Comments Add Comment

मोदी नेपालमा तीर्थयात्रामा थिए या चुनावी एजेण्डामा ?

तीर्थयात्रीको रुपमा आफूलाई प्रस्तुत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणको शुरुवात मिथिलाको साँस्कृतिक राजधानी मानिने जनकपुरधामबाट गरे । र, केबल दुई दिनको उनको नेपाल भ्रमण तीर्थाटन जस्तै नै देखियो ।

रामकथाअनुसार जगत जननी भनिने जानकी महाराज जनकको राज्य जनकपुरमा नै हुर्के बढेकी थिइन् । यहीँ नै अयोध्याकी कौशल्याका छोरा रामले शिव धनुष तोडे र सीता-रामको विवाह सम्पन्न भएको थियो ।

टीकमगढकी महारानी वृषभानु कुमारीले आफ्नो गुरुले भनेअनुसार जनकपुरमा जानकी मन्दिरको निर्माण १९ औं शताव्दीको अन्तिम दशकमा गराएकी थिइन् ।

प्रधानमन्त्री मोदीको तीर्थयात्रा

प्रधानमन्त्री मोदी जनकपुर मन्दिरमा षोडशोपचार विधिबाट पूजा अर्चना गरेपछि मात्रै सार्वजनिक कार्यक्रममा देखिए । चार वर्षमा प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणको यदि कुनै प्रतीक चिह्न देखाइयो भने त्यही एक तस्वीर हुनेछ जसमा उनी मग्न भएर अखण्ड कीर्तनमा करताल बजाइरहेको देखिन्छ ।

प्रधानमन्त्री मोदीको तीर्थयात्रा वैष्णव मतको रामानन्द सम्प्रदायका प्रमुख केन्द्रमध्ये एक मानिने पवित्र भूमिबाट भयो । भनिन्छ तत्कालीन भारतीय समाजमा व्याप्त छुवाछुत, उच-नीच, जात-पात र नर-नारी विभेदको विरोध गर्ने स्वामी रामानन्दले मध्यकालमा ‘जात-पात पूछे ना कोई, हरिको भजै सो हरिका होइ,’ उदघोषका साथ भक्ति आन्दोलनको शंखनाद गरेका थिए ।

हिन्दू धर्ममा समानता र सहजता ल्याउने रामानन्द पछि रैदास, सूरदास र कबीर जस्ता सुधारक सन्तले उत्तर भारतमा सामाजिक र साँस्कृतिक आन्दोलनलाई घरघरमा पुर्‍याए ।

मन्दिर र मस्जिदको मसला

करताल प्रधानमन्त्री मोदीले जनकपुरमा बजाइरहेका थिए तर त्यसको गुञ्जन केवल अयोध्या, काशी, प्रयाग र त्रितकुटमा मात्र होइन बरु भक्ति परम्पराका वैष्णव सन्त रामानुजाचार्यको कर्मभूमि कर्नाटक र तमिलनाडुसम्म पुग्यो होला ।

पूजा प्रधानमन्त्री मोदीले जनकपुरमा गरिरहेका थिए तर अयोध्याका मन्दिर र मस्जिदका मसला भारतीय मिडियामा फेरि पनि निस्किएका थिए ।

प्रधानमन्त्री मोदीको दोस्रो तीर्थ मुक्तिनाथ थियो जसलाई वैष्णवकै स्वामीनारायण सम्प्रदायको महत्वपूर्ण धाम मानिन्छ । धामको भूमि मात्र पनि पवित्र मानिन्छ । त्यहाँ पुग्नु नै आफैमा एक उपलब्धि हो ।

मुक्तिनाथबाट प्रधानमन्त्रीको नजर गुजरातमा हुनेछ जहाँ स्वामीनारायण सम्प्रदायको उल्लेख छ ।

रामायण सर्किटबाट फुकियो चुनावको बिगुल

पशुपतिनाथमा प्रधानमन्त्री मोदीले तेस्रोपटक पूजाअर्चना गरे । निगाह थियो शैव सम्प्रदायमाथि जो पूरै भारतमा फैलिएको छ । प्रधानमन्त्री मोदी काशीबाट सांसद बनेका हुन् ।

तीर्थस्थलमा पशुपतिनाथ र काशी विश्वनाथको महत्वको पटक-पटक दोहोर्‍याउने उनको आदतजस्तै बनिसकेको छ ।
हरि भजन भलै मुख्य तीर्थयात्रीको उद्देश्य रह्यो होला तर भारतीय जनता पार्टीको प्रमुख चेहरा आफ्नो राजनीतिक प्रचारकको भूमिकालाई उनले बिर्सिएनन् ।

भारतमा आम चुनाव आगामी वर्ष हुँदैछ । नेपालसँग जोडिएको उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल नयाँदिल्लीको शासकको भाग्य निर्धारण गर्नेछ ।

त्यसैले एक साथ प्रधानमन्त्री मोदीले रामायण सर्किट, बोधगया, अयोध्या, जनकपुर बस सेवा र पर्यटन विकासको कुरा गरे । र, हिन्दीमा मैथिली र नेपाली भाषीहरुको गुणगान गाए । लाग्छ भाजपा आफ्नो प्रचार रणनीतिलाई २०१९ को चुनावलाई मध्यनजर गरी चुस्त दुरुस्त राख्न लागिसकेको छ ।

जनकपुरको बाह्रबिघा मैदानमा प्रधानमन्त्री मोदी जब बोलिरहेका थिए, लाग्थ्यो उनी कुनै चुनावी प्रचारसभालाई सम्बोधन गरिहेका छन् । अंग्रेजी भाषाका ऐक्रोनिम्ससँग प्रधानमन्त्री मोदीको लगाव कायमै छ ।

पछिल्लोपटक उनले नेपालका सांसदहरुलाई ‘हिट’ अर्थात् ‘हाइवेज, आइवेज र ट्रान्सवेज’को नारासहित सम्बोधन गरेका थिए । यसपटक जनसमुदायको हातमा ‘फाइभ टी’ थमाइदिए । परम्परा, पबवन्ध र व्यापार, पर्यटन, प्रविधि र परिवहनलाई ‘पाँच प’ पनि भन्न सकिन्थ्यो तर अंग्रेजीको टुक्काको मजा नै बेग्लै छ ।

तमासाबाजीको डिप्लोम्याटिक अप्टिक्स आफ्नो ठाउँमा छ, नेपाल-भारत सम्बन्धको विवादग्रस्त कुटनीतिक र आर्थिक मुद्दा भने ज्यूँका त्यूँ छन् ।

आफ्नो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री मोदी ‘मधेस’ शब्द उच्चारण गर्नबाट कन्जुस्याइँ गरे । सन् २०१५ मा संविधान संशोधनका लागि ५० भन्दा बढी मधेसीले ज्यान दिएका थिए । उनीहरुको बलिदानको उल्लेखसमेत भएन । हो, आँसु पुछ्नका लागि सय करोड रुपैयाँको सहयोगको बाचा भने प्रधानमन्त्री मोदीले गरे ।

दशकौंदेखि मधेसको जीवनरेखा मानिने भारतीय सहयोगको हुलाकी राजमार्गको सुस्त गति देखिइरहेका बेला दिल्लीको बाचामाथि नेपालीहरुको विश्वास परिणामपछि मात्रै देखिएला ।

नेपाली शासकलाई रिझाउने नीतिको कुटनीतिको पनि आफ्ना सीमा छन् । चीनको सामरिक सरोकारलाई काठमाडौंले नजरअन्दाज गर्न सक्दैन । शीतयुद्धको समयदेखि नै नेपाल अमेरिकाको साथसाथै अन्य पश्चिमी देशको कुटनीतिको खेल मैदान बनेको छ ।

प्रधानमन्त्री मोदीले चाहँदैमा काठमाडौंको भारतप्रतिको रवैया रातारात बदलिँदैन । भारतीय जनमानसमा भलै ‘मोदी नट वेलकम’ सामाजिक सञ्जालको प्रवाहबाट एकाएक गायब भयो तर नेपालको मध्यम वर्गमा वर्षैंदेखि व्याप्त भारत विरोधी जनभावना प्रधानमन्त्री मोदीले भजन गाएकै भरमा मेटिनेवाला छैन । प्रधानमन्त्री मोदीको नेपाल यात्राको उद्देश्य हिन्दुत्वको राजनीतिलाई कुटनीतिक रंगा दिनु थियो, जो उनले गरे ।

संविधान संशोधनको मुद्दालाई थन्क्याएर काठमाडौंसँग मिलेर काम गर्ने सल्लाह उनले मधेसीहरुलाई दिन चाहन्थे । यस कार्यमा उनलाई केबल आंशिक सफलता मिल्यो ।

पूर्वनक्सलपन्थी प्रधानमन्त्री ओली

जनकपुरको नागरिक अभिनन्दन समारोहमा पनि स्वतन्त्र मधेशको नारा लाग्यो र मन्चमा मधेसीहरुको संघर्षको इतिहासलाई सम्झना गरियो ।

प्रधानमन्त्री मोदीले कुटनीतिक उपलब्धि त तब देखिने छ जब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो प्रस्ताविक बेइजिङ भ्रमणमा केही दिनपछि निस्किने छन् ।

प्रधानमन्त्री मोदीको तुलनामा प्रधानमन्त्री ओलीको कुटनीतिक अप्टिक्सबाट चक्मा दिने क्षमता यदि एक्काइस छैन भने उन्नाइस पनि छैन ।

प्रधानमन्त्री मोदी करताल बजाइरहेको देखिए भने उनलाई प्रभावित पार्नका लागि पूर्वनक्सलपन्थी प्रधानमन्त्री ओलीले पनि गेरुवाबस्त्र धारण गरे । अरु त्यस्तै हो, कुटनीतिक तमासाले दर्शकहरुलाई भरपूर मनोरन्जन दिने गर्दछ ।

अब भगवान बुद्धको जन्मस्थान लुम्बिनीलाई प्रधानमन्त्री मोदीको चौथो नेपाल तीर्थयात्राको प्रतिक्षा रहने छ जसलाई आफ्ना भाषणमा उल्लेख गर्न उनले कहिल्यै भुल्दैनन् ।

जहाँसम्म आम व्यक्तिको रोटी, बेटी र रोजीरोटीको सम्बन्धको सवाल छ, त्यो त सदियौंदेखि चल्दै आएको छ र चलिरहने छ ।

(सीके लालको यो विचारलाई बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment