 
																			२४ माघ, काठमाडौं । विगतमा हकप्रद निष्कासन क्रममा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको २ लाख ९० हजार ५ सय ५५ कित्ता साधारण सेयर आइतबारदेखि लिलाम बिक्रीमा खुलेको छ ।
तोकिएको चुक्त पूँजी साढे २ अर्ब पुर्याउन कम्पनीले १० बराबर ६.२५६ अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।
हकप्रदको अर्थ हो– कायम रहेका सेयरधनीले १ सय रुपैयाँमै सेयर पाउनु । बजारमा प्रतिकित्ता १ हजार ३ सय रुपैयाँ मूल्य रहेको एनएलजी इन्स्योरेन्सको सेयर १ सयमा पाउँदा पनि कतिपयले भरेनन् ।
हकप्रद सेयर नभरे पनि समायोजन हुँदा मूल्य साढे ९ सय हाराहारीमा झर्न पुग्यो । हकप्रद सेयर नभर्नेले थप सेयर पाउँदैनन् तर मूल्य समायोजन हुँदा सम्पत्तिको मूल्य घट्छ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) को पनि हकप्रद निष्कासन क्रममा बिक्री नभएको ४ लाख ९२ हजार ५ सय ७७ कित्ता सेयर सोमबारदेखि लिलाम बिक्रीमा छ ।
चुक्ता पूँजी ५ अर्ब पुर्याउनकै लागि कम्पनीले १ बराबर ०.८८ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । बजारमा प्रतिकित्ता २ हजार हाराहारीमा कारोबार भइरहेको कम्पनीको सेयर १ सयमा पाउँदा पनि सबै लगानीकर्ताले हकप्रद आवेदन दिएनन् । हकप्रदपछि मूल्य समायोजन हुँदा प्रतिकित्ता १२ सय हाराहारीमा झर्यो ।
हकप्रदमा आवेदन नदिएका यस कम्पनीका लगानीकर्ताले पनि सम्पत्ति मूल्य ठूलो दरमा गुमाए । हकप्रदमा आवेदन दिनेका हकमा भने सेयर संख्या बढ्ने भएकाले समायोजनपछि सम्पत्ति मूल्य घट्न पाउँदैन । यी दुई कम्पनीमात्र होइन, हकप्रद निष्कासन हुने सबै कम्पनीको सेयर सम्पूर्ण मात्रामा बिक्री नहुने गरेको छ ।
हकप्रदबाट मात्र होइन, आफूले पाउने लाभांश समेत कतिपय लगानीकर्ताले लिएका छैनन् । नगद लाभांश स्वतः सेयरधनीको बैंक खातामा जम्मा हुन्छ भने बोनस सेयर डिम्याट खातामा जम्मा हुन्छ ।
तर, कतिपय लगानीकर्ताको बैंक खाता नभएको/खाता नम्बर नमिलेको, डिम्याट खाता नभएको/ खाता नम्बर नमिलेको जस्ता समस्या छ । जसले गर्दा लगानीकर्तालाई लाभांश दिन नसकिएको कृषि विकास बैंकका सूचना अधिकारी हिमलाल पौड्यालले बताए ।
‘स्थापनाका बेला हाम्रो सेयर गाउँका किसानलाई प्राथमिकतासाथ दिइएको थियो, उहाँहरूले सेयर प्रमाणपत्र लिनुभयो तर डिम्याट गर्नुभएन, बैंक खाता पनि नभएपछि लाभांश थन्कियो,’ उनले भने ।
जुनसुकै बेला सम्बद्ध लगानीकर्ताले आफ्नो लाभांश रकम लिन आएको खण्डमा पाउने उनले स्पष्ट पारे । ‘अहिले पनि कुनै सेयरधनी प्रमाणपत्र लिएर लाभांश दाबी गर्दै आए सुरुदेखिकै लाभांश पाउँछ,’ उनले भने ।
वित्तीय सचेतना नहुँदा पनि सेयर प्रमाणपत्र लिएका कतिपयले डिम्याट गरेका छैनन् । कतिपयको सेयर प्रमाणपत्र हराएको, नष्ट भएको पनि हुन सक्छ ।
‘हामीले हरेक वर्ष लाभांश लैजान भन्दै सार्वजनिक सूचना नै जारी गर्ने गरेका छौं,’ उनले भने, ‘पहिलेको तुलनामा अहिले लाभांश लैजाने क्रम बढेको छ, कतिपय पुरानो लाभांश लिन आएका पनि छन् ।’
डिम्याट लागु हुनुअघि (१ साउन २०७३ अघि) लगानीकर्ता लाभांश लिन कम्पनी नै धाउनुपर्ने बाध्यता थियो । जसले गर्दा पाउने लाभांश रकमभन्दा उक्त रकम बुझ्न जाँदा लाग्ने गाडीभाडा लगायत अन्य खर्च कैयौँ गुणा ठूलो हुने गर्दथ्यो । जसले गर्दा धेरै सर्वसाधारण लाभांश लिन जाँदैनथे ।

कोषमा लाभांश जम्मा गर्नेमा बैंक तथा वित्तीय संस्था धेरै छन् ।
आफ्नो लगानी सुरक्षित गर्ने, लाभ लिने कार्यमा लगानीकर्ता आफैं सक्रिय हुनुपर्नेमा कम्पनीहरूले पटक–पटक लाभांश लिन बोलाउँदा समेत जाँदैनन् ।
लगानीकर्ता संरक्षण कोषमा पुगिसकेको रकम पनि लगानीकर्ताले दाबी गरे र सम्बद्ध कम्पनीमा फिर्ता माग्न गए सहजै पाउने कम्पनी रजिस्ट्रारको कार्यालय प्रमुख प्रदीप अधिकारी बताउँछन् ।
कतिपय कम्पनीका पुराना लगानीकर्ताले अहिले पनि सेयर प्रमाणपत्र नै राखिरहेकाले उनीहरूका हकमा नगद लाभांश समेत दिन नसकिएको कम्पनीहरूको भनाइ छ ।
अहिले पनि विभिन्न कम्पनीले लाभांशका लागि बैंक खाता र डिम्याट खाता अपडेट तथा उपलब्ध गराउन भन्दै सूचना जारी गर्दै आएका छन् ।
सीडीएस एन्ड क्लियरिङको तथ्यांकअनुसार करिब ७५ करोड कित्ता सेयर अझै डिम्याटमा आएका छैनन् । ती सेयर प्रमाणपत्रकै रूपमा छन्, कतिपय हराएका वा नष्ट भएका छन् ।
यद्यपि, आफूसँग सेयर भएको यकिन भए प्रमाणपत्र हराए वा नष्ट भए पनि लगानीकर्ताले पाउने सीडीएसका डेपुटी म्यानेजर सुरेश न्यौपानेले बताए । जब सेयर डिम्याटमा आउँछ, त्यसपछि नगद लाभांश पनि बैंक खातामा जान्छ ।
२०७३ सालदेखि डिम्याट खाता अनिवार्य गरिएको हो । त्यसअघि लाभांश लिन लगानीकर्ता आफैं धाउनुपर्ने बाध्यता थियो, यही कारण पहिले वितरण नभएको लाभांश थन्किएको थियो ।
लगानीकर्तालाई बेलाबेला सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आएको धितोपत्र बोर्डको दाबी छ । ‘हामीले सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं, तर त्यो अपुग होला,’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले भने, ‘लगानीकर्ता पनि आफ्नो लगानीप्रति सजग हुनुपर्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4