Comments Add Comment

प्रदेश ५ का सभामुख भन्छन् : प्रदेशको नाम राख्ने विषय संवेदनशील छ

२७ वैशाख, बुटवल । प्रदेशसभा ५ को पहिलो अधिवेशन गत माघ २१ गते सुरु भएर वैशाख २५ गते सकिएको छ ।

यसबीचमा प्रदेशसभा बैठक २० घण्टा २ मिनेट सञ्चालन भयो । १७ दिनमा २२ वटा बैठक सञ्चालन हुदा ४ विधेयक सर्वसम्मतिले पारित भए ।

प्रदेशसभाबाट आर्थिक कार्यविधि,सार्वजनिक लिखत प्रमाणिकरण, गाउँ नगरसभाको कानुन निर्माण सम्बन्धी र सेवा तथा सञ्चित कोषबाट खर्च गर्ने र विनियोजन विधेयक पारित भएको संसद सचिवालयका सचिव डा मानबहादुर बिकले बताए ।

संसद सचिवालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख पूर्णबहादुर घर्तीले पहिलो बैठक अत्यन्तै मर्यादित र व्यवस्थित भएको बताए ।

उनले प्रदेशको नाम र अस्थायी राजधानीका विषयमा भने अहिले छलफल भइरहेको बताए । यो विषय अत्यन्तै संवेदनशील रहेको भन्दै सभामुख घर्तीले प्रदेशलाई एकीकृत गर्ने कि टुक्र्याउने भन्नेमा सबैको चिन्ता भएकाले सहमतिका आधारमा टुंगाउनुपर्ने धारणा राखे ।

‘यो विषय संवेदनशील छ, सरकारले छिनोफानो गर्ने हो, तैपनि म पनि जनप्रतिनिधि भएकाले यो बिषयमा छलफल र अन्तरक्रियाहरु भैराखेको छ’ उनले भने ।

७४ कर्मचारी आवश्यक

प्रदेहसभालाई व्यवस्थित बनाउन फुल फेजमा जान मर्यादापालकसहित ७४ कर्मचारी आवश्यक पर्ने कानुन अधिकृत एवं सूचना अधिकारी चन्द्रप्रसाद अधिकारीले बताए । प्रदेशसभामा हाल २८ दरबन्दीमध्ये १७ जनामात्रै कार्यरत रहेको सचिवालयले जनाएको छ ।

प्रदेशसभा ५ मा ५५ पुरुष र ३२ महिलासहित ८७ जना प्रदेश सांसद रहेका छन् भने १ जना माननीय विना पन्थले सपथ नै लिएकी छैनन् ।

प्रदेशसभा ५ मा नेकपा एमालेका ४१ जना, नेकपा माओवादी केन्द्रका २० जना, नेपाली कांग्रेसका १९ जना, संघीय समाजवादी फोरम नेपालका ५ जना, राजपा नेपालका १ जना तथा राजमोका १ जना गरी जम्मा ८७ जना माननीय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment