Comments Add Comment

विश्वकप समूह सीः सबैका लागि फ्रान्स चुनौती

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ ।

फ्रान्स

फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह ‘ए’ को विजेता बनेर विश्वकपमा पुगेको हो ।

फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ । फ्रान्स यसपटक २० वर्षपछि उपाधि फर्काउने लयमा देखिएको छ ।

मुख्य खेलाडी – ओलिभर जिरउड र एन्टोनी ग्रिजम्यान

फ्रान्स टिम समग्रमा बलियो टिम हो । टिममा सबैजसो स्टार खेलाडी छन् । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । गएको वर्षको जुन ९ मा भएको खेलमा ओलिभर जिरउडको सुन्दर गोलबाट स्वीडेनलाई २-१ ले हराएर फ्रान्सले विश्वकपमा स्थान बनाएको हो ।

जिरउडसँगै एन्टोनी गि्रजम्यानमा धेरैको नजर छ । उनी सन् २०१६ को युरोकपका सर्वाधिक गोलकर्ता हुन् र प्लेअर अफ दि टुर्नामेन्ट पनि हुन् । उनले विश्वकप २०१८ को छनोटमा फ्रान्सका लागि चार गोल गरे भने चार गोलका लागि सहयोग गरेका थिए ।

यस्तै टिममा पउल पोग्बा, उसमान डेम्बेले जस्ता उत्कृष्ट खेलाडी पनि छन् । जसका कारण फ्रान्स विश्वकप दाबेदार बनेको छ ।

प्रशिक्षक – डिडिएर डेसच्याम्प्स

खेलाडीका रुपमा विश्वकप विजेता डिडिएर डेसच्याम्प्स अहिले प्रशिक्षक छन् । उनले सन् १९९८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी गएको ६ वर्षदेखि फ्रान्सको प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा दुई वर्षअघि फ्रान्स युरोपकको फाइनलमा पुगेको थियो । उनले मोनाको, युभेन्टस तथा मार्सेलीमा पनि प्रशिक्षकको भूमिका निभाइसकेका छन् । खेलाडीका रुपमा पाएको सफलताले पनि उनलाई प्रशिक्षणमा सहयोग मिलिरहेको छ ।

अस्ट्रेलिया

अस्ट्रेलियाको यो पाँचौ विश्वकप हो । पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको अस्ट्रेलिया अहिले लगातार चौथो पटक विश्वकपको लागि छनोट भयो ।

१९७४ पछि सन् २००६, २०१० र १०१४ को विश्वकप खेलेको अस्ट्रेलिया २००६ मा अन्तिम १६ सम्म पुगेको थियो । यसपटक सिधै छनोट हुन नसकेर प्ले अफमार्फत अस्टे्रलिया विश्वकपमा पुगेको हो ।

प्ले अफमा होन्डुरसलाई हराएको थियो । सन् २०१५ मा एसियन कपको उपाधि जितेको अस्ट्रेलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यका साथ रसिया जाँदै छ । फिफा वरियतामा ४० औँ स्थानमा रहेको अस्टे्रलियाले समूह चरण पार गर्ने आँकलन फुटबल पण्डितहरुले गरेका छन् ।

मुख्य खेलाडी – टिम चाहिल

अस्टे्रलियन टिमका लागि फरवार्ड टिम चाहिल महत्वपूर्ण खेलाडी हुन् । विश्वकप छनोटका खेलमा ११ गोल गरेका उनमै अस्टे्रलियाको प|mन्ट लाइन निर्भर छ । उनी उत्कृष्ट हेडिङ गोलका लागि पनि चिनिन्छन् । उनी इंग्लिस क्लब मिलवालका लागि व्यावसायिक फुटबल खेल्छन् ।

टिम चाहिलसँगै अस्टे्रलियन टिमका अर्का मुख्य खेलाडी मिल जेडिनक हुन् । एस्टोन भिलाबाट व्यावसायिक फुटबल खेल्ने उनी मिडफिल्डका राम्रा खेलाडी हुन् । २००८ देखि अस्टे्रलियन टिममा रहेका उनले राष्ट्रिय टिमबाट ७५ खेलमा १८ गोल गरेका छन् ।

प्रशिक्षक – ब्रेट भ्यान मरविक

मरविकले गएको जनवरीदेखि मात्रै अस्टे्रलियन टिम सम्हालेका हुन् । प्रशिक्षक एन्गे पोस्टेकोग्लुले राजीनामा दिएपछि मरविल प्रशिक्षक नियुक्त भएका हुन् । पूर्व खेलाडीसमेत रहेका नेदरल्याण्ड्सका उनले यसअघि नेदरल्याण्ड्स र साउदी अरेबियाको टिम पनि सम्हालिसकेका छन् ।

पेरु

पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसअघि पेरुले सन् १९३०, १९७० र १९७८ को विश्वकप खेलेको थियो ।

पेरुका धेरैजस्तो खेलाडी मेक्सिकोमा व्यावसायिक फुटबल खेल्छन् । यसपटक समूह चरणमा पेरुको सम्भावना पनि बलियो मानिएको छ । फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु अप्रत्याशित टोलीको रुपमा उदाउन सक्नेछ ।

मुख्य खेलाडी – जेफरसन फरफान

फरवार्ड फरफानले ३३ वर्षको उमेरमा पनि आˆनो उत्कृष्टता देखाइरहेका छन् । यो पटक विश्वकपसम्म पुग्न पेरुका लागि उनको खेल महत्वपूर्ण रहृयो ।

पाराग्वे र न्यूजिल्याण्डलाई हराउँदा उनको भूमिका प्रमुख रहृयो । उनी रसियन क्लबबाट नै व्यावसायिक फुटबल खेल्छन् । सन् २००३ देखि पेरुको राष्ट्रिय टिममा रहेका उनले ८२ खेलमा २५ गोल गरेका छन् ।

प्रशिक्षक – रिकार्डो गारेका

प्रशिक्षक रिकार्डो गारेकाले सन् २०१५ देखि पेरुको टिम सम्हालिरहेका छन् । उनकै प्रशिक्षणमा ३६ वर्षपछि पेरु विश्वकपमा फर्किएकाले पनि उनीमाथि ठूलो आशा राखिएको छ । पूर्व खेलाडीसमेत रहेका उनले सन् १९९६ देखि नै प्रशिक्षणको काम सुरु गरेका हुन् ।

डेनमार्क

डेनमार्क युरोपमा सबैभन्दा छिटो फुटबलमा सुधार गरेको टिम हो । डेनमार्कको यो पाँचौ विश्वकप हो । यसअघि डेनमार्कले सन् १९८६, १९९८, २००२ र २०१० को विश्वकप खेलेको थियो ।

विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ । यसपटक समूह ‘सी’ मा रहेका टोलीमध्ये अघिल्लो चरणमा जाने सम्भावना डेनमार्कको बलिायो छ ।

विश्वकप छनोटमा पोल्याण्डलाई ४-० र आयरल्याण्डलाई ५-१ ले हराएर डेनमार्कले सनसनी मच्चाएको थियो । फिफा विश्व वरियतामा १२ औँ स्थानमा रहेको डेनमार्क यसपटक स्टार स्ट्राइकर क्रिष्टियन इरिकसनका कारण पनि चर्चामा छ ।

मुख्य खेलाडी – क्रिष्टियन इरिकसन

इंग्लिस क्लब टोटनहृयामबाट व्यावसायिक फुटबल खेल्ने इरिकसनले १८ वर्षकै उमेरमा सन् २०१० को विश्वकपमा डेब्यू गरेका थिए । त्यसयता उनले डेनमार्कका लागि ७७ खेलमा २१ गोल गरेका छन् ।

विश्वकप छनोटका खेलमा पनि गोल गर्न र गोलका अवसर सिर्जना गर्न महत्वपूर्ण बनेका इरिकसनकै खेलमा रसिया विश्वकपमा डेनमार्कको भविष्य आँकलन हुने फुटबल विश्लेषक बताउँछन् । छनोट चरणमा पनि उनले ८ खेलमा ११ गरेका थिए ।

प्रशिक्षक – एज हराइड

नर्वेका ६४ वर्षे एज हराइड सन् २०१६ देखि डेनमार्कको टिममा छन् । पूर्व खेलाडीसमेत रहेका हराइड सन् १९८५ देखि नै प्रशिक्षणमा छन् । उनले सन् २००३ देखि २००८ सम्म नर्वेको राष्ट्रिय टिम पनि सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment