Comments Add Comment

ग्रिजम्यानले पत्रकार सम्मेलनमै उरुग्वेको झण्डा किन ओढे ?

काठमाडौं । विश्वकप फुटबलको उपाधि जितेपछि आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले उरुग्वेको झण्डा ओढेको देखियो ।

ग्रिजम्यानले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेप्रति आफ्नो झुकाव यसअघि पनि प्रकट गर्ने गरेका थिए । क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध गोल गर्दा खुसी मनाएनन् ।

एथ्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने उनको डियगो गोडिन र जोसे गिमेनेजसँग विशेष सम्बन्ध रहेको थियो, जो उरुग्वेका हुन् । त्यही सम्बन्धकै कारण उरुग्वेलाई माया गर्न थालेको ग्रिजम्यान बताउँछन् ।

लुज्निकी रंगशालामा एक पत्रकारले उनलाई उरुग्वेको झण्डा प्रदान गर्दा उनले सहजतापूर्वक लिए ।

पत्रकार उरुग्वेका थिए । झण्डा प्राप्त गर्नेबित्तिकै उनले ओढे । ‘मैले उरुग्वेका धेरै मानिसहरुसँग काम गरेको छु, म उनीहरुलाई धेरै माया गर्छु,’ उरुग्वेमाथि फ्रान्सको विजयपछि ग्रिजम्यानले भने ।

‘म उनीहरुको अगाडि सेलिब्रेट गर्न चाहन्न । म उरुग्वेको संस्कृति र मानिसहरुलाई मन पराउँछु,’ उनले भने ।

विश्व विजेता भएपछि पत्रकार सम्मेलनमा कसरी प्रस्तुत हुने भनेर ग्रिजम्यान अलमलमा देखिए । ‘मलाई अहिले पनि राम्रोसँग थाहा छैन कि विश्वविजेताको अर्थ के हो’ उनले भने, ‘म मेरो टिमका साथीहरु र सम्पूर्ण समूहमा गर्व गर्छु । फ्रान्समा गएर सम्पूर्ण फ्यानहरुसँग उत्सव मनाउन आतुर छु ।’

फ्रान्सेली टिमको सबैभन्दा बलियो पाटो भनेको युवा खेलाडीहरुको वर्चश्वलाई मानिएको छ । खासगरी १९ वर्षीय स्टार किलियन एम्बाप्पेलाई धेरैले मेस्सी र रोनाल्डोको उत्तराधिकारीको रुपमा हेर्न थालेका छन् ।

‘हामीसँग उज्ववल भविष्य भएका धेरै युवा खेलाडीहरु छन्,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment