News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकार, पर्यटन बोर्ड र टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
- सन् २०२६ अन्त्यसम्म चल्ने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी र व्यवसायीलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।
- अभियानअन्तर्गत नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका पर्यटकीय गन्तव्य भ्रमण गरी आफ्नो अनुभव विश्वभर साझा गरिरहेका छन् ।
२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।
डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्त्वका विषय उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभव विश्वभरिका दर्शकमाझ पुर्याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।
नेपाल सरकारको सहकार्यमा पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान सुरुवात कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि थिए । सन् २०२६ अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसायी तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्ल्याटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलता प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए ।
‘डिजिटल प्ल्याटफर्मले विश्वले गन्तव्यहरू पत्ता लगाउने तरिकामा परिवर्तन ल्याएका छन्, संसारको एउटा कुनाबाट साझा गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ,’ उनले भने, ‘हामी टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने सम्भावित दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्छौं ।’
पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभाग निमित्त निर्देशक सुनिल शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरे ।

अभियान अन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।
त्यसैगरी अभियान थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘३ख्ष्कष्तल्भउब’ि ह्यासट्याग पेज सञ्चालनमा ल्याइएको छ । पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचर मार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोण प्रवर्द्धन गर्ने छ । विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिने छ ।
टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताए ।
यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4