैं खुसी (तस्विरहरू)

रसुवामा बाढीका कारण ३०० भन्दा बढी परिवार शोकमा छन्, आफन्त गुमाएका विस्थापितको बस्ती दसैंमा पनि सुनसान छ ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ कात्तिक ४ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजया दशमीका दिन नुवाकोट र रसुवाका विस्थापित बस्तीमा भोटेकोशी बाढीमा परिवार र थातथलो गुमाएकाहरू शोकमा डुबेका छन्।
  • विदुर नगरपालिका–५ का चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि बस्दै आएका छन्, तर यसपटक दसैंको रौनक देखिएन।
  • रसुवाबाट विस्थापित ३४४ परिवारका ३१५ जना र उत्तरगया गाउँपालिका–१ का ४९५ जना बाढीमा मृत्यु भएका वा बेपत्ता भएका छन्।

४ कात्तिक, नुवाकोट । विजया दशमीका दिन देशभरि टीका, जमरा, पिङ र आशीर्वादसहित चाडपर्वको उल्लास छाइरहँदा नुवाकोट र रसुवाका विस्थापित बस्तीमा भने निराशा देखियो । भोटेकोशी बाढीमा परिवार, आफन्त र थातथलो गुमाएका विस्थापितहरूका बस्ती सुनसान रहे ।

केही शिविरमा बालबालिकाका लागि पिङ हालिएको भए पनि अभिभावकदेखि वृद्धवृद्धासम्म बाढीमा बेपत्ता र मृत्यु भएका परिवारजनको सम्झनामा टोलाइरहेका थिए । उनीहरू पीडा पोख्दै भन्दै थिए, ‘चाडपर्वमा त झन् बितेका आफन्तको यादले सताउँदोरहेछ ।’

नुवाकोटको विदुर नगरपालिका–५ स्थित बाँडाचौतारो, पिपलटारलगायतका विस्थापित बस्तीमा यसपटक दसैंको रौनक छैन । तीन सयभन्दा बढी परिवारले दसैं सम्झिनसमेत चाहेनन् । रसुवाको उत्तरगया गाउँपालिका–१ बाट विस्थापित भएर आएका उनीहरूले बाढीमा परिवारका सदस्य र आफन्त गुमाएका छन् । थातथलो बगरमा परिणत भएपछि नुवाकोटमा आएर कष्टकर जीवन बिताइरहेका उनीहरू चाडपर्वको उमंगभन्दा आफन्तको शोकमा डुबेका छन् ।

विदुर नगरपालिका–५ का बाँडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार ठूलोगाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि बस्दै आएका छन् । यसपटक यी बस्तीमा दसैंको उल्लास देखिएन ।

यसअघिका वर्षमा उल्लासपूर्वक दशैं मनाउने गरे पनि अहिले आफूहरू आफन्त र परिवारजनको शोकमा रहेको उत्तरगया–१ का पूर्ववडाध्यक्ष तथा विस्थापित बमबहादुर तामाङले बताए । ‘यहाँ सबैको कोही न कोही परिवारका सदस्य बाढीमा बितेर गए’, उनले भने, ‘सबथोक गुमाइसकेका हाम्रा लागि चाडपर्वको खुसी नै खोसिएको छ ।’

बाढीबाट बाँचेर आएकाहरूकै जीवन अन्योलमा रहेकाले दसैं र अन्य पर्वको खासै महत्त्व नरहेको रसुवाबाट विस्थापित भएर यहाँ बसिरहेकी तेन्जिङ भुटीले बताइन् । ‘यहाँ सबैजना आफन्तविहीन भएका छौँ । बाँचेका हामी पनि अब कसरी बाँच्ने भन्ने चिन्ताले मन अशान्त भइरहन्छ’, उनले भनिन् ।

यद्यपि, उनले आगामी वर्षहरूमा फेरि दसैं मनाउन पाइने आशा पनि व्यक्त गरिन् । ‘बसोबासदेखि सबै कुराको व्यवस्था भयो भने आगामी वर्षहरूमा फेरि मनाउन पाइएला’, उनले भनिन् ।

चाडपर्व मनाउनुभन्दा पनि आफ्नो जीवनलाई सामान्य अवस्थामा कसरी फर्काउने र बसोबासको व्यवस्था कसरी मिलाउने भन्ने चिन्ताले सताइरहेको उनले बताइन् ।

यहाँ रसुवाबाट विस्थापित भएर आएका तीन सय ४४ परिवारका तीन सय १५ जना बाढीमा मृत्यु भएका वा बेपत्ता भएका छन् । यहाँ आइपुगेकाबाहेक उत्तरगया गाउँपालिका–१ का मात्रै चार सय ९५ जना बाढीमा मृत्यु भएका वा बेपत्ता छन् ।

२०७२ सालको भूकम्पका कारण सिंगो गाउँ बस्न अयोग्य भएपछि रसुवाको साविक हाकु गाविसका सबै नागरिक विस्थापित भएका थिए । उनीहरू २०७२ सालदेखि नै बेत्रावतीसँगैको खाल्टेमा बसोबास गर्दै आएका थिए ।

तस्विरहरू : रामहरि गजुरेल/अनलाइनखबर

 

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?