Comments Add Comment

आइएसआईका पूर्वप्रमुखमाथि पाकिस्तानी सेनाको छानबिन, रअ प्रमुखसँग साँठगाँठको आरोप


पाकिस्तानको सेनाले सोमबार इन्टर (सर्भिस इन्टेलिजेन्स -आईएसआई)का पूर्व निर्देशक जनरल असद दुर्रानीमाथि छानबिन गर्नको लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको छ ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखसँग उनको साँठगाँठको बारेमा अनुसन्धान गर्न लागिएको हो । एक पुस्तकले विवाद निम्त्याएपछि सेनाले सरकारलाई उनीमाथि भ्रमण प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

‘बहालवाला लेफि्टनेन्ट जनरलका नेतृत्वमा एक औपचारिक कोर्ट अफ इन्क्वायरी गठन भएको छ र यसले उक्त विषयमा विस्तृत छानबिन गर्नेछ । सम्बन्धित निकायलाई लेफि्टनेन्ट जनरल असद दुर्रानीको नामलाई ‘एक्जिट कन्ट्रोल लिस्ट’मा राख्न आग्रह गरिएको छ’ आइएसपिआरका निर्देशक जनरल मेजर जनरल असिफ गफुरले टि्वट गरेका छन् ।

दुर्रानीलाई यसअघि सैनिक मुख्यालयमा पुस्तकको प्रोजेक्टमा सलंग्न भएको कुरा र उनले पुस्तकमा व्यक्त गरेको दावीहरुको बारेमा प्रष्टिकरण दिन बोलाइएको थियो । उक्त पुस्तक ‘द स्पाइ क्रोनिकल्सः र, आइएसआई एण्ड द इलुजन अफ पिस’ अघिल्लो हप्तामात्रै भारतमा सार्वजनिक भएको थियो । यसमा एक भारतीय पत्रकारले मध्यस्थतामा भएको दुर्रानी र दुलातबीच भएको कुराकानी राखिएको छ ।

दुई पूर्व गुप्तचर प्रमुखहरुले केही यस्ता विवादित विषयमा कुरा गरेका थिए जसले पाकिस्तान र भारतको सम्बन्ध दशकौंदेखि तनावमा परेको थियो र कहिलेकाहीँ उनीहरु युद्धको नजिक नै पुगेका थिए । यी विषयहरुमा आतंकवाद, मुम्बई आक्रमण, काश्मिरको विषय, गुप्तचर युद्ध र दुई देशका रक्षा कर्मचारीतन्त्र र गुप्तचर एजेन्सीहरुको प्रभावहरु रहेका थिए ।

सेनाले उनीमाथि सैन्य आचारसंहिताकोे उलंघनको सम्भावित मुद्दा उनीमाथि लगाउने तयारी गरेको छ । यो आचारसंहिता सबै बहालवाला र अवकाशप्राप्त सैन्य व्यक्तिहरुलाई लागू हुन्छ । मिलिटरी कानूनको सेक्सन ५५ ले ‘कन्डक्ट अनबिकमिङ एन अफिसर’ लाई बुझाउँछ जसको धेरै ठूलो सीमा रहेको छ ।

कोर्ट अफ इन्क्वायरीले पुस्तकमाथि केन्द्रित भई त्यसमा लेखिएका सामग्रीहरुको बारेमा छानबिन गर्नेछ । उक्त पुस्तकमा संलग्न हुनुमा दुर्रानी दोषी रहेको र इक्वायरीले पत्ता लगाएका तथ्यको आधारमा सेना प्रमुखलाई उचित कदम चाल्न सिफारिस गर्नेछ ।

पूर्व सैनिक अधिकारीहरुले उनी माथि कोर्टमार्सल हुने आशंका व्यक्त गरेका छन् । यदि सेना प्रमुखले कोर्टमार्सल गर्ने पर्याप्त आधारहरु भेटे भने उनी माथि प्राप्त प्रमाणहरुको आधारमा कोर्टमार्सलको प्रक्रिया चल्ने छ ।

‘यो प्रक्रियाको पहिलो चरण हो जसमा कोर्टले उपलब्ध प्रमाणहरुको छानबिन गरिन्छ र केही गलत भएको वा नभएको खोजी गरिन्छ’ एक पूर्व सैन्य अधिकृतले बताए ।

कोर्टलाई छानबिनको लागि कुनै पनि समय सीमा तोकिएको छैन तर अर्का एक अवकाशप्राप्त सैन्य अधिकृतका अनुसार यस्ता कोर्टहरुले दिनको हिसाबमा काम गर्छन् ।

यस पुस्तकमा दुर्रानीका कैयौं त्यस्ता विवादास्पद बयानहरु समेटिएका छन् । आइएसआइले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार, सन् २०११ को अमेरिकी विशेष फौजको अपरेसन जसमा आतंककारी संस्था अल कायदाका प्रमुख ओसामा बिन लादेन मारिएका थिए, गुप्तचर कुलभूषण जाधभको मुद्दाको सम्भावित अन्तिम नतिजा र काश्मिर आन्दोलन नियन्त्रणको सम्भावित तरिका जस्ता विषयमा दुर्रानीको अभिव्यक्ति समेटिएका छन् । तर, धेरैले दुर्रानीले त्यस्ता गोप्य कुराहरु खोलेको विश्वास गर्दैनन् ।

रक्षा विश्लेषकहरुका अनुसार पुस्तकको लागि अनुमति नलिएकोमा उनी दोषी देखिने र आफ्नो भाग सेनालाई पहिले नै देखाएर त्यसको स्विकृति लिने नियमित प्रक्रिया उनले पालना गरेका छैनन् ।

द डनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment