+
+
Shares

हकप्रद सेयरमा नयाँ व्यवस्था गरिँदै, लगानीकर्ताले थप लाभ पाउने

कमल नेपाल कमल नेपाल
२०८२ असार १७ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्रोतले बताए, हकप्रद सेयर निष्कासन र वितरणमा नयाँ नीति लागू गर्न तयारी भइरहेको छ।
  • उहाँले भने, नयाँ व्यवस्थाले सेयर बिक्री र बाँडफाँट प्रक्रिया सुधार गर्नेछ।
  • अधिक जानकारीका लागि स्रोतको पूर्ण समाचार पढ्न अनुरोध गरिएको छ।

१७ असार, काठमाडौं । हकप्रद सेयर निष्कासन तथा वितरणमा नयाँ नीतिगत व्यवस्था गरिने भएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली परिमार्जन तयारी गरिरहेको बोर्डले हकप्रद सेयरको विषयलाई पनि परिमार्जन गर्ने भएको हो ।

हाल हकप्रद सेयर निष्कासन गरिसकेपछि बिक्री नभएको सेयर कम्पनीहरुले पछि बोलकबोलमार्फत जोकोही सर्वसाधारणलाई मूल्य बढाबढमा बेच्दै आएका छन् ।

तर, यसमा नयाँ नीतिगत व्यवस्था गरेपछि हकप्रद सेयर बिक्री नहुने अवस्था आउने छैन । विद्यमान सेयरधनीलाई नै बढी भएको सेयर बाँडफाँट गर्नुपर्ने गरी नयाँ नीतिगत व्यवस्था गर्न लागिएको हो ।

हालको नियमावलीले हकप्रद सेयर निष्कासनका क्रममा बिक्री नभएको सेयर बोलकबोल गरी कम्पनीले आम सर्वसाधारणलाई बढी मूल्यमा बेच्न पाउने प्रष्ट व्यवस्था गरेको छ ।

‘हकप्रद सेयर बिक्रीको लागि खुला गरिएको अवधिभित्र सम्पूर्ण सेयर बिक्री हुन नसकी बाँकी रहन गएमा त्यसरी बाँकी रहेको सेयर सम्बन्धित संस्थाले बाँडफाँट भएको ७ दिनभित्र लिलाम बढाबढका लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ’ विद्यमान व्यवस्थामा उल्लेख छ ।

हकको सेयर पाइसकेपछि सम्पूर्ण रुपमा बिक्री नभएर बाँकी रहेको सेयर पनि समानुपातिक रुपमा १० कित्ताका दरले बढी माग गर्ने सेयरधनीलाई बाँडफाँट हुनेगरी नयाँ व्यवस्था गरिँदै ।

यसरी सेयर बिक्री गरेपछि कम्पनीले थप आम्दानी समेत गर्दै आएका छन् । बजार मूल्यकै हाराहारीमा बोलकबोल मूल्य तय हुने गरेको छ । बोलकबोलमा बेचिएको सेयरमा अंकित मूल्य प्रतिकित्ता १ सयभन्दा माथिको सबै रकम कम्पनीको आम्दानी हुन्छ ।

नयाँ व्यवस्थामा कम्पनीहरूले हकप्रद सेयर बोलकबोलमा बेच्न पाउने अवस्था नै बन्ने छैन । ‘हकप्रद सेयर भनेको हकवालाका लागि मात्रै हो, आम सर्वसाधारणका लागि होइन, त्यसैले हकवालालाई मात्रै सेयर दिनेगरी नयाँ व्यवस्था गर्न लागिएको हो’ एक उच्च अधिकारीले भने ।

नयाँ व्यवस्थामा कम्पनीका सेयरधनीले आफूलाई हक लाग्नेभन्दा बढी सेयरका लागि आवेदन दिन पाउने छन् । हकको सेयर पाइसकेपछि सम्पूर्ण रुपमा बिक्री नभएर बाँकी रहेको सेयर पनि समानुपातिक रुपमा १० कित्ताका दरले बढी माग गर्ने सेयरधनीलाई बाँडफाँट हुनेगरी नयाँ व्यवस्था गर्न लागिएको छ ।

यदि ५० प्रतिशत हकप्रद सेयरका लागि आवेदन खुलेको हो भने, सो कम्पनीको सेयरधनीले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतकै लागि मात्रै आवेदन दिँदै आएका छन् । यदि १ हजार कित्ता होल्ड छ भने ५ सय कित्ताका लागि मात्रै आवेदन दिन पाउने हालको व्यवस्था हो ।

तर कतिपय सेयरधनीले हकप्रद सेयरका लागि आवेदन नै दिँदैनन् । सूचना तथा जानकारीको अभावका कारण सबै सेयरधनीले आवेदन नदिएपछि पूरै सेयर बिक्री हुँदैन, जुन सेयर पछि कम्पनीले बोलकबोलमा आम सर्वसाधारणलाई बेच्ने गर्छन् ।

नयाँ व्यवस्थामा भने ५० प्रतिशत हकप्रद खुलेको अवस्थामा पनि हकवालाले आफूले होल्ड गरेको सेयरको ५० प्रतिशतभन्दा बढी कित्ताका लागि आवेदन दिन पाउने छन् । हक लाग्ने सेयर बाँडफाँट पूरा भइसकेपछि बिक्री नभएर बाँकी रहेको सेयर बढी आवेदन दिनेका लागि १०–१० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँट हुनेगरी नयाँ व्यवस्था हुन लागेको हो ।

‘धेरै पहिले यही व्यवस्था थियो, बीचमा संशोधन गरिएको थियो, त्यहीं पुरानै व्यवस्थालाई अब नियमावलीमा समेटेर प्रभावकारी बनाउन लागिएको हो’ ती अधिकारीले भने ।

हाल साना तथा मझौला कम्पनी (एसएमई)का लागि पनि यही व्यवस्था गरिएको छ । यद्यपि, अहिलेसम्म कुनै पनि एसएमई कम्पनीले बजारमा सूचीकृत भइसकेका छैनन् ।

हालै बनेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीमा त्यस्ता संस्थाको हकप्रद सेयरमा निर्धारित अनुपातभन्दा बढी संख्याको सेयरका लागि समेत आवेदन दिन सक्ने व्यवस्था छ ।

‘हकवालालाई तोकिएको सेयर बाँडफाँटपछि बाँकी रहेको धितोपत्र बढी माग गर्ने योग्य सेयरधनीलाई प्राथमिकतामा राखी खण्डित सेयरमा नआउनेगरी समानुपातिक बाँडफाँट गर्नुपर्नेछ’ सो नियमावलीमा लेखिएको छ ।

यदि यसरी बाँडफाँट गर्दा पनि बाँकी रह्यो भने मात्रै आम सर्वसाधारणका लागि बोलकबोलबाट बिक्री गर्न पाइने छ । तर त्यसरी बाँडफाँटपछि सेयर बाँकी रहने सम्भावना रहँदैन । एसएमईकै व्यवस्था अन्य कम्पनीहरुमा गर्न लागिएको छ ।

नयाँ व्यवस्थाले सेयरधनीलाई कसरी हुन्छ लाभ ?

जुन अनुपातमा हकप्रद सेयर निष्कासन हुन्छ, सो अनुपातमा सेयरको मूल्य पनि समायोजन हुँदै आएको छ । उदाहरणका लागि कुनै कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेमा, बुक क्लोजअघि सो कम्पनीको मूल्य प्रतिकित्ता ५ सय कायम भएको छ भने बुक क्लोजपछि मूल्य समायोजन भई ३६६.६७ मा झर्दछ । ५००+(१००×०.५)/(१+०.५०) = ३६६.६७ ।

बुक क्लोजअघि ५ सयका दरले १ हजार कित्ता सेयरको कुल लगानी रकम ५ लाख हुन आउँछ ।

बुक क्लोजपछि सेयर संख्या बढेर १५ सय पुगेको हुन्छ । साथै १ सयका दरले ५ सय कित्ता हकप्रद सेयर खरिद हुँदा ५० हजार थप लगानी हुन्छ । तर बजारमा समायोजित मूल्य प्रतिकित्ता ३६६.६७ रुपैयाँ स्थिर कायम रहँदा ५ लाख ५० हजार हुन्छ ।

यसकारण हकप्रदमा पाइने ५० प्रतिशतले समायोजित मूल्यलाई मात्रै समेट्छ । तर बढी भएको सेयर बाँडफाँटका क्रममा भने त्यसको अंकित मूल्य १ सयमाथिको लाभ लगानीकर्ताले पाउँछन् ।

हकप्रद सेयरको लगानी प्रतिकित्ता अंकित मूल्य १ सय नै हुने गर्छ, जुन समायोजन हुँदा कुनै लाभ हुँदैन । तर बढी पाएको सेयरमा बजार मूल्यमा बेच्दा प्रतिकित्ता १ सयमाथिको सबै आम्दानी लगानीकर्ताका लागि नाफा हुन जान्छ । माथिकै उदाहरणमा ५ सयको साटो ६ सय कित्ता सेयर पाउँदा

१ सय कित्ता सेयरमा प्रतिकित्ता २६६.६७ रुपैयाँ (करबाहेक) का दरले २६ हजार ६६७ रुपैयाँ लगानीकर्ताले नाफा पाउँछन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?