+
+
Shares
सेल्टरमा बाढीपीडित :

बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ

तीन तहका सरकारले बिर्सिँदै जान थालेपछि अस्थायी सेल्टरमा बसोबास गरिरहेका बाढीपीडितको चिन्ता बढेको छ । उनीहरूलाई अनिश्चित भविष्यले पिरोलेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असोज २८ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपीडित टिमुरेका बालिकाले भविष्य, आर्थिक समस्या र भाइको पढाइबारे मनोपरामर्शकर्ता अरपिता सुब्बालाई भावुक म्यासेज पठाएकी छन्।
  • मुस्ताङ गुम्बामा राखिएका १३६ घरधुरीका २७९ महिला, २८९ पुरुष र १२६ बालबालिकाले स्थायी पुनर्स्थापनाको माग गर्दै सरकारको उपस्थिति कम भएको गुनासो गरेका छन्।
  • बाढीपीडितले कागजात, विद्यालय शुल्क र स्वास्थ्य सेवाको चिन्ता बढेको भन्दै छिटो पुरानै थातथलोमा फर्कने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

२८ असोज, काठमाडौं । मनोपरामर्शकर्ता अरपिता सुब्बालाई केही दिनअघि एउटा भावुक म्यासेज आयो । टिमुरेका बाढीपीडितलाई राखिएको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको अस्थायी सेल्टरमा मनोपरामर्श दिइरहेकी अरपितालाई आएको उक्त म्यासेज बाढीमा आमाबुवा गुमाएकी एक बालिकाको थियो ।

म्यासेजमा अनिश्चित भविष्यको चिन्ता गरिएको छ । बुबाआमा नहुनु, परिवारमा बुबाका दाइभाइ नहुनु, भाइको शिक्षादीक्षा, भविष्यमा पर्न सक्ने आर्थिक समस्याप्रति चिन्तित हुँदै बालिकाले मनोपरार्शकर्ता सुब्बालाई म्यासेज पठाएकी थिइन् ।

बुबाआमा गुमाउनु परेको चिन्ता त छँदैछ, उनीमाथि पारिवारिक दायित्वसमेत थपिएको छ । आयस्रोतको खोजी गर्नु छ ।

विनाशकारी बाढीले अनिश्चित बनाएको भविष्यप्रति भावुक मेसेजमा भनिएको छ, ‘मेडम अहिले मलाई केही समस्या छैन । तर भविष्य कसलाई थाहा छ ? मैले आशा राख्ने भनेको मलाई र मेरो भाइलाई भविष्यमा आर्थिक समस्या हुँदा कसैले सहयोग गर्नुभयो भने त धन्यवाद दिने थिएँ । यो स्थिति हाम्रो लागि अति कष्टकर छ । यो दुःखको बेला हाम्रो लागि समाधानकर्ता भनेर उभिन कोही सजिलै तयार होला जस्तो लाग्दैन ।’

बुबाका दाजुभाइ नहुँदा उनका लागि परिवारबाट भरोसा दिने अर्को व्यक्ति छैन । असहाय हुनुपरेको पीडासहित उनी भन्छिन्, ‘मेरो बाबा एक्लो छोरा भएको हुँदा मेरो घरबाट सहयोग गर्ने अर्को व्यक्ति कोही हुनुहुन्न । मामाघरको हजुरआमा आएर हामीलाई सहयोग गरिरहनुभएको छ । हामीलाई अघि बढ्न आर्थिक र भावनात्मक सम्बन्धको आवश्यकता छ ।’

भोटेकोशीमा बाढी आएको ५० दिन पुगेको छ । सुरक्षाकर्मीले उद्धार गरी ल्याएका रसुवाका बाढीपीडितमध्ये टिमुरेका बासिन्दालाई मुस्ताङ गुम्बामा राखिएको छ । स्थायी बसोबास निश्चित नहुँदा पीडितहरू थप पीडित हुँदै गएको महसुस गर्न थालेका छन् ।

ती बालिका गाह्रो हुँदै गएको जीवनबारे मनोपरामर्शकर्तासँग भन्छिन्, ‘हामी अहिले एकदम कमजोर किन महसुस गरिरहेका छौं भने, बाबा र ममीबिना जीवन अघि बढाउन अति गाह्रो भएको छ । भाइको आत्मबल बढाउन मैले प्रयत्न गरिरहेको छु । उसलाई आत्मबल बढाउन मेरो प्रयास रहे पनि भाइको क्रियाकलापअनुसार उसको मुड बुझ्न सक्छु ।’

अन्योलग्रस्त जीवनप्रति पीडितहरू विस्तारै खुल्न थालेका छन् । कतिपय अहिले पनि खुलेर बोल्न सकिरहेका छैनन् ।

भदौ १० गतेको बाढीबाट उद्धार गरिएकाहरूलाई सुरुका दिनमा नागार्जुनस्थित एल्लो गुम्बामा राखिएको थियो । एल्लो गुम्बामा बस्नेहरूको संख्या बढी भएकोले स्याफ्रुबेंसी पीडितलाई त्यसै स्थानमा राखेर टिमुरे पीडितलाई मुस्ताङ गुम्बामा सारियो ।

टिमुरेका १३६ घरधुरीका २७९ महिला, २८९ पुरुष र १२६ बालबालिका मुस्ताङ गुम्बामा बस्छन् । हालसम्म उनीहरूका लागि खानाको बन्दोबस्त लायन्स क्लबले गरेको छ । खान र बस्न पाइरहेका उनीहरूका लागि भविष्यको चिन्ता प्रमुख बनेको छ । दुई बच्चाकी आमा खाङ्गु शेर्पा भन्छिन्, ‘अहिले खानेबस्ने मात्रै भएको छ । अब जाने ठाउँ पनि छैन । आफ्नो भन्ने केही पनि छैन ।’

खाङ्गु र उनका पतिले बाढीअघि टिमुरेमा पसल गर्थे । आम्दानी ठिकै थियो । दुई छोराछोरीलाई काठमाडौं राखेर पढाउन सकेका थिए । तीव्र गतिमा आएको बाढीमा भागेर शेर्पा दम्पत्ती बाँच्न सफल भए । तर कागजातहरू सबै बगे । सरकारी निकायले पहिचान गर्ने कागजातहरू केही छैनन् ।

उनीहरूलाई पुरानै थातथलोमा फर्कन मन छ । ५० दिन कटिसक्दासमेत सरकारी तबरबाट त्यसका लागि पहल नहुँदा खाङ्बुलाई चिन्ता थपिएको छ । सरकारसँग उनको आग्रह छ, ‘सरकारले हामीलाई हाम्रै ठाउँमा बसोबासको व्यवस्था मिलादेओस् । बच्चाहरू पढ्न पाइराखुन् । २-४ वर्षमा त केही गर्नसक्ने बनौंला नि ।’

पीडितको प्रकृति छुट्याएर सरकारले स्थायी बसोबासको व्यवस्था गर्ने अपेक्षा उनीहरूको छ । परिवारका सदस्य गुमाएका, सम्पत्ति पूर्ण क्षति भएका, रसुवामा क्षति पुगे पनि अन्यत्र आयस्रोत हुने बाटो भइरहेका लगायतको परिवार छुट्याएर सरकार प्राथमिकता निर्धारण गर्नुपर्ने पीडितहरूको माग छ ।

तीन तहका सरकार सुरुका समयमा अस्थायी सेल्टरमा देखिए पनि पछिल्ला दिनहरूमा देखिन छोडेको भन्दै चिन्ता व्यक्त भएको छ । बाढीपीडितका लागि मनोपरामर्शकर्ता सुब्बा अस्थायी सेल्टरमा बसिरहेकाहरूलाई सरकार नभएको महसुस भइरहेको बताउँछिन् । उनीहरूको चिन्ताबारे सुब्बा भन्छिन्, ‘कसरी पुनर्स्थापना हुने भन्ने उहाँहरूको मूल चिन्ता छ । अस्थायी ठाउँमा कति दिन बस्ने ?’

बाढीले बगाएको कागजात बनाउन सरकारले तदारुकता नलिएकोप्रति पीडितहरू चिन्तित छन् । मुस्ताङ गुम्बामा रहेका बालबालिकाको पठनपाठनमा पनि अनिश्चितता छ । सुरुवातका दिनमा कतिपय दाताले बच्चाहरूको विद्यालय शुल्क तिरिदिने भन्दै आए पनि पछिल्लो दिनमा शुल्कको चिन्ता थपिएको छ ।

विद्यालय शुल्क छुट दिन मानेका छैनन् । शुल्क तिर्न नसकेर छोराछोरीले विद्यालय जान छोड्नुपर्ने पीडितको चिन्ता पनि छ । बालबच्चादेखि प्रौढ र दीर्घरोगीसम्म सेल्टरमा बसिरहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्ने, परामर्श दिने चिकित्सकसमेत पछिल्ला दिनमा सेल्टर पुग्न छोडेका छन् ।

मुस्ताङ गुम्बा व्यवस्थापनले बाढीपीडितलाई तीन महिनासम्म राख्न सकिने वचन दिएको छ । त्यसपछिको अवस्थामा के गर्नेबारे निश्चित भइसकेको छैन । हरसम्भव छिटो पुरानै स्थानमा पुनर्स्थापित गरिदिन सरकारसँग पीडितको आग्रह छ ।

रसुवावासीले व्यवसाय, पयर्टन, सीमापार व्यापार लगायतले सरकारलाई विगतमा सहयोग पुर्‍याइरहेको बताउँदै एक पीडित भन्छन्, ‘सात मिनेटमा हामीले सबै गुमायौं । त्यो बेला आयआर्जन गरेर सरकारलाई दिन सक्ने थियौं । अहिले हामी गुम्बामा बस्ने अवस्थामा आउँदा सरकारले हेर्नुपर्दैन ?’

पुरानै थातथलोमा फर्कने अवस्था बने पुनः सरकारको ढुकुटी बढाउन आफूहरूको योगदान हुने पीडित बताउँछन् ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?