Comments Add Comment

गाडी दुर्घटना भए यात्रुको उपचार नगर्ने यातायात व्यवसायीको घुर्की

'बैंक खाता नखोलेसम्म उपचार गर्न नसक्ने दावी

२४ वैशाख, काठमाडौं । सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’

आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।

व्यवसायीले सरकारले साउनबाट संघ तथा समिति नवीकरण नगर्ने निर्णय गरेकाले यातायात क्षेत्रको सम्पूर्ण जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताए ।

यातायातमन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुंग्याउने बताए ।

उनले यातायात क्षत्रेमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई-टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment