
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालतले ज्यान मार्ने उद्योगका आरोपीहरूलाई पक्राउ गर्न अनुमति नदिएपछि उनीहरू छुटेका थिए।
- न्यायाधीशको निर्णयविरुद्ध उजुरी परेको छ।
- घटनापछिको मेडिकल रिपोर्टहरू भए पनि अदालतले आरोपीहरूलाई छोड्न आदेश दिएको थियो।
१७ असार, काठमाडौं । ललितपुरमा एक युवकमाथि भएको कुटपिटको घटनामा पक्राउ परेका व्यक्तिलाई न्यायाधीशले पक्राउ अनुमति नै नदिएपछि छुटेका छन् ।
विवादास्पत पृष्ठभूमिका ज्यान मार्ने उद्योगका आरोपीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । म्याद लिएर अनुसन्धान गर्न भन्दै सरकारी वकिल कार्यालयमार्फत अदालतसम्म प्रहरी पुग्यो । तर, जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले भने आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नै नरहेको भन्दै छाडिएका छन् ।
यो घटना ८ असार २०८२ को हो । ललितपुर महानगरपालिका–२ सानेपा खरिबोटस्थित सार्वजनिक बाटोमा बिहान ४ बजेतिर ४२ वर्षीय दीपक शाक्यमाथि एक अपरिचित समूहबाट आक्रमण भयो ।
बियरको बोतल र हेल्मेटले आक्रमण भएको प्रहरीसमक्ष पीडितको दाबी थियो ।
शाक्यसहितका व्यक्ति अन्तर्राष्ट्रिय संगित दिवसको कार्यक्रम सकाएर फर्कंदै थिए । सोही क्रममा शाक्यसँगै रहेकी रश्मी महर्जन, सर्वज्ञशमशेर जबरा लगायतलाई अपरिचित समूहले जिस्काएको पीडित पक्षको भनाइ छ ।
रश्मी लगायतलाई नजिस्काउन भन्दा आफूमाथि उल्टै त्यो समूहले आक्रमण गरेको शाक्यले प्रहरीसमक्ष बताएका छन् । ‘सम्झाइ/बुझाइ गर्ने क्रममा म माथि उल्टै आक्रमण भयो । ज्यान मोर्न मनसायले बियरका बोतल र हेल्मेटले टाउकोमा प्रहार भयो । गम्भीर घाइते बनाए,’ शाक्यले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
उनका अनुसार आक्रमण गर्नेहरू त्यसपछि मोटरसाइकलमा फरार भए । यता आक्रमणबाट घाइते भएका शाक्यलाई भने सुमेरु सिटी अस्पताल लगियो । सुमेरुको आईसीयू कक्षमा उनको उपचार सुरु भयो ।
आक्रमणपछि प्रहरीमा उजुरी समेत दिइयो । जिल्ला प्रहरी परिसर ललितपुरले आक्रमण गर्नेमध्येका दुई जनालाई पक्राउ गर्यो । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय महेन्द्र रावल र कैलालीको लम्कीचुवा नगरपालिका–६ का धर्मराज खड्का पक्राउ परे ।
उनीहरूसहित अछामकै मोहन खड्का, कार्बन भनिने अर्का व्यक्तिसहितले आक्रमण गरेको फुटेजसम्म प्रहरीले संकलन गरेको थियो । एक प्रहरी अधिकृतले बताए अनुसार, रश्मीलाई पिछा गर्दै अभद्र व्यवहार गरेको र शाक्यमाथि आक्रमण भएको थियो ।
सुमेरु अस्पतालले पनि शाक्य सीभीआर इन्जुरी (गम्भीर चोट, अर्थात तत्काल उपचार हुन नपाए ज्यान जानेसम्मको खतरा) भन्दै उल्लेख गरेर प्रहरीलाई पत्र पठायो ।
त्यसपछि ज्यान मार्ने उद्योगमा अदालतबाट पुर्जी लिएर म्याद थप गर्दै अनुसन्धान गर्न भन्दै अदालतसम्म पुगेको प्रहरी भने आरोपी छाड्नुपर्ने अवस्थामा आयो ।
१० असारमा ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले पक्राउ परेका ज्यान मार्ने उद्योगका आरोपीहरू दुवैलाई छाड्न आदेश दिए । ‘यस मिसिलमा संलग्न जाहेरी दरखास्त र घाउ जाँच केश फारमका आधारमा प्रतिवादीहरू महेन्द्र रावल र धर्मराज खड्कालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम (५) को उपनियम (२) बमोजिम पक्राउ स्वीकृति दिन मनासिव देखिएन । कानुन बमोजिम गर्नू,’ न्यायाधीश कोइरालाले आदेश दिए ।
यो आदेशपछि पक्राउ परेका दुवै जना छुटे ।
जबकि यो आक्रमणमा जोडिएर फरार रहेका भनिएका अर्का व्यक्ति मोहन खड्का यसअघि पनि खुकुरी प्रहार आरोपमा पक्राउ परेका व्यक्ति हुन् । ४ जेठ २०८१ मा कीर्तिपुरमा साजिस श्रेष्ठलाई खकुरी हानेको आरोपमा मोहन खड्कासहित ९ जना पक्राउ परेका थिए ।
न्यायाधीशविरुद्ध उजुरी
ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका आरोपीलाई पक्राउ पुर्जी समेत सदर नगरी छाडेको भन्दै न्यायाधीश कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी समेत परेको छ ।
पीडितले पक्षले कोइरालामाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् । उनीहरूले आईसीयूमा उपचार गरेको, घाउँ जाँच फारम लगायतका प्रमाण हुँदाहुँदै पनि न्यायाधीशले छाडेको आरोप लगाएका छन् ।
न्याय परिषद् ऐन २०७३ को दफा १० (घ) बमोजिम मुद्दाको कारबाही गर्दा कानुनको स्पष्ट र असंदिग्ध अर्थलाई उपेक्षा गरी अर्कै व्याख्या वा अर्थ लाग्नेगरी काम गरेको आरोप उनीमाथि छ । जसकारण ऐनको दफा १० (झ) बमोजिम पदीय दायित्व निर्वाह गर्नका लागि अपेक्षित स्तरको कार्यक्षमताको अभाव रहेको भन्दै उजुरी परेको छ ।
यता, न्याय परिषद् स्रोतले पनि न्यायाधीश कोइरालाविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरेको छ । ‘उहाँविरुद्ध उजुरी दर्ता भएको हो । यसबारेमा बुझ्ने काम हुँदैछ,’ परिषद् स्रोतले अनलाइनखबरसँग भन्यो ।
परिषद्मा उजुरी परेका कोइराला तीनै न्यायाधीश हुन् जसले यसअघि बलात्कार आरोपमा मुछिएका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिएका थिए ।
आफ्नै अनुयायीलाई बलात्कार गरकोे आरोप लागेका सिद्धबाबालाई न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । कोइरालाले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
प्रतिक्रिया 4