News Summary
Generated by OK AI. Editorially reviewed.- सस्तो दरमा डलर साट्ने भन्दै ठगी गर्दै आएका २८ वर्षीय सुजन तामाङलाई प्रहरीले काठमाडौंको गाम्चामा गोली हानेर पक्राउ गरेको छ।
- पक्राउ गर्न गएका प्रहरीमाथि चक्कु प्रहार हुँदा एक प्रहरी घाइते भएका छन् र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार सुजनविरुद्ध यसअघि ८ वटा ठगी मुद्दा दर्ता भएका थिए र उनी नक्कली डलर तथा सुन देखाएर ठगीमा संलग्न थिए।
२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्यो ।
सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए ।
‘पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि एक राउन्ड हवाई फायर र एक राउन्ड घुँडामुनि गोली हानेर सुजनलाई पक्राउ गरिएको हो,’ एसएसपी घिमिरेले भने ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको हो ।
परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोली पक्राउका लागि जाँदा प्रहरीलाई नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनी डलर भन्दै कागजको मुठो देखाएर ठगी गर्ने काममा संलग्न रहेको दाबी प्रहरीको छ । पछिल्लो समय २२ असोज २०८३ मा उनले विभिन्न व्यक्तिलाई फोन गर्दै आफूसँग अमेरिकी डलर रहेको र सस्तो दरमा साट्ने भन्दै उनले ठगी गरेको एसएसपी घिमिरेले बताए ।
फोन गर्दै विश्वास दिलाएपछि अमेरिकी डलर ५० को नोट साट्न दिएको र २३ असोज २०८३ मा गोकर्णेश्वरस्थित लसुनटारमा बोलाएर दुई जना व्यक्तिबाट ८–८ लाख रुपैयाँ लुटी फरार भएको प्रहरीले बताएको छ ।
उनले विभिन्न समूह बनाई उपत्यकाका विभिन्न ठाउँहरूमा डलर साट्ने भन्दै ठगीको धन्दा चलाउँदै आएका छन् । पक्राउ परेका सुजनको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गर्दा यसअघि ८ वटा ठगीको मुद्दा चलिसकेको पाइएको छ ।
१५ मंसिर २०८० मा प्रहरी वृत्त स्वयम्भूबाट उनीविरुद्ध ठगीको मुद्दा चलेको पाइएको छ । स्वयम्भूबाटै २३ फागुन २०८० मा अर्को ठगीको मुद्दा चलेको सीआरएसमा देखिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट ८ साउन २०८१ मा ठगी, १ कात्तिक २०८१ मा स्वयम्भूबाटै ठगी, १६ मंसिर २०८२ मा इलाका प्रहरी कार्यालय बाह्रबीसे सिन्धुपाल्चोकबाट ठगीको मुद्दा चलेको पाइएको छ ।
त्यस्तै, २८ मंसिर २०८२ मा प्रहरी वृत्त महाराजगञ्जबाट ठगी, १ पुस २०८२ मा प्रहरी वृत्त बौद्धबाट ठगी र ८ चैत २०८२ मा प्रहरी वृत्त सातदोबाटोबाट ठगीको मुद्दा चलेको प्रहरीले बताएको छ ।
पछिल्लो समय उनी स्वयम्भू, बुढानीलकण्ठ, साँखु क्षेत्रमा सुन भन्दै नक्कली सुन देखाएर ठगी गर्ने काममा समेत सक्रिय देखिएको प्रहरीले बताएको छ । विगतका अन्य घटनाहरूमा समेत उनकै हुलिया मिल्न आएकाले उनी अन्य घटनामा पनि संलग्न हुनसक्ने प्रहरीले बताएको छ ।
उनको आपराधिक कार्यशैली पनि निकै अनौठो देखिएको प्रहरीले बताएको छ । सुजनको मोबाइल जाँच गर्दा विभिन्न होटल रेस्टुरेन्ट, गरगहना पसल, हार्डवेयर पसल, मेडिकल पसल, होलसेल पसलहरूका फोटा तथा फोन नम्बरहरू फेला परेका छन् ।
उनले त्यस्ता होटल तथा पसलहरूको निगरानी गर्ने र पसलहरूमा टाँसिएका होर्डिङ बोर्डमा लेखिएका नम्बर खिचेर लैजाने र फोन गरेर म त्यहाँ बसेको थियो, तपाईंको पसलबाट सामान लाने गर्थे लगायतका कुरा गरेर विश्वासमा पार्ने र डलर साट्ने प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ ।
आफ्नै होटलमा बसेको तथा पसलबाट सामान खरिद गर्ने गरेको बताएपछि उनीहरूले पनि सहजै विश्वास गर्ने गरेको प्रहरीले बताएको छ । त्यसैको फाइदा उठाउँदै सस्तो दरमा डलर साट्ने भन्दै एकान्त स्थानमा बोलाएर लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई विश्वासमा पार्न सुजनले आफ्नो समूहका एक जना व्यक्तिलाई बोल्न नसकेको नाटक गर्न लगाउने गरेका थिए । बोल्न नसकेका व्यक्तिलाई डलर बोक्न दिएर डिल गर्न लगाउने उनको शैली देखिएको प्रहरीले बताएको छ ।
यसरी विश्वासमा परेपछि बाहिर छेउमा डलर र भित्र कागजको बिटो राखिएको पोको थमाएर उनीहरू रकम लिएर फरार हुने गरेको प्रहरीले बताएको छ । यसरी ठगी गरेपछि उनी मोटरसाइकलमा फरार हुने गरेका थिए । त्यसपछि मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, सीमकार्ड परिवर्तन गर्ने गरेको देखिएको छ ।
प्रतिक्रिया 4