Comments Add Comment

ठेकेदारको लापरवाहीले निर्माणाधीन पुल अलपत्र, जनप्रतिनिधिले गुहारे सीडीओ

१६ जेठ, गोरखा । ठेकेदारको लापरवाहीका कारण वारपाक सुलिकोट र अजिरकोट गाउँपालिका जोड्ने दरौदी नदी माथिको चनौटे मोटरेवल पुल निर्माण कार्य अलपत्र परेको छ ।

निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय सकिएर म्याद थप गर्दासमेत कामको प्रगति हुन सकेको छैन । दुई वर्षमा पुल निर्माण कार्य सक्ने गरी ०७२ साल असार १ गते एडभेन्चर धानथान जेभिसँग ठेक्का सम्झौता भएको थियो ।

काम सम्पन्न नभएपछि पुनः ९ महिना म्याद थप भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिवजीप्रसाद ढुङ्गानाले बताए ।

थप भएको म्याद अनुसार ०७४ चैत्र १५ गते काम सक्नुपर्ने भएपनि हाल सम्म करिब ५० प्रतिशत मात्र काम भएको छ । ‘म्याद थपको समयमा पनि काम सम्पन्न भएन, फेरि म्याद थप गर्न भन्दै निवेदन दिएका छन्,’ढुङ्गानाले भने ।

काम सक्ने समय अवधि नाघेपनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पिलरको फाउण्डेशन र ग्याविङ वाल मात्र निर्माण भएको छ ।

कुल तीन करोड ५२ लाख लागतमा निर्माण हुन लागेको उक्त पुल समयमै नबन्दा अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका स्थानीयहरुलाई आवतजावतमा समस्या हुँदै आएको छ । ठेकेदार रामराज पौडेलले भने काम भइरहेकाले असार सम्ममा काम सक्ने दावी गरेका छन् ।

जनप्रतिनिधिले गुहारे सीडीओ

पुल निर्माण कार्यमा ढिलाइ भएको भन्दै यथाशीघ्र काम सम्पन्न गराउनका लागि पहल गरिदिन जनप्रतिनिधिसँगै राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

केही दिनअघि संयुक्त रुपमा निवदेन बुझाउँदै उनीहरुले ढिलोमा असार मसान्तसम्ममा काम सक्नका लागि ठेकेदारलाई ताकेता गरिदिन आग्रह गरेका हुन् ।

काममा लापरवाही भएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाका वडा अध्यक्ष, जिल्ला समन्वय समिति सदस्य, बिभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बुद्धिजीविहरुले संयुक्त रुपमा प्रजिअ नारायणप्रसाद भट्टराइलाई निवेदन बुझाएका हुन् ।

प्रजिअ भट्टराइले चाडो काम सक्नका लागि ठेकेदारलाई ताकेता गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment