
५ चैत, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा सत्तारुढ विद्यार्थीहरु र स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ ।
पोखरास्थित गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले विद्यार्थीहरुबाट फिरौतीको शैलीमा रकम असुलेको विषयमा विश्वविद्यालय र डीन कार्यालय मौन बसेको भन्दै अखिल र अखिल (क्रान्तिकारी) र स्ववियुले मंगलबार डीन कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कलेज सञ्चालकहरुले विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्ने धम्की दिएर मुद्धा फिर्ता लिन मनोवैज्ञानिक प्रभावसमेत पारेको विद्यार्थीको आरोप छ । परीक्षा फाराम चैत ८ गतेसम्म मात्रै छ । तर, विद्यार्थीले अन्योलताका कारण फारम भरेका छैनन् ।
विद्यार्थीहरुले विद्यार्थीहरुको भविष्य नै चौपट पारेर फरार भएका गण्डकी मेडिकल कलेजका संचालक खुमाप्रसाद अर्याललाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
७२ घण्टाभित्र माग पूरा नभए त्रिवि उपकुलपतिको कार्याल र डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र विश्वविद्यालयका पदाधिकारी र डीनको राजीनामा माग्ने चेतावनी विद्यार्थीले दिएका छन् ।
विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।
सरकारले काठमाडौं बाहिरका मेडिकल कलेजका लागि एमबीबीएसका विद्यार्थीसँग ४२ लाख ४५ हजार तोकेको भए पनि गण्डकी मेडिकल कलेजले रसिदविनै १० देखि १५ लाखसम्म बढी रकम लिएपछि विद्यार्थी निरन्तर आन्दोलनमा छन् ।
कलेजका सञ्चालकविरुद्ध गत फागुन २१ गते विद्यार्थीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4