+
+
Shares

बाढी प्रभावितको त्रिपालभित्रको दसैं : यसरी लगाए टीका (तस्वीरहरू)

अस्थायी आवास केन्द्रमा चाडपर्व लक्षित गतिविधिअन्तर्गत बालबालिकाका लागि पिङलगायतका व्यवस्था गरिएको छ। संघसंस्था र व्यक्तिहरूको सहयोगमा प्रभावितलाई आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ कात्तिक ४ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको विदुर नगरपालिका–५ का ७० वर्षीय गोपी नेपालीले बाढीपछि विस्थापित जीवन बिताइरहेका बेला त्रिपालभित्रै परिवारसँग दसैँ मनाए।
  • भदौ १० गतेको भोटेकोशी बाढीले देविघाट क्षेत्रका करिब चार सय परिवारको घरबास उजाडेपछि ३० परिवारका करिब एक सय जना लामिबगैंचास्थित अस्थायी आवास केन्द्रमा बसिरहेका छन्।
  • वडाध्यक्ष लिलानाथ न्यौपानेका अनुसार प्रभावित परिवारका लागि सामुदायिक भान्सा, स्वास्थ्य सेवा, खानेपानी, लुगाकपडालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइँदै आएको छ।

४ कात्तिक, नुवाकोट । करिब दुई महिनादेखि विस्थापित जीवन बिताइरहेका नुवाकोटको विदुर नगरपालिका–५ का ७० वर्षीय गोपी नेपालीले त्रिपालभित्रै जसोतसो दसैँ मनाए। साँघुरो त्रिपाललाई नै घर मानेर बसिरहेका उनले त्यहीँ छोराछोरी, नातिनातिना र आफन्तलाई टीका लगाउँदै आशीर्वाद दिइरहेका थिए।

‘बाढीले सबै लग्यो, बरु धन्न हामी परिवारको ज्यान बच्यो’, नेपालीले टीकासँगै आशीर्वाद दिँदै भने, ‘यस्तो दुःख कहिल्यै कसैले पनि भोग्न नपरोस्। आशा छ, नमरी बाँचे अर्को सालदेखि आफ्नै घर हुनेछ र पहिलेजस्तै रमाइलोसँग दसैँ मनाउन पाइनेछ।’

उनीजस्तै देविघाट बजारबाट विस्थापित भएका ३० परिवारका करिब एक सय जना अहिले लामिबगैंचास्थित अस्थायी आवास केन्द्रमा बसिरहेका छन्। उनीहरूका लागि दसैँ उल्लासभन्दा पनि पीडा र निराशाबीच बितिरहेको छ। आफन्त गुमाएकामध्ये धेरैले दसैँ मनाएनन्। मनाउनेहरूले भने संस्कृति र परम्परा जोगाउन तथा बालबालिकाको खुसीका लागि भए पनि चाडपर्व मनाउनुपरेको बाध्यता सुनाए।

सुचित चित्रकारका अनुसार साना बालबालिकाको खुसीका लागि पनि दसैँ मनाएको औपचारिकता पूरा गर्नुपरेको छ। अस्थायी आवास केन्द्रबाहिर कोठा लिएर बस्न सक्ने केही परिवार पिपलटार क्षेत्रमा भाडामा बसिरहेका छन्। उनीहरूले पनि अरूकै घरमा भए पनि जसोतसो चाडपर्व मनाइरहेका छन्।

जिल्लाको मुख्य व्यापारिक तथा धार्मिक केन्द्र मानिने देविघाट क्षेत्र अहिले बगरमा परिणत भएको छ। बस्ती रहेको ठाउँमाथि अहिले पनि नदी बगिरहेको छ। भदौ १० गतेको भोटेकोशी बाढीले करिब चार सय परिवारको घरबास उजाडेपछि प्रभावितहरू चिन्तामा छन्। कष्टकर जीवन बिताइरहेका उनीहरूलाई रमाइलोभन्दा चिन्ता र निराशाले बढी सताउने गरेको छ।

भविष्यमा कसरी पुनःस्थापित भएर जीवनयापन गर्ने भन्ने चिन्ता सधैँ रहने गरेको बाढी प्रभावित सविता परियारले बताइन्।

अस्थायी आवास केन्द्रमा चाडपर्व लक्षित गतिविधिअन्तर्गत बालबालिकाका लागि पिङलगायतका व्यवस्था गरिएको छ। संघसंस्था र व्यक्तिहरूको सहयोगमा प्रभावितलाई आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ।

वडाध्यक्ष लिलानाथ न्यौपानेका अनुसार कारितासलगायत विभिन्न संघसंस्थाको सहयोगमा प्रभावित परिवारका लागि सामुदायिक भान्साको व्यवस्था गरिएको छ। उनीहरूलाई दैनिक जीवनयापनका लागि स्वास्थ्य सेवा, खानेपानी, लुगाकपडालगायत अत्यावश्यक सामग्रीसमेत उपलब्ध गराइँदै आएको छ।

तस्वीरहरू : रामहरी गजुरेल

 

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?