Comments Add Comment

अमेरिकामा टीपीएस प्राप्त नेपालीले कसरी अघि बढ्ने ?


१३ वैशाख, न्यूयोर्क । ६० वर्षीया वृन्दा राई न्यूयोर्क शहरमा बसेको अहिले १० वर्ष भन्दा बढी भयो । यसबीचमा उनी एक पटक मात्र नेपाल जान पाइन् । टेम्पोरेरी प्रोटेक्टेट स्टाटस् (टीपीएस) का कारण यो सम्भव भएको थियो ।

नेपालमा सन् २०१५ अर्थात वि.स. २०७२ मा आएको भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा प्रदान गर्दा वृन्दाले पनि यो सुविधा प्राप्त गरेकी थिइन् ।

बृन्दा लगायत लगभग ९ हजार नेपालीहरुले यही सुविधालाई प्रयोग गरेर वैधानिक रुपमा अमेरिकामा काम गर्न पाएका थिए भने नेपाल जान पनि सम्भव भएको थियो ।

‘म ८ वर्षपछि नेपाल फर्केर छोरालाई भेटेको थिएँ,’ वृन्दाले भनिन्,’ तर अब…।’ यति भन्दाभन्दै उनी आँखा आँसु पार्दै भक्कानिन थालिन् ।

न्यूयोर्क शहरमा आप्रवासीहरुको अधिकारका लागि लडिरहेको संस्था, ‘अधिकार,’ ले वैशाख १२ को सम्झनामा आयोजना गरेको कार्यक्रममा बोल्दै गर्दा उनी यसरी भक्कानिएकी हुन् ।

एक हप्ता भन्दाअघि नै पूर्व निर्धारित कार्यक्रमको स्वरुप ठीक एक दिनअघि बदलियो । भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना र टिपीएसको सुविधाका लागि लडाइँ भन्दै उक्त कार्यक्रमको आयोजना गर्ने भनिएको थियो ।

तर, ठीक एक दिनअघि अर्थात वैशाख १० गते अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलेे टीपीएस खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको समाचार विदेशी मिडियामा प्राथमिकताका साथ आयो । ‘अब कसरी अगाडि बढ्ने’ भन्ने विषयमा सबै केन्द्रित भए ।

अधिकार संस्थाकी कार्यकारी निर्देशक पवित्रा बेन्जामिनले सबैजना एकजुट भएर लड्न आहृवान गरिन् । ‘हामीले हाम्रो संघर्षलाई जारी राख्नैपर्छ यसका लागि सबै नेपाली एकजुट हुन आवश्यक छ ।’ उनले भनिन् ।

होमल्याण्ड सेक्यूरिटीले आधिकारिक रुपमा टीपीएस खारेज भएको रुपमा नभने पनि अब टीपीएस रहन्न भन्ने सबैलाई महसुश भइसकेको छ । ‘अनडकुमेन्ट हुँदा तपाईहरु सबैले चनाखो हुन जरुरी छ र यदी कसैले तपाईलाई पक्रन आयो भने कहीँ पनि हस्ताक्षर नगर्नुहोला र ‘म मेरो वकिलसँग कुरा गर्छु भन्नुहोला,’ न्यूयोर्कमा कार्यक्षेत्र बनाएर काम गरिरहेका नेपाली वकिल डिल्ली भट्टले सुझाव दिदिै भने, ‘लयरसँग मात्र कुरा गर्छु भन्नु पाउनु तपाईको अधिकार हो ।’

टीपीएस सुविधा खारेज भए पनि स्वदेश फर्कनका लागि एक वर्षको समय दिइने छ । आप्रवासीप्रति अनुदार ट्रम्प प्रशानसनले पछिल्लो समय अल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस सुविधा खारेज गरेको थियो भने सिरियाको जारी राखेको छ ।

होमल्याण्ड सेक्यूरिटीले टीपीएसका बारे १-२ दिनमा आधिकारिक रुपमा जानकारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment